Comments Add Comment

‘मधेसलाई सम्वोधन गर्नुपर्छ, कांग्रेसलाई हेप्नुहुँदैन’

पहिले पार्टी एकताको मार्गचित्र, अनि सरकार गठन


४ पुस, काठमाडौं । सभामुख ओनसरी घर्तीले बालुवाटारस्थित सभामुख निवास छाडेर ‘रामकृष्ण आश्रम’ लेखिएको नयाँ घरमा डेरा लिएकी छिन् । सभामुखका पति एवं माओवादीका प्रभावशाली नेता वर्षमान पुनलाई भेट्न हामी सोही नयाँ डेरामा पुग्दा नवनिर्वाचित सांसद पुनलाई बधाइ दिन एकाबिहानै गृहसचिव मोहनकृष्ण सापकोटा त्यहाँ पुगेको पाइयो ।

वामपन्थीहरुले सरकार बनाउन लागेको संकेत पाउनासाथै अहिले एमाले र माओवादी नेताका निवासमा कर्मचारीहरुको दौडधूप बाक्लै देखिन थालिसकेको छ । तर, हामीले माओवादी नेता पुनसँग यस विषयमा कुरा गरेनौं । बरु, एमाले-माओवादीवीचमा देखा पर्न थालेको नेतृत्वसम्बन्धी विवाद, अनि मधेस र कांग्रेसलाई हेर्ने माओवादीको दृष्टिकोणका बारेमा छोटो कुराकानी गर्‍यौं ।

कुराकानीका क्रममा पुनले मधेसी जनताले मधेसको मुद्दालाई अनुमोदन गरेको बताए । साथै कांग्रेसलाई पनि निर्वाचनले बलियो पार्टीका रुपमा स्थापित गरेको भन्दै उनले कांग्रेससँग सम्मानजनक व्यवहार गर्नुपर्ने बताए ।

पुनले स्पष्ट शब्दमा त भनेनन्, तर राष्ट्रपतिले अडकाएर राखेको एकलसंक्रमणीय मत प्रणालीसहितको राष्ट्रियसभा सम्बन्धी अध्यादेश पारित गर्दा कुनै फरक नपर्ने संकेत गरे । पुनले अनलाइनखबरसँग भने- ‘लोकतान्त्रिक अभ्यासमा विपक्षी महत्वपूर्ण हुन्छ, ऊसँग पनि जनमत छ ।’

पार्टी एकताका सन्दर्भमा कुरा गर्दै पुनले पहिले एकताको मार्गचित्र बनाएपछि सरकार गठन गरिनुपर्ने माओवादीको लाइन प्रस्ट्याए । एमालेभित्र के-कति गुटहरु छन् भन्ने आफूहरुलाई थाहा नभएको भन्दै उनले एकीकृत पार्टीलाई गुटहरुको महासंघ बन्न नदिइने बताए ।

माओवादी नेता पुनसँग गरिएको कुराकानीः

तपाईहरु देशमा राजनीतिक स्थिरता चाहियो, स्थिरता चाहियो भन्दैहुनुहुन्थ्यो, जनताले वामपन्थीलाई बहुमत दिएका छन् । अब पाँच वर्षसम्म स्थिर सरकार बन्ला त ?

यसपालिको चुनावमा जनताले स्थिरता र समृद्धिका लागि मत दिएका हुन् । वामपन्थी एकताको एजेण्डालाई अनुमोदन गरेका हुन् । वामपन्थी मतदाता र कार्यकर्ताहरुले पार्टी एकता गर्न र शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणका लागि जनताले मत दिएका हुन् ।

त्यसैले हामी टुटफुटमा गएको कम्युनिष्ट आन्दोलनलाई सामान्य पार्टी एकता मात्रै नभएर यो लामो श्रृंखलाबाट आएको धारको एकता गर्न लागिरहेका छौं । र, यो जनताकै तर्फबाट अनुमोदन भएको छ ।

अर्कोतर्फ, नेपालको राजनीतिक इतिहासमा कुनै पनि सरकार पाँच वर्ष टिकेको छैन ।  यो अवस्थालाई अन्त्य गर्दै राजनीतिक स्थायित्व, विकास र समृद्धितिर देशलाई लानका लागि जनताले हामीलाई म्यान्डेट दिएका छन् । हामी जनताको यही म्यान्डेटलाई आत्मसाथ गरेर जिम्मेवारीवोधका साथ अघि बढ्छौं ।

तर, चुनाव नसकिँदै एमाले र माओवादीभित्र एकल नेतृत्व कि बहुल नेतृत्व भन्ने विवाद सुरु भइसकेको छ । एमाले महासचिव ईश्वर पोखरेलले एकल नेतृत्व भन्नुभो, माधव नेपालले बहुल नेतृत्व भन्दै हुनुहुन्छ । माओवादीको भनाइ प्रधानमन्त्री र पार्टी अध्यक्षमा भागवण्डा हुनुपर्ने भन्ने छ । यही पाराले तपाईहरुले पाँच वर्षसम्म स्थिर सरकार चलाउनुहोला ?

विभिन्न नेताका विभिन्न भनाइ आएका छन् । यसमा हामीले प्रतिक्रिया दिने भन्दा पनि पार्टी एकता संयोजन समिति बनेको छ, त्यसमा छलफल हुन्छ । र, अहिले को नेता के हुने भन्ने प्राथमिकता भन्दा पनि पार्टी एकता गर्नुपर्छ भन्ने जनताको मूल म्यान्डेट पूरा गर्नेतिर केन्द्रित हुनुपर्छ ।

स्वाभाविकरुपमा पार्टी एकतामात्रै नभएर यो दुईवटा धारहरुको एकता पनि हो । दुईधारवीच एकता र समायोजनको कुरा गर्दा राजनीतिक, वैचारिक कुरा उठ्छन् । संगठनात्मक कार्यशैली, पद्दति र नेतृत्वका कुराहरु उठ्छन् । यसलाई छलफलको माध्यमबाट टुंगो लगाउनुपर्छ ।

मुख्य कुरो विचार, राजनीति, संगठन, आन्दोलन एवं जनताको भावना हो । जनताले मिल, अलग धारा होइन, अब एउटै धाराप्रवाह बनाएर देशको समृद्धि र समाजवादमा जाने आधार बनाऊ भनेका छन् । यहाँका गरिब, उत्पीडित क्षेत्र, जाति, लिंग, समुदाय र वर्गका लागि काम गर भन्ने मूल म्यान्डेट जनताले लिएका छन् । त्यही मूल म्यान्डेट अनुसार नै जिम्मेवारीपूर्वक हामीले काम गर्नुपर्छ ।

हामीलाई थाहा छैन, एमालेमा गुट छ कि छैन । त्यहीँ गएर थाहा होला । त्यहाँ विभिन्न विचार समूहहरु भए पनि त्यसमा हामीले खेल्ने होइन

पेरिसडाँडामा बसेको माओवादी बैठकले पार्टी एकता र सरकार गठन सँगसँगै हुनुपर्ने निश्कर्ष निकाल्यो भन्ने खबरहरु आएका छन् । बैठकको खास निश्कर्ष के हो ?

दुईवटा विशाल कम्युनिष्ट पार्टीहरु र धाराहरुको एकता र गठबन्धन नेपालको वामपन्थी राजनीतिको नयाँ प्रयोग हो । विगतमा तालमलेहरु हुन्थे, सरकारमा गठबन्धनहरु हुन्थे, तर यो तहको एकताको उद्देश्य राखेर निर्वाचनपूर्वको गठबन्धन प्रयोगमा थिएन । त्यसैले यो के हुन्छ भन्ने नै थियो, तर चुनावमा जनताकै तहबाट अनुमोदन भयो ।

अब कसैले पनि एकताबाट दायाँवायाँ गर्नुहुँदैन । किनकि जनताले मिल भनेका छन् । मिलेर शक्ति निर्माण गर र देशको स्थायित्व, समृद्धि र स्वाधीनताका लागि, देशको गौरवका लागि काम गर भनेका छन् । यसलाई हामीले प्राथमिकता दिनुपर्छ । यसैले गर्दा सरकार गठन, को प्रधानमन्त्री हुने र को मन्त्री हुने र कति मन्त्रालय बाँड्ने भनेर प्राविधिक कुरोतिर होइन कि विचार, राजनीति र संगठनमा बहस गर्दै दुईवटा धाराहरुलाई एकीकृत गरेर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने मोटामोटी खाका बनाउनुपर्छ ।

कस्तो खाका ?

नेतृत्वको श्रृंखला यसरी हुन्छ, एकताको प्रक्रिया यसरी लगिन्छ, विचार राजनीतिको मूल खाका यो हुन्छ भन्ने कुराको टुंगो गरेर सँगसगै सरकार बनाऔं भन्न खोजिएको हो । हामीले जनताको मेहनत र म्यान्डेटलाई मन्त्रीको भागवण्डा र सरकारतिरमात्रै हेरियो भने सामान्य सरकार र मन्त्रीको तानातानतिर जान्छ । त्यसैले पार्टी एकतालाई एकदम गौण र प्राविधिक कुरोतिर लानुहुँदैन ।

यसको मतलव, पार्टी एकताको मार्गचित्र स्पष्ट पारिसकेपछि मात्रै सरकार गठन गरिनुपर्छ भन्ने माओवादी बैठकको स्पिरिट हो ?

पार्टी एकताको मार्गचित्र तयार गर्ने र सरकार सञ्चालन, स्थायित्व र देशको समृद्धिको मार्गचित्र पनि तयार  गरेर जाने भन्ने हो ।

यसो गर्दा पार्टी एकताको प्रक्रिया पनि अघि बढ्दैगर्छ र सँगसँगै सरकार पनि बन्दैगर्छ भन्ने ठानिएको हो कि ?

निश्चय नै ।

यसरी पार्टी एकता गर्न कति समय लाग्ला ?

एकता प्रक्रियाले केही समय लिन्छ । तर, एउटा मार्गचित्र बनाइसकेपछि त्यो चित्रमा अगाडि बढ्छ । सरकार अब छिटै बन्छ र सरकारले काम सुरु गर्छ ।

तपाईहरु एमालेमा मिसिन लाग्नुभएको छ । तर, एमालेभित्रै दुई गुटहरु छन्, एउटा केपी ओली गुट र अर्को माधव नेपाल गुट । तपाईहरुचाहिँ कुन गुटसँग बढी नजिक हुनुहुन्छ ? माधव नेपाल पक्षका नेताहरु सधैं ओली पक्षबाट अन्यायमा पर्‍यौं भनिरहनुभएको छ । तपाईहरु गएपछि त्यहाँ के होला ?

अहिले कसले कुन पद पाउने कि नपाउने भन्दा पनि कसले कुन पद त्याग गर्ने भन्ने हो । नत्र त दुबैका लागि अध्यक्ष पद छँदैछ नि । त्याग गर्नकै लागि हामीले पार्टी एकता गरेका हौं । केही पाउनका लागि होइन

मान्छेहरुले त्यसो पनि भन्छन् । त्यहीँ (एमालेभित्रै) नै त्यत्रो मारामार छ, तपाईहरु गएर फेरि अर्को मार खाने ? यसो भन्नेहरु पनि छन् । तर, हामीले त्यसरी हेरेका छैनौं । जनताले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर, ध्रुवीकृत गर र शक्ति निर्माण गर भनेका छन् । कम्युनिष्ट र वामपन्थी शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ भन्ने जनताको म्यान्डेट छ । यसलाई आत्मसाथ गरेर हामीले पार्टी एकीकरण गर्ने हो ।

हामीलाई थाहा छैन, एमालेमा गुट छ कि छैन । त्यहीँ गएर थाहा होला । त्यहाँ विभिन्न विचार समूहहरु भए पनि त्यसमा हामीले खेल्ने होइन कि सबैमा बहस गरेर अहिलेको राष्ट्रिय आवश्यकता अनुसार विचार, राजनीति र संगठनमा केन्द्रित भएर शक्ति निर्माण गर्ने हाम्रो भूमिका रहन्छ ।

अब बन्ने एकीकृत पार्टीलाई गुटहरुको महासंघ बनाउन दिनुहुन्न ?

अँ । गुटहरुको महासंघ, स्वार्थ समूहहरुको महासंघ, बन्न दिने हाम्रो कुनै ईच्छा छैन । त्यसले इतिहासको आवश्यकता पनि पूरा गर्दैन । नेताहरुले व्यक्तिगत लाभ खोज्ने हो भने त जति सानो ग्रुप बनायो, मन्त्री पाइहालिन्छ । पालो-पालो प्रधानमन्त्री पनि पाइहालिन्छ । पार्टी एकता गर्नु भनेको त आफ्नो व्यक्तिगत महत्वाकांक्षाहरु त्याग गर्नु हो । आफ्ना जिम्मेवारीहरु त्याथ गर्नु हो ।

त्यसैले अहिले कसले कुन पद पाउने कि नपाउने भन्दा पनि कसले कुन पद त्याग गर्ने भन्ने हो । नत्र त दुबैका लागि अध्यक्ष पद छँदैछ नि । प्रधानमन्त्री भएकै नेताहरु हुन् । हामी पनि आ-आफ्नो पार्टीमा बरिष्ठ नेता भएर बसेकै छौं । भोलि एकता गर्दाखेरि त जिम्मेवारी थोरै हुन्छन्, यी जिम्मेवारीहरु त छुट्छन् ।

यस्ता महत्वाकांक्षाहरु त्याग गर्न तयार भएपछि मात्रै अहिलेको इतिहासको आवश्यकता र जनताको भावनाको सम्वोधन हुन्छ । र, त्याग गर्नकै लागि हामीले पार्टी एकता गरेका हौं । केही पाउनका लागि होइन ।

आआफ्नो पोजिसन त्यागेपछि मात्रै एउटा सुदृढ शक्ति निर्माण हुन्छ र नेपाली जनता र देशले पनि केही पाउँछ ।

उसोभए पार्टी एकता नहोला कि भनेर शंका नगरे हुन्छ ?

एकताबाट तर्किने कसैको पनि खैरियत छैन । जनताको म्यान्डेट पार्टी एकता हो ।

मधेसको चुनावी परिणामले पनि प्रश्न सतहमा ल्याएको छ कि हिजो माओवादीले भन्दै आएको मधेससम्बन्धी मुद्दाको अवस्था के हुन्छ ? मधेसको मामिलामा हिजोको केपी ओलीको ‘स्कुल अफ थट’ लागू हुन्छ कि माओवादीले भन्दै आएको ‘स्कुल अफ थट’ लागू हुन्छ ?

यसोभन्दा पनि जनताले के म्यान्डेट दिएका छन् भन्ने नै हामीले हेर्ने हो । देशव्यापीरुपमा वामपन्थी लहर आएकै हो । ठूलो लहर आयो । एमाले र माओवादीको जुन रिजल्ट आएको छ, यो साझा रिजल्ट हो । हामीले ३६ सिट पाउँदैनथ्यौं, मिलेरै पाएको हो । एमालेले पनि ८० सिट एक्लै पाएको होइन, हामीसँग मिलेरै पाएको हो ।

मतले के देखाएको छ भने एमालेको पनि ३१ लाख, कांग्रेसको पनि ३१ लाख । हाम्रो १३ लाख यस्तो निर्णायक बन्यो कि, एमालेतिर मिल्दा एमालेको ८० पुग्यो । एक्लै लडेका भए ५०/६० कांग्रेस एमाले हुन्थे, हामी २०/२५ तिर हुन्थ्यौं । त्यसैले अहिले जुन लहर आयो, यो जनताको म्यान्डेट हो ।

तर, मधेसमा नि ?

मधेसलाई हेर्ने हो भने मधेसी एजेण्डामा लहर आएकै हो । त्यसमा अरु कारणहरु होलान्, तर मुख्य कारण भनेको मधेसी जनताले मधेसी मोर्चालाई अनुमोदन गरेकै हो । तिनीहरुको एजेण्डालाई अनुमोदन गरेकै हो ।

कांग्रेसलाई पनि विश्वासमा लिएर जानैपर्छ ।  कांग्रेस अहिले गणितीयरुपमा तल परेको छ तर, जनमतमा फेरि पनि शक्तिशाली नै छ ।

त्यसैले हामीले देशभरि स्वीप गर्‍यौं भनेर कुनै अहंकार गर्नुहुँदैन । मधेसका जनताको भावना अलि फरक रहेछ है भन्ने कुरालाई आत्मसाथ गरेर त्यसलाई गम्भीररुपले सम्वोधन गर्नुपर्छ । र, मधेसलाई पनि विश्वासमा लिएर जानुपर्छ ।

कांग्रेस र एमालेवीच अहिले बढिरहेको दूरी कम गराउन माओवादीले कस्तो भूमिका खेल्छ ? के यसमा माओवादीले पहलकदमी लिन्छ ?

प्रधानमन्त्री शेरबहादुर देउवालाई म विशेष धन्यवाद दिन चाहन्छु । कांग्रेसको रेकर्ड कस्तो थियो भने आफ्नो बहुमतलाई मध्यावधिमा लैजाने । र, शेरबहादुर देउवाको रेकर्ड के थियो भने प्रजातन्त्रलाई दरबारमा बुझाउने । यसपालि पनि त्यस्ता प्रश्न नउठेका होइनन् । धेरै दबाव थियो उहाँलाई ।

तर, ती सबै दबावलाई थेगेर उहाँले निर्वाचन गराउनुभयो । चुनाव नगराउन सक्ने धेरै प्रवल थियो । तर, कमसेकम उहाँले विगतको इतिहासको आफ्नो कालो धब्बालाई हटाउनुभयो । हार्न तयार हुनुभो तर चुनाव गराउनुभयो । त्यसैले देउवाजी धन्यवादको पात्र हुनुहुन्छ ।

तर, अहिले भइरहेको कांग्रेस र एमालेवीचको विवाद नि ?

अब शेरबहादुरजीले आफ्नो व्यक्तित्व छवि बचाउन छिटो भन्दा छिटो सरकार हस्तान्तरण गर्नुपर्छ । र, कांग्रेस पनि एउटा शक्ति हो । पुरानो शक्ति हो । हामीसँग शान्ति प्रक्रियाका केही कामहरु बाँकी छन्, त्यसमा कांग्रेसलाई पनि विश्वासमा लिएर जानैपर्छ ।  कांग्रेस अहिले गणितीयरुपमा तल परेको छ । तर, जनमतमा फेरि पनि शक्तिशाली नै छ । यो त जनताको भावना हो, यसलाई सम्मान गरेर जानुपर्छ ।

कांग्रेसलाई बलियो अपोजिसनका रुपमा उसलाई हामी सम्मानजनक भूमिका दिन्छौं नै । र, हामीले जित्यौं भनेर अहंकार गर्दैनौं । जो विजयी भयो, जसलाई जनताले म्यान्डेट दिए, उसले त विनम्र हुनुपर्छ, अहंकार गर्नुहुँदैन ।

त्यसैले हामी एजेण्डा अनुमोदनमा हामी अगाडि जान्छौं, यसमा अपोजिसनले मान्नुपर्छ र सहयोग गर्नुपर्छ । तर, उसलाई मिच्ने, हेप्ने र थिच्ने भनेका हैनन् जनताले । ऊ पनि सम्मानजनक भोट लिएर बसेको छ । त्यसैले हामीले कांग्रेसलाई सम्मानजनक ढंगले नै लान्छौं । यसमा कांग्रेस र एमालेवीच कतै दूरी बढ्न खोज्यो भने पनि त्यसलाई हामी समन्वय गर्छौं ।

तर, कांग्रेसका नेताहरुको ठूलो गुनासो के देखिन्छ भने ०६४ को चुनावमा माओवादीमा एकखालको अहंकार देखिएको थियो । अहिले वाम गठबन्धनले बहुमत ल्याएपछि नेताहरुमा संविधान हामीले भनेअनुसार हुनुपर्छ भन्ने अहंकार देखियो ।  कांग्रेसमा देखिएको यस्तो चित्तदुखाई सम्वोधन हुन्छ ?

कांग्रेसले पनि जितेकालाई हामीले जित्यौं भन्न त दिनुपर्‍यो नि त । जित्नेमान्छेले अलिकति यसो विजयोत्सव मनाउँछ । यसलाई अन्यथा लिनुहुँदैन । त्यसैगरी जितेकाहरुले कांग्रेसलाई हेप्ने, दबाउने र उसलाई कहीँ ठाउँ नदिने भनेको पनि होइन । लोकतान्त्रिक अभ्यासमा विपक्षी महत्वपूर्ण हुन्छ । ऊसँग पनि जनमत छ, यी सबै कुरालाई सम्मान गर्दै विनाअहंकार हामी सबै कुरालाई अगाडि बढाउँछौं ।

यसमा ठीक छ, हामीले कहीँ अहंकार देखायौं भने कांग्रेसले आलोचना गरे भइहाल्छ । तर, हामीले जित्यौं भन्न त पाउनुपर्‍यो नि त । जितेकै हो नि त ।

उहाँहरुले जितेका कुरा स्वीकार गर्छौं, प्रतिपक्षमा बस्छौं, राम्रा कुरालाई समर्थन गर्छौं, नराम्रा कुराहरुको आलोचना गर्छौं र पाँच वर्षपछि कमब्याक गर्छौं भनेर त बस्नुपर्‍यो नि त ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment