Comments Add Comment

चुनावपछि पहिलोचोटि भेट्दा देउवालाई ओलीको व्यङ्ग्य

७ पुस, काठमाडौं । ‘कामचलाउ सरकार’का प्रधानमन्त्री शेरबहादुर देउवा र ‘प्राइमिनिष्टर इन वेटिङ’ मानिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । तर, चुनावपछि भएको यो पहिलो भेट सौहार्दपूर्ण हुन सकेन ।

चुनावपछि देउवा र ओलीबीच भेट मात्रै होइन, टेलिफोन वार्ता समेत हुन सकेको थिएन । झापा र डडेलधुराबाट चुनाव जितेका ओली र देउवाले एकअर्कावीच बधाइसमेत साटासाट गरेका थिएनन् ।

दुबै नेताले चुनाव अघिदेखि नै एकअर्काप्रति आक्रामक आभिव्यक्ति दिँदै आएका थिए । प्रदेश तथा प्रतिनिधिसभा चुनावपछि कांग्रेस सभापति देउवा केही रक्षात्मक बने । तर, एमाले अध्यक्ष ओली भने देउवाप्रति झन आक्रामक बने ।

यस्तै तिक्ततापूर्ण परिवेशमा शुक्रबार देउवा र ओलीको भेटघाट भयो । यो भेट पाँच दलको बैठकले जुरेको हो । देउवाले प्रधानमन्त्री निवास बालुवाटार आउन दिएको निम्तो ओलीले स्वीकार गरे ।

राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेशमा सहमति जुटाउन देउवाले पाँच दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । एमाले अध्यक्ष ओली केही ढिलो गरी बालुवाटार पुगे ।

ओलीका लागि देउवाकै छेउमा कुर्सी थियो । त्यहाँ बस्नुअघि देउवासँग उनले हात मिलाए । सहभागी एक नेताका अनुसार दुई नेताबीच बैठकका क्रममा सौहार्दपूर्ण कुराकानी हुन सकेन ।

बैठकमा उपस्थित कांग्रेसका एक नेता भन्छन्, ‘चुनावपछि यो पहिलो सर्वदलीय बैठक थियो । तर, बैठकमा ओली र देउवाको सम्वाद न सौहादपूर्ण रहृयो, न तनावपूर्ण नै रहृयो ।’

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवामाथि जनमत वाम गठबन्धनको पक्षमा आउँदा पनि सत्ता छाड्न नचाहेको आरोप लगाए ।
‘ओलीजीले वाम गठबन्धनले जित्यो भने सरकार छाड्नुपर्दैन, ५ वर्ष चलाइराख्छौं भन्ने पनि थपौं भन्नुभयो’ एक नेताले

अनलाइनखबरसँग भने- ‘देउवाजीले मैले कहाँ छाडि्दँन भनेको छु भन्नुभयो ।’

अध्यादेशमा सहमति जुटाउन देउवाले बोलाएको यो बैठक विनासहमति टुंगिएको थियो । बैठकमा कांग्रेस र एमालेले आ-आफ्ना अडान यथावत राखेपछि सहमति नजुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment