Comments Add Comment

बच्चालाई वाकरमा राख्नुअघि ध्यान दिनुपर्ने कुरा


काठमाडौं । बामे सर्ने बच्चाहरुका लागि बेबी वाकर अभिभावकका हकमा निकै राम्रो विकल्प हुने गरेको छ । विशेषगरी, भर्खरै हिँड्ने उमेरका बच्चाहरुलाई हिँड्ने बानी बसाउन थुप्रै अभिभावकले बेबी वाकर प्रयोग गर्दै आएका छन् ।

तर, यस्ता वाकर बच्चाहरुका लागि कति उपयोगी वा घातक हुनसक्छन्, त्यसतर्फ पनि ध्यान दिनु निकै जरुरी छ ।

सामान्यतया चारपांग्रे बेबी वाकरले स-साना बालबालिकालाई हिँड्न सिकाउँछ । बेबी वाकर पांग्रायुक्त हुन्छन् ।

प्लास्टिकको ट्रे, खेलौना र खोल्न मिल्ने सिटसहित आउने यस्ता वाकरमा बच्चालाई खुट्टा छिराएर सिटमा बसाइन्छ । बजारमा विभिन्न आकार र सुविधाका बेबी वाकर उपलब्ध छन् ।

पछिल्ला केही अनुसन्धानले यस्ता वाकर बच्चाहरुका लागि फाइदाजनक भन्दा नोक्सानदायी पाइएको बताएका छन् । सोही कारण केही मुलुकले बेबी वाकरको प्रयोगमा प्रतिबन्ध नै लगाइसकेका छन् ।

चोटपटकको जोखिम

बेबी वाकर पांग्रायुक्त हुने भएकाले पांग्राको सहायताले बच्चाहरु यसमा छिटै कुद्ने गर्छन् । सोही कारण बालबालिकालाई चोटपटक लाग्ने जोखिम पनि धेरै हुने गर्छ ।

बैबी वाकरमा हिँड्ने बालबालिका लड्ने जोखिम बढी हुने गर्छ । वाकरहरु अग्ला हुने भएकाले बालबालिका आगो, पानी, बिजुली र बत्तीको नजिक पुग्ने जोखिम पनि बढी हुने गर्छ ।

वाकरमा बसेका बालबालिका विषादी र हानीकारक औषधीहरु नजिक पुग्ने जोखिमसमेत हुन्छ ।

हिँड्नमा ढिलार्इ

वाकरमा राखेपछि बच्चाहरु चाँडै हिँड्छन् भन्ने भ्रम धेरैमा पाइन्छ । जबकि, वाकरमा राख्नाले बच्चाहरुले आफैं हिँड्न सिक्ने क्षमतामा र्‍हास आउने धेरै अनुसन्धानका नतिजाले देखाएका छन् ।

त्यसबाट उनीहरुको समग्र विकासमै असर पर्ने गरेको तथ्यहरु फेला परेका छन् ।

सामान्यतया बच्चाहरुले लडेर, भुईंमा गुल्टिएर, पल्टेर, विस्तारै उठेर हिँड्न सिक्छन् । वाकरमा राख्नाले बच्चाहरु सीधै हिँड्न थाल्छन्, जसले गर्दा उनीहरुको समग्र विकासमै समस्या उत्पन्न हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment