Comments Add Comment

भक्तपुरकी अनुराधाः महेश बस्नेत र दमननाथसँग भिड्दै

बिहेमा भन्दा पार्टी र 'क्रान्ति' मा जोड

१८ मंसिर, भक्तपुर । हातमा एउटा कागजको चिर्कटो लिएर संसदमा बुलन्द भाषण गर्ने अनुराधा थापामगरलाई खोज्दै केही दिनअघि भक्तपुर दतात्रयस्थित नेपाल मजदुर किसान पार्टीको कार्यालयमा पत्रकारको टोली पुग्दा उनले निकै मुस्किलले समय निकालिन् ।

अनुराधा कार्यालयमा थिइनन् । हामीलाई पर्खिन भनियो । कार्यालयभित्र चुनावी प्रचार सामाग्री यत्रतत्र छरिएका थिए । त्यही भद्रगोलबीच हामी चकटीमा बस्यौं । एकछिनपछि अनुराधा स्वाँ फ्वाँ गर्दै आइन् । उनको हातमा एउटा डायरी थियो ।

‘माथि जाउँ,’ उनले भनिन्, ‘त्याँ शान्त छ ।’

माथि एउटा ठूलो हल थियो । तर, कुर्सी-टेबल थिएनन् । मान्छे पनि कोही थिएनन् । कुनामा किचेन थियो । अनुराधाले सहयोगीलाई बोलाएर चिया बनाउन अह्राइन् । चकटीमा पलेटी कसेर वार्तालाप सुरु भयो ।

०००

चुनावी माहौल तातेको छ । तर, चुनावी प्रसंगमा प्रवेश गर्नुअघि हामीले शालीन र अध्ययनशील नेतृका रुपमा चिनिने अनुराधाको व्यक्तिगत पृष्ठभूमि जान्न चाह्यौं ।

भक्तपुरको मध्यपुर नगरपालिकामा अहिलेको संरचना अनुसार वडा नम्बर २ मा सानो ठिमी मगरगाउँ छ । त्यहाँ एउटा निम्नमध्यमवर्गीय परिवारमा अनुराधा ०३८ सालमा जन्मिइन् । उनका बुवा जनक शिक्षामा सामान्य कर्मचारी थिए । बुवा बितिसके । परिवारमा आमाका साथ एक दाइ र एक भाइ छन् ।

उनीहरुका घरमा त्यसबेला भेडाबाख्रा, गाई, भैंसी पालिएका हुन्थे । उनी जनशिक्षादेखि सानोठिमी क्याम्पससम्म घाँस काट्न पुग्थिन् । जुत्ता चप्पल नलगाई नजिकैको लोकन्थली प्राविमा शिक्षा लिन जान्थिन् । काँधमा झोला पनि हुन्नथ्यो । शरीर मयलले कट्कटिएको हुन्थ्यो ।

अनुराधाको पढाइ सानैदेखि राम्रो थियो । एसएलसी उत्तीर्ण गरेपछि उनलाई लागेको थियो, अब पढ्ने यत्ति होला । तर, उनले सानोठिमी क्याम्पसमा आइएड पढ्न पाइन् । आइएड सकेपछि उनलाई लागेको थियो, अब यत्ति होला । तर, बीएड पनि त्यहीँ पढिन् । त्यसपछि मास्टर्सको निम्ति त्रिभुवन विश्वविद्यालय भर्ना भइन् । उनले नेपालीमा स्नातकोत्तर सिध्याएपछि पढाइ टुंगियो ।

राजनीतिक यात्रा

मध्यपुर नगरपालिकामा नेमकिपाको भातृसंगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघले पार्टीको एउटा भेलाको आयोजना गरेको थियो ०५६ साल माघ १० गते । उनलाई कसैले त्यहाँ पुर्‍यायो । त्यही कार्यक्रममा भाग लिएपछि उनलाई राजनीतिको चस्का पस्यो ।

सानोठिमी क्याम्पसमा पढ्दा ०५७ सालमा उनी नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आवद्ध भइन् । ०५७ सालको स्ववियू निर्वाचनमा स्ववियू सदस्यमा उम्मेदवारी दिइन् । अर्को चुनावमा सभापतिमा उठिन् । त्यसपछि त्रिविमा उपसभापति पदमा उठिन् । पार्टीको संगठन कमजोर भएकाले कुनैमा पनि जितिनन् ।

अनुराधा ०५९ सालमा नेक्राविसंको जिल्ला समितिमा आइन् । ०६३ मा बनेपामा भएको सम्मेलनले विद्यार्थी संघको केन्द्रीय समितिमा निर्वाचित गर्‍यो । ०६९ सालमा उनी नेमकिपाको अर्को भातृसंगठन नेपाल क्रान्तिकारी महिला संघको जिल्ला समिति सदस्य भइन् । ०७० सालमा सो संगठनको केन्द्रीय अध्यक्ष पड्काइन् ।

र, ०७० सालमै सम्पन्न नेमकिपाको केन्द्रीय महाधिवेशनले उनलाई बैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गर्‍यो । अहिले उनी पार्टीको केन्द्रीय सदस्य र महिला संघको केन्द्रीय अध्यक्ष छिन् । ०७० सालमै भएको संविधानसभाको दोस्रो चुनावमा उनलाई नेमकिपाले समानुपातिक सभासद बनायो । र, संसदमा उनले सबैको ध्यान तानिन् ।

अहँ मन्त्री नबन्ने !

‘कम्युुनिष्ट पार्टीहरु सामन्तवादी व्यवस्थामा, पुँजीवादी व्यवस्थामा सरकारमा जाँदैनन्,’ मन्त्री कहिले बन्ने भन्ने प्रश्नको घुमाउरो जवाफ दिँदै अनुराधाले भनिन्, ‘जो सरकारमा जान्छन्, उनीहरु कम्युनिष्ट नै होइनन् ।’

तर, सँधै प्रतिपक्षमा रहेर विरोध गरिरहनु भन्दा सरकारमा गएर आफ्ना एजेन्डा लागू गर्नु ठीक होइन ?

यो प्रश्नमा अनुराधाले भनिन्, ‘फोहोर पानीले नुहाएर कहिल्यै सफा भइँदैन । पुँजीवादी पार्टीका प्रधानमन्त्रीको मातहतमा मन्त्री खाएर हामीले केही काम गर्न सक्दैनौं ।’

उनले थपिन्, ‘जबसम्म आमूल परिवर्तनका लागि जनता तयार हुँदैनन्, तबसम्म हामी यसैगरी संघर्ष गर्ने, दुख गर्ने हो । मन्त्री बन्ने कुरा दिमागमै छैन ।’

जनता राजनीतिकरुपमा सचेत आफ्नो पार्टीले प्रतिपक्षमा नै बसेर सरकारलाई खबरदारी गर्ने उनको भनाई थियो ।

उनले अर्को तर्क अघि सारिन्, ‘हामीलाई जनताले कम मत दिएका छन् । त्यसको मतलब तिमीहरु सरकारमा नजाउ, प्रतिपक्षमा बस भनेको हो । हामी जनताको मतादेशअनुसार चल्ने हो ।’

एक सिटे दलहरु पनि सरकारमा गएर मन्त्री खाने विकृति बढेको भन्दै उनले १० प्रतिशतभन्दा कम मत आउने राजनीतिक दललाई सरकारमा नलैजाने व्यवस्था गर्नुपर्ने बताइन् ।

संसदमा भारतको खिल्ली

एउटा सभासद र सांसदका रुपमा अनुराधाले निभाएको सक्रिय भूमिकाको निकै सह्राना हुने गरेको छ । उनी र उनका पार्टीका सांसदहरु सँधै तयारीका साथ संसदमा उपस्थित हुन्थे र गहकिलो प्रस्तुति दिन्थे ।
‘हामी संसदका वैठकमा भाग लिनुअघि सधंै कसले के कुरा राख्ने भनेर आपसमा छलफल गर्ने गथ्र्यौं,’ उनले सुनाइन्, ‘त्यसपछि छलफलमा उठेका बुँदाहरु कागजमा टिपेर लैजान्थ्यौं र त्यसको आधारमा सम्वोधन गथ्र्यौं ।’

अनुराधाले संसदमा गरेको एउटा भाषण निकै चर्चित बनेको थियो । त्यो भाषणमा उनले छिमेकी मुलुक भारतको धज्जी उडाएकी थिइन् । अनुराधाले सो भाषणको पृष्ठभूमि सुनाइन्-

‘बालुवाटारमा माओवादी अध्यक्ष प्रचण्ड र तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग हाम्रो श्रद्धेय अध्यक्ष नारायणमान विजुक्छेको भेट भएको रहेछ । त्यतिबेला प्रचण्डले भारतसँग सरकार अलि लचक हुनुपरो भनेर ओलीलाई भनेका रहेछन् । त्यसको जवाफमा हाम्रो अध्यक्षले भन्नुभएछ, ‘लचक हुने भनेर के हाम्रो देश भारतलाई दिने ? यो सरकारको सबैभन्दा कमजोर विन्दु तपाईं हो ।’

त्यसपछि प्रचण्डले भन्नुभएछ, ‘लचक नहुने हो भने जनता बालुवाटार घेर्न आउँछन् ।’ हाम्रो अध्यक्षले जवाफ दिनुभएछ, ‘नाकाबन्दी सरकारले गरेको हो र बालुवाटार घेर्नलाई ? नाकाबन्दी जसले गरेको हो, त्यो घेर्न जान्छन् जनता ।’

त्यसपछि हामी मंसिर १४ गते भारतीय दूतावास घेराउ गर्न हजारौं जनता साथ लिएर गयौं । मंसिर १५ गते संसदमा नाराबाजी लगायौं । हामीले भारतीय राजदूतलाई फिर्ता पठाउन माग गर्‍यौं ।
त्यसको लगत्तै तत्कालीन परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणमा जाँदा शुष्मा स्वराजले थर्काइछन् ।

‘तपाईंहरुको देशमा हाम्रो विरुद्ध नारा लगाउने ? हाम्रा राजदूतलाई फिर्ता पठाउने भन्ने ? तपाईंहरुको देश यति भद्रगोल सम्हाल्नै नसक्ने अवस्थामा पुग्यो ?’ स्वराजले यसरी थर्काउँदा कमल थापाले निरीह भएर सुनेछन् । यो कुरा थाहा पाएपछि मैले संसदमा सो भाषण गरेकी हुँ ।’

संसदको उक्त भाषणमा अनुराधाले भनेकी थिइन्, ‘कसको देश भद्रगोल र अव्यवस्थित ? भारतमा वर्षको एक लाखभन्दा बढी किसानले ऋण तिर्न नसकेर आत्महत्या गर्छन् । वर्षमा एक लाखभन्दा बढी बालबालिकाको अपहरण हुन्छ । ५० प्रतिशत भारतीयको शौचालय छैन । संसारमा सबैभन्दा बढी महिलाको बलात्कार भारतमा हुन्छ । दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक भारत हो । कसको देश भद्रगोल र अव्यवस्थित ?’

क्रान्तिको सपना

शालीन र शान्त स्वभावकी नेतृ अनुराधा विचारमा भने ढीट र कट्टर छिन् । आफ्नो पार्टीले अंगीकार गरेको सिद्धान्तमा उनलाई हदै भरोसा छ । उनी भन्छिन्, ‘समाजवाद स्थापनाका लागि नेपालमा अन्तिम क्रान्ति बाँकी नै छ ।’

‘अझै क्रान्ति बाँकी छ ?’

‘नेपालमा अहिलेसम्म वास्तविक क्रान्ति भएकै छैन ।’

‘माओवादीले १० वर्षसम्म सशस्त्र क्रान्ति गरेको होइन त ?’

‘त्यो क्रान्ति होइन क्या, हत्या-हिंसा हो, अपराध हो । वास्तविक क्रान्ति आमूल परिवर्तनका निम्ति हुन्छ ।’

‘अझै के परिवर्तन हुन बाँकी छ देशमा ?’

उनले एउटा कागज हातमा लिइन् र त्यसलाई पट्याइन् ।

‘कागजलाई यसरी पट्याउनु परिवर्तन होइन,’ उनले भनिन्, त्यसपछि कागजलाई उल्टाइन् र भनिन्, ‘यो हो परिवर्तन ।’

उनले थपिन्, ‘राजा एउटा फाल्दैमा परिवर्तन हुँदैन । यो सत्ता परिवर्तन मात्र हो ।’

उनले क्युबाको उदाहरण दिइन् ।

‘क्युवा हामीभन्दा धेरै सानो देश हो, जहाँँ समाजवादी व्यवस्था छ । त्यहाँ फिडेल क्यास्ट्रोको नेतृत्वमा क्रान्ति भयो । क्रान्तिपछि त्यहाँको पहिलेको वाटिस्टा, जो अमेरिकी दलाल सरकार थियो, त्यो सरकारले अरु देशसँग गरेको सबै सन्धी खारेज गरिदियो । क्रान्ति भनेको त्यो हो । क्रान्तिपछि हामी पनि भारतसँग गरेका सारा सन्धि सम्झौता उल्टाइदिनेछौं ।’

‘तर, जनताले क्रान्ति होइन, विकास चाहेका छन् नि ?’

‘हो, क्रान्तिको निम्ति जनता तयार भएका छैनन् । जनतालाई पहिले सचेत तुल्याउनु छ । त्यसकै निम्ति नेमकिपाले भूमिका खेलिरहेको छ । क्रान्तिको निम्ति नै हामी लागेका छौं । हामी ब्यापक जनतामा जान सक्यौं, सञ्चारमाध्यमले पनि त्यो किसिमले परिवर्तनको निम्ति आह्वान गर्न सके भने क्रान्ति हाम्रै पालामा सम्भव छ ।’

उनले क्रान्तिपछिको विकास दिगो हुने बताइन् ।

एमाले र माओवादी ‘भारतीय दलाल’

दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रकी कडा आलोचक हुन् अनुराधा । उनी दुवैलाई कम्युनिष्ट पार्टी नभएर भारतीय दलालको तक्मा भिराउँछिन् ।

माओवादी जनयुद्ध नै भारतको निर्देशन र संरक्षणमा भएको उनको आरोप छ । एमालेले पनि भारतको हितमा भएका सन्धि सम्झौतामा मूकदर्शक बनेको उनले बताइन् । ‘लोकतान्त्रिक गठवन्धन मात्र होइन, वाम गठवन्धन पनि भारतीय दलाल हो,’ उनले भनिन्, ‘दुवैले भारतीय एकाधिकार पुँजीकै स्वार्थमा काम गर्दै आएका छन् ।’

संघीयता र आरक्षणको आलोचना

अनुराधालाई मन नपरेको राजनीतिक परिवर्तन हो एकात्मकबाट सघीयतामा जानु । उनी संघीयता नेपालीको विवेकले आएको होइन भन्छिन् ।

‘संघीयताको विषयमा सुरुमा छलफल हुँदा हामीले संघीयता हाम्रो देशलाई आवश्यक छैन भनेका हौं, हाम्रो देशको विशेषता भनेको नेपालमा १२३ भाषाभाषी र १२५ जातजाति छन् । एकतामा गाँसिएको छ । हाम्रो देशको सन्दर्भमा संघीयता आवश्यक नै थिएन । हामीले केन्द्रको आधा बजेट स्थानीय निकायलाई दिउँ, तर संघीयता लागू गर्नु उचित हुँदैन भनेका थियौं । संघीयताको दुष्प्रभाव आगामी दिनमा देखिनेछ,’ उनले भनिन् ।

संघीयतामा जाने भनिसकेपछि नेपालीको एकतालाई कायम गर्ने गरी प्रत्येक प्रदेशमा हिमाल, पहाड, तराई बनाउने गरी भौगोलिक विभाजन गर्न आफ्नो पार्टीले प्रस्ताव गरेको उनी बताउँछन् । नेपालमा संघीयता लागू हुनुमा भारतीय विस्तारवादको प्रमुख भूमिका रहेको उनको स्पष्ट निस्कर्ष छ । अनुराधाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले विभिन्न जातजाति-भाषाभाषीलाई उचाल्ने काम गरेको र संघीयताको बिऊ पनि त्यहीँबाट रोपिएको बताइन् ।

अझै पनि संविधान संसोधनमार्फत संघीयतालाई उल्टाउन सकिन्छ,’ उनले आशा व्यक्त गरिन्, ‘अन्यथा यसले नेपाललाई नै टाट पल्टाउँछ ।’

उनले नेपालीहरुमा फुट ल्याउनका निम्ति जातीय आधारमा आरक्षणको व्यवस्था लागू गरिएको उल्लेख गरिन् ।

‘प्रत्येक नेपालीको अधिकार सुनिश्चित हुने बन्दोबस्त गर्नुपर्छ । १२ कक्षासम्म शिक्षा निशुल्क र अनिवार्य सबैलाई गरिदियो भने दलितलाई, जनजातिलाई, मधेसीलाई किन आरक्षण दिनुपर्‍यो ? अहिलेको व्यवस्थाले त गरिब बाहुनले अधिकारै नपाउने र धनी जनजाति, मधेसीले आरक्षण पाउने स्थिति भयो नि ।’ उनले भनिन् ।

चुनावी प्रतिस्पर्धा

अनुराधा प्रतिनिधिसभा चुनावमा भक्तपुर २ बाट उम्मेदाबार बनेका छन् । नेपाली कांग्रेसका दमननाथ ढुंगाना र वामपन्थी गठवन्धनका एमाले उम्मेद्वार महेश बस्नेतसँग उनले भिड्नु छ ।
आफ्नो जितप्रति कत्तिको आशावादी हुनुहुन्छ ?’ हामीले सोध्यौं ।

‘आशावादी मात्र होइन, विश्वस्त नै छौं,’ उनले भनिन्, ‘हामी भारी मतले जित्नेछौं ।’

संसदमा र सडकमा आफूहरुले खेलेको भूमिकाबाट जनता सन्तुष्ट रहेको उनले बताइन् ।

अनुराधाले भनिन्, ‘जनतालाई दिएको वचन निभाएका छौं । अहिलेसम्म जनतासामु माफी माग्नुपरेको छैन ।’

देश बचाउनका निम्ति नेमकिपाका प्रतिनिधि संसदमा आवश्यक छन् भन्ने जनतामा परिसकेको उनको भनाइ छ ।

अनुराधालाई उनका प्रतिस्पर्धि उम्मेदवारहरुको विषयमा पनि सोधियो । कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाको विषयमा सोध्दा उनले भनिन्, ‘उहाँप्रति व्यक्तिगतरुपमा मेरो केही भन्नु छैन । तर, सामाजिक सञ्जालमा उहाँका विषयमा विभिन्न कुरा आएका छन् ।’

‘कस्ता कुरा ?’

‘भारतले दबाब दिएर उहाँलाई भक्तपुर २ मा उम्मेदवार बनाएको भन्ने आइरहेको छ । विभिन्न समयमा भारतलाई उहाँले लगाएको गुन तिर्न टिकट दिलाएको कुरा आएको छ ।’

यति मात्रै होइन, ढुंगानाले भारतीय नाकाबन्दीका बेला वीरगञ्ज नाकामा गएर ‘नाकाबन्दी अझै कडा बनाउन गरेको आग्रह’ पनि जनताले नभुलेको उनले बताइन् ।

अर्का उम्मेदवार महेश बस्नेतको पनि उनले आलोचना गरिन् । बस्नेतले पैसाको खोलो बगाएर चुनाव जित्न खोजेको उनको आरोप छ । साथै बस्नेतको छविमाथि पनि उनले प्रश्न उठाइन् ।
‘उहाँको इमेज राम्रो छैन । परशुराम बस्नेतजस्ता डनहरु उहाँको संरक्षणमा छन्,’ अनुराधाले भनिन् ।

विवाह कहिले गर्ने ?

३६ वर्षीया अनुराधा अहिलेसम्म अविवाहित छिन् । निकट भविष्यमा बिहे गरिहाल्ने छाँटकाँट पनि छैन ।

विहेका लागि परिवारले दबाब दिएको छैन ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘परिवारबाट कुरा आउनु त स्वभाविकै हो । तर, मैले बिहेभन्दा राजनीतिलाई नै प्राथमिकता दिएकी छु भन्ने परिवारले बुझेको छ । त्यसैले चर्को दबाब छैन ।’

विवाहपश्चात पनि त राजनीति गर्न सकिन्छ नि भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘हाम्रो समाजको अहिलेको अवस्थामा विवाहित महिलाहरुमा बढी जिम्मेवारी हुन्छ । व्यवहारिक र अन्य रुपले । विवाहपश्चात कतिपय साथीहरु पूर्णरुपले निस्त्रिmय भएको वा हराएका पनि छन् ।’

विवाह गर्नुपर्दा कुन क्षेत्रको केटा रोज्नुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिन मानिन् ।

‘अहिले त्यतातिर सोचेकै छैन,’ उनले भनिन्, ‘भोलि सोचेँ भने तपाईंलाई नै पहिले भनौंला नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment