Comments Add Comment

कुन प्रदेशमा कसको सरकार ? यस्तो निस्कियो हिसाब

प्रदेश २ मा मधेस सरकार, बाँकीमा वामपन्थी !

७ पुस, काठमाडौं । निर्वाचन आयोगले सातवटै प्रदेशमा दलहरुले पाएको समानुपातिक सिट सार्वजनिक गरेपछि अब भावी प्रदेश सरकारको तस्वीर प्रष्ट भएको छ ।

अन्तिम नतिजाअनुसार प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत आएको छ । प्रदेश नम्बर २ बाहेक अन्य सबै प्रदेशमा बामपन्थी गठबन्धनको बहुमत पुगेको छ ।

प्रदेश नम्बर २ मा भने मधेसवादी गठबन्धनले बहुमत पाएको छ । समानुपातिकतर्फ एमालेले सातै प्रदेशमा गरी ७५ सिट पाउँदा कांग्रेसले उसकै हाराहारी ७२ सिट पाएको छ । तर, कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन नसक्ने अवस्था देखिएको छ ।

६ वटा प्रदेशमा प्रमुख प्रतिपक्ष हुन लागेको कांग्रेसले २ नम्बर प्रदेशमा भने समानुपातिकतर्फ सबैभन्दा धेरै सिट पाएको छ । तर, उसले त्यहाँ प्रत्यक्षतर्फ कम सीट पाएकाले प्रमुख प्रतिपक्षको स्थान नपाउने भएको छ । किनभने २ नम्बरमा मधेसवादी गठबन्धनको बहुमत आउँदा नेकपा एमाले दोस्रो स्थानसहित प्रमुख विपक्षीको कुर्सीमा बस्न पाउने भएको छ ।

प्रदेश नम्बर १ः वामपन्थीलाई दुईतिहाइ

प्रदेश नम्बर १ मा प्रत्यक्षतर्फ कुल ५६ मध्ये ३६ सिट जितेको एमालेले समानुपातिकमा १५ सिट पाएर ५१ सिटसहित एकल बहुमत पाएको छ । कांग्रेस प्रत्यक्ष ८ र समानुपातिक १३ सहित २१ सिट पाएर दोस्रो भएको छ भने माओवादीले प्रत्यक्ष १० र समानुपातिक ५ सहित १५ सिट पाएको छ ।

प्रत्यक्षमा एक सिट जितेको संघीय समाजवादी फोरमले समानुपातिकमा २ सिट सहित ३ सिट पाएर १ नम्बर प्रदेशको चौथो पार्टी बनेकेा छ । यहाँ राप्रपा र संघीय लोकतान्त्रिक परिषदले एक एक सिट पाएका छन् ।

प्रदेश २ः मधेसवादीको बहुमत

प्रदेश नम्बर २ मा समानुपातिक र प्रत्यक्ष सहित ५४ सिट पाएर मधेशवादी गठबन्धनले बहुमतको सरकार बनाउने भएको छ । २ नम्बर प्रदेशमा संघीय समाजवादी फोरमले २९ सिट र राजपा नेपालले २५ सिट पाएका छन् । एमालेले २१ सिट पाएको छ भने कांग्रेसले १९ सिट,माओवादीले ११ सिट र नेपाल संघीय समाजवादी पार्टीले एक सिट पाएका छन् ।

प्रदेश ३ः एमालेको एकल बहुमत

प्रदेश नम्बर ३ मा ५९ सिटसहित एमालेले एकल बहुमत पाएको छ । त्यस्तै माओवादीले २२ सिट पाएको छ । वाम गठबन्धनले यहाँ पनि दुई तिहाई बहुमत पाएको छ ।

नेपाली कांग्रेस २१ सिटसहित यो प्रदेशमा तेस्रो भएको छ । विवेकशील साझा पार्टीले ३ सिट पाएको छ भने राप्रपा,राप्रपा प्रजातान्त्रिक,नयाँ शक्ति र नेपाल मजदूर किसान पार्टीले एक एक सिट पाएका छन् ।

प्रदेश ४ःवामपन्थीको बहुमत

प्रदेश नम्बर ४ बाट एमालेले २७ सिट पाएको छ । यहाँ उसको एकल बहुमत भने सम्भव भएन । माओवादीको १२ सिट सहित यो प्रदेशमा पनि वामपन्थी गठबन्धनको बहुमत भएको छ ।

कांग्रेसले १५ सिट जित्दा राष्ट्रिय जनमोर्चाले र नयाँ शक्तिले एक एक सिट जितेका छन् । राष्ट्रिय जनमोर्चा पनि वामपन्थी गठबन्धनकै शक्ति हो ।

प्रदेश ५ः वामपन्थीको बहुमत

प्रदेश नम्बर ५ मा एमालेले ४१ र माओवादीले २० सिट जितेर प्रदेशमा बहुमतको सरकार बनाउने भएका छन् । यो प्रदेशमा कांग्रेसले १९ सिट जितेको छ । यहाँ संघीय समाजवादी फोरमले ५ तथा राजपा र राष्ट्रिय जनमोर्चाले एक-एक सिट जितेका छन् ।

प्रदेश नम्बर ६ः वामपन्थीको दुई तिहाई

प्रदेश नम्बर ६ को समीकरण भने केही फरक देखिएको छ । यहाँ कुल ४० सिटमध्ये एमालेले २० सिट पाएको छ । माओवादीले १३ सिट पाएको छ भने कांग्रेसले ६ र राप्रपाले एक सिट पाएका छन् । य

हाँ एमालेको २० सिट र अरु सबै दलको २० सिट भएको छ । वामपन्थी गठबन्धनको दुई तिहाई भएको छ ।

प्रदेश ७ः वामन्थीकै बहुमत

७ नम्बर प्रदेशमा एमालेले २५ सिट जिते पनि एकल बहुमत छैन । माओवादीको १७ सिट थपिदा यहाँ पनि बामपन्थीको बहुमतको सरकार बन्ने भएको छ । यहाँ कांग्रेसले १० र राजपाले २ सिट पाएका छन् ।

दुई मुख्यमन्त्रीमा माओवादीको दाबी

प्रदेश सरकार गठनका विषयमा कुरा गर्दा दुई नम्बर बाहेक ६ वटा प्रदेशका वामपन्थीको सरकार बन्ने भए पनि एमाले र माओवादीले के कति भागवण्डा गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

तर, प्रदेश नम्बर ५ मा एमालेका शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने लगभग पूर्वसहमति वाम गठबन्धनमा भइसकेको छ । प्रदेश नम्बर १ र ३ मा पनि एमालेले नै मुख्यमन्त्री पाउने सम्भावना छ ।

बाँकी प्रदेश नम्बर ४, ६ र ७ मध्ये माओवादीले दुईवटा प्रदेशमा आफूले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ । माओवादीका एक नेताले अनलाइनखबरसँग भने- ‘६ वटामध्ये एमाले चारवटा मुख्यमन्त्री लिने हो भने हामीले दुईवटा पाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment