Comments Add Comment

टुंगियो धरहराको विवादः पुनर्निर्माण प्राधिकरणलाई नै बनाउन स्वीकृति

ठूटोलाई जस्ताको तस्तै राखेर अगाडिपट्टि संरचना ठड्याइने

७ पुस, काठमाडौं । सरकारले धरहराको पुनर्निर्माणको सम्पूर्ण अधिकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नै दिएको छ । यसअघि निर्माणको जिम्मा दिइएको नेपाल टेलिकम लगानी उठ्ने ग्यारेन्टी नहुने बताउँदै पन्छिएपछि मन्त्रिपरिषद्ले प्राधिकरणमातहत नै निर्माण गर्ने निर्णय लिएको हो ।

टेलिकमले धरहरा क्षेत्रभित्रै व्यावसायिक स्टल नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू वा आफूले तोकेको निकायमार्फत् नै बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।

मन्त्रिपरिषद्ले आफ्नो प्रस्ताव बमोजिमकै निर्णय गरेर पठाएकाले अब ढिला नगरी निर्माण प्रक्रिया अगाडि बढाउने प्राधिकरणले बताएको छ ।

मन्त्रिपरिषद्ले निर्णय परिवर्तन गरेकाले अब प्राधिकरणले नै निर्माणको नेतृत्व गर्ने प्रवक्ता यमलाल भुसालले बताए । ‘मन्त्रिपरिषद्बाट निर्णय भएर आएको छ । डिजाइन मात्रै फाइनल गर्न बाँकी छ,’ भुसालले भने ।

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा ढलेको उक्त ऐतिहासिक सम्पदाको पुनर्निर्माण अझै शुरु हुन सकेको छैन । शुरुमा जिम्मा पाएको टेलिकमले लगानी सुरक्षण नहुने देखेपछि औपचारिक रुपमै हात झिक्न चाहेको थियो ।

‘हामीसँग दुई वटा डिजाइन छन् । एउटा टेलिकमले बनाएको हो भने अर्को पुरातत्व विभागले,’ प्रवक्ता भुसालले भने, ‘अब सम्बन्धित निकाय र विज्ञको राय लिएर फाइनल गराउँछौं ।’

धरहरा क्षेत्रभित्रै व्यावसायिक मलसहितको संरचना बनाउन पाए निर्माणमा अगाडि बढ्न सकिने टेलिकमको अडानले प्रक्रिया विवादित बनेको थियो । तर, पुरातात्विक क्षेत्रमा त्यसो गर्न दिने पक्षमा पुरातत्व विभाग उभिएपछि प्राधिकरणले हस्तक्षेप गरेर आफैंले निर्माण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।

निर्माणबाट हात झिके पनि टेलिकमले एक अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता भने कायमै रहेको जनाएको छ ।

सरकारी डिजाइनअनुसार धरहरा निर्माण गर्दा चार अर्ब रुपैयाँ खर्चिनु पर्नेछ । टेलिकमले भने धरहरा क्षेत्रभित्र व्यावसायिक मलसहित सात अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको थियो ।

स्मारकसहित धरहरालाई आकर्षक पार्कका रुपमा विकास गर्ने पुरातत्व विभागको योजना छ । भाँचिएको धरहराको ठूटोलाई जस्ताको तस्तै संरक्षण गर्ने र त्यसकै अगाडि नयाँ ठड्याउने गरी विभागले डिजाइन तयार छ ।

यसअघि ‘मेरो धरहरा म आफैं बनाउँछु’ अभियानमार्फत् करिब १० करोड रुपैयाँ संकलन भएको छ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायत सुविधा उपलब्ध हुनेछन् ।

बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २१ तलाको हुनेछ । साथै, भर्‍याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ ।

आकस्मिक अवस्थाका लागि भर्‍याङको पनि व्यवस्था गरिनेछ । साथै, दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ, जहाँबाट लिफ्ट चढेर टुप्पोमा पुग्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment