Comments Add Comment

काठमाडौंमा पहिलो धातुचैत्य उत्खननले उजागर गरेका तथ्यहरु

११ पुस, काठमाडौं । फेब्रअरी २०१७ मा काठमाडौं आएका कतारका राज्यमन्त्री हमाद अल कवारीले स्वयम्भूको भ्रमण गरेका थिए ।

संयुक्त राष्ट्रसंघको शैक्षिक बैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को महानिर्देशकमा उम्मेदवारी दिएका उनी भोट माग्न नेपाल आएका थिए । त्यही अवसरमा युनेस्को नेपालले उनलाई स्वयम्भू पुनर्निर्माणको अवलोकन गराएको थियो ।

त्यही क्रममा महाचैत्य अगाडि पुगेपछि उनी टक्क अडिए र ठुलो स्वरमा भने, ‘अल्लाह, अल्लाह !’

स्वयम्भुनाथ जस्तो बौद्ध धर्मको आस्थाको केन्द्रमा आएर उनी किन अल्लाहलाई पुकार्दैछन् ? सँगै रहेका युनेस्कोका कर्मचारीले सोधिहाले, ‘किन अल्लाहलाई पुकार्नु भएको ?’

‘तपाईँले मलाई देखाउनुभएको सिक्कामा अल्लाह नै त लेखिएको छ !’ कवारीको जवाफ थियो ।

यूनेस्कोका कर्मचारीले कवारीलाई २०७२ सालको भूकम्पमा भत्किएको एउटा चैत्यमा भेटिएको सिक्का देखाएका थिए ।

बैशाख २०७२ को भूकम्पले अन्यत्र जस्तै स्वयम्भूमा पनि ठूलो क्षति पुर्‍याएको छ ।

स्वयम्भू महासमितिका अनुसार महाचैत्यमा क्षति नभएपनि नजिकै रहेका ६ वटा मठमन्दिर तथा चैत्य पूर्ण रुपमा क्षति भएका थिए भने २१ वटा अरु संरचनामा क्षति पुगेको छ ।

त्यसमध्ये एक हो, मंगलबहुद्वार चैत्य । महाचैत्यको पछाडि तथा अजीमा र भैरवको बीचमा रहेको मंगलबहुद्वार चैत्य भत्किएपछि त्यसको अध्ययनको मौका मिलेको छ ।

पुरातत्व विभाग र युनेस्कोको अध्ययनले केही नयाँ तथ्यहरु उजागर गरेको छ । अध्ययनमा संलग्न अधिकारीहरुका अनुसार काठमाडौं उपत्यकामा यसअघि कुनै पनि धातु चैत्यको उत्खनन गरेर अध्ययन गरिएको छैन ।

धातु चैत्यहरु लुम्बिनीमा पनि छ, त्यहाँ धेरैको उत्खनन गरेर अध्ययन गरिएको छ । तर, काठमाडौं यसको आवश्यकता नै महसुस गरिएको थिएन ।

‘जुन संरचनाबाट ती सिक्काहरु उत्खनन गरिएको थियो, त्यो भूकम्पका बेला कसैले बम पड्काए जसरी पडि्कएको प्रत्यक्षदर्शीहरुले बताएका छन्’ पुरातत्वविद् देवेन्द्र भट्टराईले भने ।

भट्टराई स्वयम्भू पुनर्निर्माणमा सक्रिय पुरातत्वविद् हुन् । उनका अनुसार भूकम्पपछि सुरुमा नै युनेस्कोले चासो देखाएको थियो भने सेना, प्रहरीका साथै स्वयंमसेवकहरुले त्यहाँ भेटिएका बस्तुहरुका अभिलेख राख्दै इँटाहरु पन्छाएका थिए ।

पुरातत्व विभाग, युनोस्को र स्वयम्भू महासमितिका प्रतिनिधिको रोहबरमा मंगलबहुद्वार चैत्यको जगसम्म हेर्ने काम भयो । त्यही क्रममा चैत्यको जग मण्डल आकारमा भेटियो, जसको बौद्ध धर्ममा आफ्नै महत्व छ । साथै थप उत्खननका क्रममा ‘चाचा’ भेटियो । यो करिव १ लाख २० हजारको संख्यामा रहेको अनुमान छ ।

चाचा भनेको, काँचो माटोबाट बनेको मूर्तिहरु हो, यसलाई आगोमा पोलिएको हुँदैन । यो उत्खननका लागि केही दिन लाग्यो । उत्खननका क्रममा भेटिएका चाचाहरुमा धमिरा लागेको थियो, जुन बेलाबेला बादर आएर खाने गरेको थियो ।

उत्खननका क्रममा तामाको बट्टा भेटियो, जहाँ यो चैत्य बिक्रम सम्वत १९९५ सालमा बनेको उल्लेख छ ।

यसअघि यो चैत्य शान्तिकाचार्यले स्वयम्भू महाचैत्य बनाउँदा बाँकी रहेका सामाग्रीले बनाएको जनविश्वास थियो । तर, उत्खननका क्रममा त्यसलाई पुष्टि गर्ने केही प्रमाण भेटिएन ।

बरु, यहाँ मानिसको अस्तु भेटियो । केही सिक्काहरु भेटिए । जसमा नेपालको मल्लकालिन, साहकालीन मात्र होइन, भारतका मुस्लिम शासक रहँदाका सिक्का, चिनियाँ सिक्का, पनि थिए ।

बौद्ध धर्मावलम्बीहरुको आस्थाको थलो स्वयम्भूमा रहेको चैत्यमा ‘अल्लाहदेखि महारानी भिक्टोरिया’ सम्म कसरी आइपुगे ? चासोको विषय बन्न पुग्यो ।

उपलब्ध प्रमाणहरु हेर्दा काठमाडौंका पुराना बहालहरु मध्ये एक बहालमा बस्ने ताम्रकार (जसको नाम गोप्य राखिएको छ) को सम्झनामा यो धातु चैत्य बनाइएको देखिन्छ । उनैले जीवित रहँदा संकलन गरेका सिक्काहरु उनको अस्तुसँगै राखिएको विश्लेषण छ ।

तर, चैत्य निर्माणका क्रममा इँटाको चाङ मात्र लगाइएको र माथिबाट चुनको घोल खन्याइएको पाइएको छ । ‘यसो किन गरियो भन्ने अनुमान गर्न सकिएको छैन’ भट्टराईको कथन छ ।

धातुचैत्य उत्खननका क्रममा सुनको फूल पनि भेटियो । महामञ्जुश्रीले नेपाल आउँदा स्वयम्भू महाचैत्यमा लाखौं फूल अर्पण गरेको र त्यसमध्ये एक यो हुन सक्ने स्थानीय बुढापाकाहरुले बताएका छन् । तर, त्यसको ठोस प्रमाण भेटिएको छैन ।

यो धातुचैत्यलाई बौद्ध धर्ममा आस्था राख्ने तिब्बती समुदायले ‘तासी गोरमाङ’ पनि भन्ने गरेका थिए । तर, उत्खननबाट चैत्यको नाम तासी गोरमाङ हो भन्ने देखिँदैन ।

पुरातत्व विदहरुका अनुसार नेपालमा राणाकालीन समयमा बौद्ध धर्मले राज्यबाट खासै समर्थन पाका थिएनन् । राज्यस्तरबाट स्वयम्भूको मर्मतसम्भार पनि भएन । तर, तिब्बतबाट आएका बौद्ध समूहहरुले मर्मतसम्भार गर्ने गरेको अभिलेख स्वयम्भू महासमितिमा छ । यही कारण पनि मंगलबहुद्वार चैत्यको नाम तिब्बती भाषमा ‘तासी गोरमाङ’ भनिएको हुनसक्छ ।

उत्खनन सकिएपछि भेटिएका पुरातत्विक सामाग्रीहरुलाई स्थानीय क्लबको एउटा कोठामा राखियो । त्यहाँ प्रहरीले २४ सै घन्टा सुरक्षा दिने व्यवस्था मिलाइएको थियो ।

पुरातत्व विभाग, युनेस्को र स्वयम्भू महासमितिले मंगलबहुद्वार चैत्य पुनर्निर्माण गर्ने निर्णय गरे ।

तर, पुनर्निर्माण गर्न सजिलो भने थिएन ।

किनभने उत्खननका क्रममा भेटिएको तामा बट्टामा ‘यदि यो चैत्यमा कसैले जथाभावी थपघट गर्छ भने उसलाई अजीमा र भैरवको दोष लाग्नेछ’ लेखिएको थियो ।

सबै तस्वीरः D. Andolfatto/UNESCO

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment