Comments Add Comment

बैंकहरुमा फेरि निक्षेप खोसासोस, नियमले दिनेभन्दा बढी कर्जा लगानी 

७ पुस, काठमाडौं । केही वाणिज्य बैंकहरुले कर्जा लगानी गर्न पाउने सीमा (सीसीडी रेसियो) कटाएर लगानी गर्न थालेपछि बैंकहरुबीच नै निक्षेप तानातान सुरु भएको छ ।

‘केही बैंकहरुको यस्तो सीमा कटेको सुनेको छु, अपर्झट निक्षेप बाहिरिँदा पनि यस्तो समस्या आएको हुन सक्छ,’ एक बैंकरले अनलाइनखबरसँग भने ।

राष्ट्र बैंकले पनि बैंकहरुमा लगानीयोग्य पूँजी संकुचन हुँदै गएको बताएको छ । ‘कहिलेकाँही सीमा तलमाथि हुन्छ, अहिले पँूजी संकुचन भएको भने हो,’ नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने ।

नियमअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजी र निक्षेप जोडेर हुने रकमको ८० प्रतिशत बराबर रकम मात्र कर्जा लगानी गर्न पाउँछन् । बाँकी २० प्रतिशत बराबर रकम बैंकको बर्ग अनुसार राष्ट्र बैंकमा ६ प्रतिशतसम्म अनिवार्य नगद मौज्दातको रुपमा राख्नुपर्छ । यसपछि अन्य प्रावधान राखेर बाँकी हुने रकम सरकारी ऋणपत्रमा लगानी गर्न सक्छन् ।

राष्ट्र बैंकको अनुसार बुधवारसम्ममा लगभग ४५ अर्ब रकम अधिक तरलता छ । यो सबै कर्जा लगानीयोग्य रकम होइन । किनभने बैंकहरुले ८० प्रतिशतको सीमा कटाएको अवस्थामा बाँकी हुने २० प्रतिशत रकमबाट कर्जा लगानी गर्न पाउँदैनन् ।

बैंकहरुबाट उपलब्ध तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्षको अन्त्य (असार) को  तुलनामा वाणिज्य बैंकहरुमा निक्षेप ५ प्रतिशतले मात्र बढेर २१ खर्ब ९३ अर्ब पुगेको छ भने कर्जा ८ प्रतिशतले बढेर १८ खर्ब ७० अर्ब पुगेको छ ।

‘निक्षेपको वृद्धि दरको तुलनामा कर्जा लगानी उच्च देखिएको छ, सबै बैंकले सावधानी नअपनाएको देखिन्छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने । वाणिज्य बैंकहरुले निक्षेपको ७९ प्रतिशतसम्म लगानी गरेका रहेछन् भने पनि बैंकहरुमा २९ अर्ब रुपैयाँ थप लगानी गर्न सक्ने अवस्था बन्छ । राष्ट्रिय वाणिज्य बैंकसँग मात्रै सो समय २२ अर्ब बराबर लगानीयोग्य रकम देखिन्छ । बाँकी २७ वाणिज्य बैंकमा प्रतिबैंक २५ करोड रुपैयाँको हाराहारीमा मात्रै लगानीयोग्य रकम बाँकी हुन्छ ।

कतिपय बैंकले आफूले लगानी गर्न पाउने सीमा कटेपछि बढी व्याजदर प्रस्ताव गर्दै अन्य बैंकमा भइरहेको रकम समेत तान्न थालेका छन् ।

‘एक बैंकले केही दिन अघिसम्म आफूसँग ७२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा निक्षेप खोसाखोस हुन थालेपछि समस्या हुन थाल्यो भन्न थालेका छन्,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले भने ।

बैंकिङ प्रणालीमा उल्लेख्य दरमा निक्षेप नबढेको, निक्षेपको वृद्धिको तुलनामा कर्जा लगानी गर्ने क्रम बढेको र बढि व्याज पाउने आशमा ग्राहकहरुले अवधि समाप्तिपछि निक्षेप अर्को संस्थामा राख्ने गर्न थालेकोले पनि बैंकहरुमा पूँजी अभाव देखिन थालेको छ ।

खर्ब रुपैयाँ बचाउन हम्मेहम्मे

गत वर्ष पनि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी अभाव भएपछि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमै १२.५ प्रतिशतसम्म व्याजदर पुर्‍याएका थिए ।

‘धेरैजसोले सो समय १ वर्षे अवधिको मुद्दती निक्षेप लिएका थिए, अहिले त्यो निक्षेप अर्को बैंकमा नजाओस् भन्ने उद्देश्यले पनि केही बैंकहरुलाई व्याजदर बढाउन परिरहेको छ,’ दाहालले भने ।

गत वर्ष माघमा बैंकहरुमा पूँजी संकट टड्कारो देखिएको थियो । सो समय उच्च व्याज दर प्रस्ताव गरेपछि बैंकहरुमा माघ एक महिनामै ९४ अर्ब ४३ करोड रुपैयाँ मुद्दती निक्षेपको रुपमा मात्रै थपिएको थियो । धेरैजसो मुद्दतीको अवधि पुस, माघमा सकिन लागेको छ । त्यसैले पनि बैंकहरु आफ्नो बैंकबाट अर्को बैंकमा पूँजी नजाओस् भनेर व्याजदर बढाउन थालिरहेका छन् । तर बढी व्याज दरको आशमा ग्राहकहरुले अर्को बैंकमा निक्षेप राख्ने क्रम बढेको छ । लगानी सीमामा सन्तुलित अवस्थामा रहिरहेका बैंकहरुबाट समेत व्याजदरमा प्रतिस्पर्धाको कारण निक्षेप झिक्ने क्रम बढेपछि असन्तुलन देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment