Comments Add Comment

तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि

२३ मंसिर, तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम गरिरहेका छन् । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमाले उम्मेदवार किसान श्रेष्ठभन्दा करिव ४ हजार मतले पछाडि परेका छन् ।

पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार श्रेष्ठले १९ हजार २ सय ७७ मत ल्याएका छन् भने कांग्रेस वरिष्ठ नेता पौडेलले १५ हजार ३ सय ६५ मत ल्याएका छन् । पौडेलभन्दा श्रेष्ठ ३ हजार ९ सय १२ मतले अघि छन् । यो ३५ हजार ९ सय २ मत गणनाको परिणाम हो ।

मतगणनाको शुरुवाती समयदेखि नै पौडेलमाथि श्रेष्ठ हावी हुँदै आएका छन् । कांग्रेसले आशा गरेको व्यास नगरपालिका क्षेत्रबाट नै पौडेलको पक्षमा आशा गरेअनुसार भोट आउन सकेको छैन ।

क्षेत्र नम्बर १ का अन्य स्थानीय तहहरुमा वाम गठबन्धनको प्रभाव छ । पार्टी सभापति शेरबहादुर देउवापछिका दोस्रो ठूलो नेता पौडेललाई यसपटक जीत निकाल्न कठिन देखिएको छ ।

यस्तै, तनहुँको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका जिल्ला अध्यक्षसमेत रहेका उम्मेदवार केदार सिग्देलले अग्रता बढाउँदै लगेका छन् । सिग्देलले १७ हजार ९ सय ४४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार शंकर भण्डारीले १४ हजार ८ सय ४ मत ल्याएका छन् ।

प्रदेशका ४ वटै क्षेत्रमा पनि वाम गठवन्धन अगाडि

कांग्रेसले तनहुँबाट आश गरेका नेता प्रदेश क्षेत्रका उम्मेदवार प्रदीप पौडेल र गोविन्द भट्टराई दुवै जना पछि परेका छन् ।

क्षेत्र नम्बर १ को -क) बाट उम्मेदवार रहेका भट्टराईले १६ हजार ४ सय ३३ मतगणना हुँदा ७ हजार ५ सय ४७ मत ल्याएका छन् भने, एमाले उम्मेदवार रामबहादुर गुरूङले ८ हजार ४ सय ५१ मत ल्याएका छन् ।

प्रदेश -ख) मा वाम गठवन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता हरि चुमानले कांग्रेस जिल्लाका पूर्वसभापति रघुनाथ पौडेललाई पछि पारेका छन् । चुमानले ९ हजार ६ सय ५१ मत ल्याउँदा पौडेलले ७ हजार ६ सय ८१ मत ल्याएका छन् ।

यस्तै, प्रदेश क्षेत्र नम्बर २ -क) मा कांग्रेसका युवा नेता प्रदीप पौडेललाई माओवादी केन्द्रकी नेतृ एवम् विनाविभागीय मन्त्री आशा कोइरालाले पछाडि पारेकी छिन् । केही समय पौडेल कोइरालाभन्दा अघि थिए ।

प्राप्त पछिल्लो मत परीणाम अनुसार कोइरालाले ७ हजार ६ सय १२ मत ल्याउँदा पौडेलले ६ हजार ४ सय ५० मत ल्याएका छन् ।

यस्तै, प्रदेश क्षेत्र नम्बर २ -ख) मा प्रदेश ४ को मुख्यमन्त्रीको दावेदारका रुपमा हेरिएका एमाले स्थायी समिति सदस्य किरण गुरूङले अग्रता कायम गरेका छन् । कांग्रेस उम्मेदवार धुव्र वाग्लेले केही समय गुरूङलाई पछि पारेका थिए ।

प्राप्त पछिल्लो मत परीणाम अनुसार गुरूङले ७ हजार ९ सय ८६ मत ल्याउँदा वाग्लेले ७ हजार ५ सय ३७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment