
६ पुस, तनहुँ । ‘प्रकृति चाटेर भोक नमेटिने’ भन्दै तनहुँको रतनपुरबासी जग्गा जमिन बेचेर सुविधा खोज्दै शहर पसे । पानी, बाटो, बिजुलीको असुविधालाई कारण देखाउँदै गाउँ छाड्नेहरुको लर्को नै लागेपछि प्राकृतिक रुपमा सुन्दर भूगोलभित्र पर्ने रतनपुरका खेतबारी बाँझै भए । तर विगत १० वर्ष अघिको यो दुःखद भोगाइको यथार्थमा कायापलट भएको छ ।
अहिले बाँझो जमिन हरियालीमा परिणत भएको छ । पानी, बाटो, बिजुली लगायतका सुविधा छ । गाउँ फर्किनेहरु बढेका छन् । यस्तैमध्येका एक हुन् रतनपुरको दुःखका साक्षी काठमाडौं फरेष्ट्री कलेजका अध्यक्ष डा. विष्णुहरी पण्डित । रतनपुरमा गणना हुने स्तरीय घर छाडेर काठमाडौं पुगेका उनकै पहलमा अहिले रतनपुरको मुहार फेरिएर हरियाली बनेको छ ।
तनहुँको डुम्रे बजारबाट १८ किलोमिटर उत्तर पश्चिममा रहेको रतनपुरमा अहिलेसम्म ३६ हजार विरुवा रोपिएको छ । स्वीटजरल्याण्डमा रहेको ‘इटाका इन्ष्टिच्यूट फर क्लाइमेट फार्मिङ’ संस्थाको सहयोगमा बाँझो र फालिएको जमिनमा स्थानीयले विरुवा रोपी हरियाली फर्काउने विकल्पको बाटो रोजेका छन् ।
स्थानीय रिटायर्ड शिक्षक हुन् भानु-१२ रतनपुरका प्रेमप्रकाश ढकाल । उनले आफ्नो घरवारीदेखि खरवारीसम्म, पाखोबारीदेखि धान फल्ने खेतसम्मको २२ रोपनी जमिनमा २२ सय विरुवा रोपेका छन् । धान फल्ने खेतै भरी वृक्षारोपण गरेर उनले मन बदलेका छन् । एकातिर गाउँमा जनशक्तिको अभाव, अर्कोतिर मल र सिचाइँको समस्या हुन थालेपछि उनलाई यो कार्यक्रमले आकर्षित गर्यो ।
ढकालले भने, ‘धान नै लगाउँदा समेत लगानी अनुसारको प्रतिफल नपाइने, नत गाउँमा गोरु पालेर खेत रोप्न नै सकिने अवस्था आयो, त्यसैले परम्परागत रुपमा गरिँदै आएको खेतीलाई विस्थापन गरी परिवर्तनलाई आत्मसाथ गर्न पर्यो भनेर यसतर्फ लागियो ।’
‘गाउँघरमा गोरु पालेर खेत जोतिदिने मान्छे नै पाउन मुस्किल भयो । ‘खेत र बारीमा बनमासा र अरु झाडी बढाउनु भन्दा त्यसको विकल्पमा जाँदा के हुन्छ भनेर यो अभियानमा साथ दिएको हुँ,’ कृषक ढकालले थपे ।
०७२ सालबाट रतनपुरको बाइसघर क्षेत्रबाट यो अभियान डा. विष्णुहरी पण्डितले चलाएका थिए । अहिले तेस्रो वर्षमा चल्दै गर्दा वृक्षारोपणको अभियान थप फैलिँदै गएको छ
धान खाने खेत नै मास्दा जीविकोपार्जनमा तत्काल केही असर देखिए पनि दीर्घकालमा यसले फाइदा गर्ने उनको विश्वास छ । ‘केही बिरुवाले वर्तमानमा पनि सहयोग गर्ने र केहीले भविश्यमा सपोर्ट गर्दछन्,’ ढकालले भने, ‘कि जमिन गतिलोसँग प्रयोग गर्न पर्यो कि त बाँझै छाडनुपर्यो ।’
ढकालले जस्तै, भानु-१२ कै स्थानीय यादव पण्डितले पनि आफ्नो ५ रोपनी खेतीयोग्य जमिन बाँझो हुन थालेपछि वृक्षारोपण गरेका छन् । काम गर्ने मान्छेको अभाव, पाएपनि असाध्यै महंगो हुन थालेपछि वृक्षारोपण गरेको उनले बताए । ‘यो रहर र वाध्यताभन्दा पनि आवश्यकता बन्यो,’ पण्डितले भने, ‘हिउँदमा समेत रोप्ने खेतमा ७ सय विरुवा रोपेको छु ।’
रोपिएका विरुवा हुर्काउनु केटाकेटी स्याहार्नु जतिकै गाह्रो काम भएको उनको अनुभव छ ।
रतनपुरका अधिकांश जंगली क्षेत्रका खेतहरु विगत १२/१४ वर्ष अघिदेखि नै बाँझा हुन थालेका थिए । घर नजिकका खेतहरु समेत क्रमशः बाँझो हुन थालेपछि ‘जिते हस्तिनापुरको राज, हारे चपरी मुनीको बास’ भनेर यो काममा लागेको स्थानीय यादव पण्डितको भनाइ छ ।
‘खेतीयोग्य जमिन बाँझो रहनुको सट्टा भोलिको पुस्ताका लागि केही होस् भनेर वृक्षारोपण गरिएको’ स्थानीय शिव पन्तले बताए ।
०७२ सालबाट रतनपुरको बाइसघर क्षेत्रबाट यो अभियान डा. विष्णुहरी पण्डितले चलाएका थिए । अहिले तेस्रो वर्षमा चल्दै गर्दा वृक्षारोपणको अभियान थप फैलिँदै गएको छ । दोस्रो वर्षमा ६८ र तेस्रो वर्षमा अहिले ८५ घरपरिवार यसमा समेटिएका छन् ।
जीवनस्तर उकासिँदै, हार्दिकता बढ्दै

समूहमा मिलेर बस्ने र मिलेर काम गर्ने हार्दिकताको विकास यो अभियानले गरेको स्थानीय देवबहादुर पण्डितले सुनाए ।
‘हामी त पहिला पनि समूहमा बसेर नै काम गरेका थियौं, अहिलेको यो अभियानले थप एकता मजबुत बनेको छ,’ पण्डितले भने, ‘विरुवा रोप्ने किसानहरुको एकीकृत भावना जागृत भएको छ ।’
वृक्षरोपण कार्यक्रमले स्थानीयको आय आर्जनसमेत वृद्धि भएको छ । पहिलो वर्ष जिल्ला वन कार्यायलले निःशुल्क १० हजार विरुवा मात्रै उपलब्ध गराएन, निःशुल्क ढुवानीको व्यवस्था गर्यो र इटाका इन्ष्टिच्यूटले एउटा विरुवा रोपेको १० रुपैयाँ प्रत्येक किसानलाई दियो ।
किसानहरुको मेहनत र परिश्रमबाट खुसी भएर दोस्रो वर्ष (०७३) मा जिल्ला वन कार्यायलले १६ हजार विरुवा निःशुल्क उपलब्ध गरायो भने कवुलियती वनतर्फको २ लाख ५० हजार र सामुदायिक वन तर्फको एक लाख गरी ३ लाख रकम अनुदान सहयोग गरेको जिल्ला वन अधिकृत अम्विकाप्रसाद पौडेलले जानकारी दिए ।
सो वर्ष (०७३) एक विरुवा रोपेको रकम १० रुपैयाँबाट बढाएर २० रुपैयाँ बनाइयो । यस वर्ष थप १० हजार विरुवा रतनपुरमा रोपिएको छ । विरूवा हुर्काउनका लागि पानीको व्यवस्थापन गर्न पोखरी निर्माण, पाइपहरुको वितरण, कृषि औजारहरु वितरण जस्ता कामलाई पनि इटाका इन्ष्टिच्यूटले प्राथमिकतामा राखेको संस्थाका नेपाल प्रमुख डा. विष्णुहरी पण्डितले बताए ।

स्थानीयले पाउलानिया, तेजपत्ता, वोधिचित्त, बकाइनो, चाँप, बडहर, टाँकी, रुद्राक्ष, रबर, श्रीखण्ड जस्ता विरूवा रोपेका छन् ।
‘पछिल्लो पुस्ता गाउँमा छैन । अब वृक्षरोपणको पाटो सही र ठीक छ भनेर यता लागियो,’ भानु नगरपालिका १२ की वडासदस्यसमेत रहेकी स्थानीय सूर्यकला घर्तीले भनिन्, ‘रोपिएको तेजपत्ताबाट ५ वर्षमा र दालचिनी, पाउलानियाबाट १० वर्षमा नै किसानहरूले रिटर्न पाउन सक्ने आशा छ ।’
विरुवा हुर्काए वापत यहाँका स्थानीयले समुदायस्तरमा नेपालमा नै पहिलोपटक कार्बनको पैसा लिएका छन् । इटाका इन्ष्टिच्यूटले कार्वनको पैसा वितरण गर्दै आएको छ ।
पहिलो वर्ष ६० प्रतिशत विरुवा जोगाउने २५ घरले विरुवा रोपेको संख्याको आधारमा कार्वनको पैसा लिए । ४० घरले विरुवा रोपेकोमा २५ घरले मात्रै ६० प्रतिशत विरुवा बचाउन सकेका थिए । उनीहरुलाई एकमुष्ठ ८५ हजार ५ सय ८० रुपैयाँ बाँडियो ।

दोस्रो वर्ष ३ जनाको समुह बनाई एकले अर्कोको अनुगमन गर्ने र समूहले पहिलो वर्ष जीवित ६० प्रतिशत विरुवाको ८० प्रतिशत जोगाउन सक्नेलाई १ लाख १६ हजार ८ सय ८० कार्वनको पैसा वितरण गरिएको स्थानीय उत्तमप्रकाश पण्डितले जानकारी दिए । एक किसानले २ हजारदेखि २२ हजार रुपैयाँसम्म दशैंको बेलामा कार्वनको रकम बुझेको पण्डितले बताए ।
०७४ सालमा रोपेका किसानले अर्को वर्ष विरुवा जोगाएको प्रतिशतका आधारमा कार्वनको पैसा पाउनेछन् । विरुवा रोपिएको स्थानमा नगदे वालीका रुपमा अदुवा खेती गरेका छन् किसानहरुले । अदुवाको बिक्रीबाट समेत उनीहरुले रकम आर्जन गर्न थालेका छन् ।
अहिलेसम्म सो क्षेत्रमा ३६ हजार विरुवा रोपिएको छ । त्यसमध्ये अम्रिसो बाहेक २२ हजार विरुवा जीवित छन् ।
विरुवाको माग र आपूर्तिको व्यवस्थापन गर्न रतपनुरका स्थानीयले आफ्नै बारीमा नर्सरी बनाउन थालेका छन् । ‘विभिन्न प्रजातिका विरुवाहरु आफैले उत्पादन गरी समुहमा वितरण गर्ने उद्देश्यले नर्सरी बनाइयो,’ स्थानीय उत्तमप्रकाश पण्डितले भने ।
नर्सरीका विरुवाहरुको रेखदेख, सरसफाइ र हेरचाहका लागि मासिक ५ हजार रुपैयाँ दिएर एक घर परिवारको जिम्मा लगाइएको छ ।
यहाँका किसानको मेहनत र परिश्रम पुरस्कृतसमेत भएको छ । गएको वर्ष १० हजार पाउण्ड स्टर्लिङ बराबरको ‘युके एण्ड प्राइज’ बाट संस्थाको नेपाल कार्यालय सम्मानित बनेको छ । तत्कालिन वनमन्त्रीले संस्थाका नेपाल प्रमुख डा. विष्णुहरि पण्डितलाई सो रकम प्रदान गरेका थिए । यो पुरस्कारवापत आएको रकमलाई समेत कार्यक्रम थप विस्तारमा खर्च गर्ने योजना रहेको डा.पण्डितले बताए । यसले पनि यहाँका जनतालाई थप राहात मिल्ने भएको छ ।
बढ्दै पर्यटक, फर्कँदै स्थानीय
इटाका इन्ष्टिच्यूटका स्वीटजरल्याण्ड डाइरेक्टर हेन्स पिटर यस वर्ष रतनपुर आए । १ वर्षपछि उनी गाउँमा आउँदा बढेका विरुवा देखेर अचम्ममा परे । फेरिँदो रतनपुरको स्वरुपले पिटर दंग देखिन्छन् । उनी स्थानीय जनताको मेहनत र परिश्रमको प्रसंशा गर्दै उनी भन्छन् ‘इच्छाशक्ति भए के हुँदैन ।’
इटाका इन्ष्टिच्यूटले आफ्नो नेपाल कार्यालय नै यहि रतनपुरमा स्थापना गरेको छ । परम्परागत शैलीमा स्थानीय बाँस, खर, माटो लगायतका सामाग्रीहरुको प्रयोग गरी संस्थाले कार्यालय करीव १० लाखको लागतमा निर्माण गरेको छ ।

धेरै वर्ष पहिले भेटिने गोलघरहरु लगभग लोप भैसकेको अवस्थामा संस्थाले विदेशी पर्यटकहरुलाई आकर्षित गर्न स्थानीयहरुलाई सस्तो मूल्यमा गोलघर बनाउन प्रोत्साहन गर्दै आएको छ ।
‘ती गोलघरहरुलाई होमस्टेको रुपमा बदल्न चाहान्छौं,’ अभियन्ता डा. पण्डितले भने, ‘विदेश पर्यटकहरु कंक्रिट घरहरुमा भन्दा यस्तैमा बस्न रुचाउँछन् ।’
बाँझो जमिनमा रोपिएका बिरुवाहरु हुर्किंदै जाँदा गाउँको हरियाली पनि बढेको छ । टाढैबाट हेर्दा समेत रतनपुर हरियाली देखिन्छ । विभिन्न कलेजका विद्यार्थीहरु भ्रमणका लागि समेत रतनपुर आउन थालेका छन् । गाउँमा चहलपहल बढेको छ । आन्तरिक पर्यटकहरु वृद्धि भएका छन् ।
समूहगत रुपमा काभ्रेबाट ४० जनाको टोली र लमजुङबाट ३३ जना विद्यार्थीहरुको टोली झण्डै ३ हप्तासम्म गाउँमा बसेर किसानहरुसँग मिलेर शोध अनुसन्धान गरे ।
यसले गाउँको पहिचान र प्रचारप्रसार त गराएको छ नै, भोलि राज्यको उपल्लो तहमा पुग्न सक्ने ति विद्यार्थीबाट गाउँलाई सहयोग समेत पुग्ने आशा यहाँका स्थानीयले गरेका छन् ।
जिल्ला वन कार्यालय, हरियो वन, विभिन्न सामुदायिक वनका पदाधिकारीहरु भ्रमणका लागि रतनपुर आउने गरेका छन् ।

अबको पाँच बर्ष पछि यो क्षेत्रमा हरियो वन हेर्न मानिसहरु अन्यत्रबाट अझै आउने विश्वास लिइएको स्थानीय देवबहादुर पण्डितले बताए । यो क्षेत्रलाई तेजपात उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना जिल्ला वन कार्यालयको छ ।
जिल्ला वन कार्यालय तनहुँका प्रमुख अम्विकाप्रसाद पौडेलले भने, ‘यहाँका स्थानीयको परिश्रम र मेहनत अनुकरणीय र सार्थक छ । आत्मसन्तुष्टि दिन्छ । जलवायु परिवर्तनलाई न्यूनिकरण, हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण एवम् बाँझो जमिनमा मौलाएको हरियालीले गाउँको भविश्य उज्वल छ । हिजोको रतनपुर र आजको रतनपुरमा फरक छ ।’
विभिन्न कालखण्डमा गाउँ छाडेर अन्यत्र बसाइ सरेकाहरु पनि गाउँ फर्कन थालेका छन् । तिमध्ये एक स्वंय डा. विष्णुहरी पण्डित हुन् । पुरानो भत्किन लागेको घरको मर्मत गरी उनी गाउँमा बाक्लै आउजाउ गर्दछन् ।
यस्तै, अर्का बाबराम ढकाल हुन् । काठमाडौंको सितापाइलामा सुविधासम्पन्न घर र गाडीघोडाले समेत आनन्द नदिएपछि उनी गाउँ फर्किएका छन् । उनले गाउँमा नै जग्गा किनेर घर बनाइसकेका छन् । ‘यहिँ नै हरियाली छ, वातावरण स्वच्छ छ । शुद्ध हावा खान पाइएको छ । गाउँमै सडक पुगेको छ । विजुली छ । अब किन बस्ने शहर ?’ ढकाल प्रश्न गर्दछन् ।
 
                









 
                     
                                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4