Comments Add Comment

राष्ट्रपतिलाई असंवैधानिक काम गर्न नलगाउनोस्ः देउवा

राष्ट्रियसभा सम्बन्धी अध्यादेश आउनासाथ सरकार छाड्ने

१ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाइएको राष्ट्रियसभासम्बन्धी अध्यादेश फिर्ता गर्न नमिल्ने बताएका छन् ।

सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश पारित नगर्नका लागि एमालेले उक्साइरहेको भन्दै राष्ट्रपतिलाई असंवैधानिक काम गर्न उक्साएर विवादमा तान्न नहुने प्रधानमन्त्री देउवाले बताएका छन् ।

आफूसँग भेट गर्न शनिबार बिहान बालुवाटार आएका माओवादी अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री देउवाले एमालेलाई सम्झाइदिन आग्रह गरे । उनले राष्ट्रपतिसमक्ष पठाइएको अध्यादेश तत्काल पारित गर्ने वातावरण बनाउन प्रचण्डसँग आग्रह गरे ।

संवैधानिक प्रावधान अनुसार सरकारले पठाएको अध्यादेशमा राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्ने हुन्छ ।

तर, देउवा नेतृत्वको सरकारले राष्ट्रपतिसमक्ष पठाएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेशमा एकल संक्रमणीय निर्वाचन प्रणाली उल्लेख भएको र त्यस्तो निर्वाचन प्रणाली असंवैधानिक भएको एमाले अध्यक्ष केपी ओलीले बताउँदै आएका छन् ।

राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिबाट पारित भएपछि मात्रै राष्ट्रियसभाको चुनावको बाटो खुल्ने भन्दै प्रधानमन्त्री देउवाले अध्यादेश पारित हुनासाथ आफूले सत्ता हस्तान्तरण गर्ने प्रचण्डलाई बताएका छन् ।

‘प्रधानमन्त्रीज्यू चाँडोभन्दा चाँडो बालुवाटार छाड्ने पक्षमा हुनुहुन्छ,’ प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले अनलाइनखनबरसँग भने– ‘उहाँले सत्ता लम्ब्याउन खोजेको भन्ने प्रचारवाजी सही होइन । उहाँले प्रचण्डलाई यही भन्नुभएको छ ।’

प्रधानमन्त्री देउवाले भेटको सुरुमा प्रचण्डलाई चुनाव जितेकोमा बधाइ दिएका थिए ।

देउवासँग छलफलका लागि पुगेका प्रचण्डले प्रमुख दलहरुवीच सहकार्य र सहमति गरेर समस्याको समाधान गरिनुपर्ने र सहज रुपमा निकासको वातावरण बनाइनुपर्ने देउवालाई बताएका थिए ।

शुक्रबार केपी ओलीसँग भेट गरेका माओवादी अध्यक्ष प्रचण्डले दलहरुवीचको तित्तता हटाउन र सहमतिको वातावरण बनाउन शनिबार बिहान प्रधानमन्त्रीलाई भेटेको प्रचण्डनिकट स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment