१२ पुस, डोटी । दिपायल सिलगढी नगरपालिका-१ कि ९० वर्षीया पुनी लुहार मंगलबार बिहान वडा कार्यालयमा भेटिइन् ।
उनलाई न्यानो कम्मल बितरण गर्नका लागि वडा कार्यालयबाट खबर गरिएको थियो । बितरकले कम्मल ओडाउँदा उनका आँखा रसाए । ‘रातभरी आगो तापेर बस्नु पर्ने अवस्था थियो’ परिवारको आर्थिक अवस्था कमजोर भएकी पुनी भन्छिन् ‘अव यो कम्मल ओडेर सुत्न सक्छु ।’
पुनी जस्तै दिसिनपा-२ कि पारवती खड्काको पनि कम्मल पाएपछि अनुहारमा खुशी आयो । उनी कम्मलले जाडो छल्ने आश गर्छिन ।
पुनी र पारवती जस्तै दुई सय ७० लाई मंगलबार न्यानो कम्मल बितरण गरिएको छ । डोटी दिपायलमा रहेको के बि स्टिल एण्ड फर्निचर उद्योग र के बि ईलेक्ट्रोनिक्सका सञ्चालक खगेन्द्रबहादुर साउँदले जाडोको मौषममा उनीहरुलाई न्यानो कम्मल बितरण गरेका हुन ।
दिपायल सिलगढी नगरपालिकाका नौ वटै वडामा प्रत्येक वडाका ३० जना बृद्धबृद्धा, असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु छनौट गरि कम्मल बितरण गरिएको सञ्चालक साउँद बताउँछन ।
‘हामीले सम्वन्धित वडा कार्यालयलाई असहाय बृद्धबृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु छनौट गरिदिन आग्रह गरेका थियौं’ साउँदले भने ‘वडा कार्यालयको सिफारिसमा सम्वन्धित वडा कार्यालयमै कार्यक्रम आयोजना गरि कम्मल बितरण गरेका छौं ।’
साउँदले बिगत पाँच बर्षदेखि वर्षेनी न्यानो कपडा बितरण गर्दै आएको बताए । उनी भन्छन् ‘मेरो सानो सहयोगले कसैलाई राहत मिलोस भन्ने उद्देश्यले मैले कम्मल बितरण गर्दै आएको छु ।’ उनी यस्ता कार्यहरुले आफुलाई सन्तुष्टि मिल्ने गरेको बताउँछन । ‘दुःख र गरीवी के हो भन्ने कुरा मैले राम्रोसंग भोगेको छु’ साउँद भन्छन् ‘त्यसकारण मलाई दुःखी र गरीवहरुलाई सहयोग गर्न मन पर्छ ।’
आफ्नो वडाभित्रका लक्षित बर्गलाई सहयोग गरेको भन्दै वडा कार्यालयहरुले उनलाई फुलमाला सहित सम्मान गरेको छ । ‘राज्यले गर्नु पर्ने काम एक व्यक्तिले गर्नु भएको छ’ वडा नं. २ का वडाध्यक्ष राजेन्द्रबहादुर खड्का भन्छन् ‘वडा कार्यालयले उहाँको उच्च सम्मान गर्छ ।’
साउँद सामाजिक क्रियाकलापमा बिगत लामो समयदेखि जोडिदै आएका छन । उनले बजारमा, मन्दिरमा, सार्वजनिक स्थलहरुमा डस्टबिन राख्ने, नगर क्षेत्रभित्र रहेका १३ सामुदायिक विद्यालयलाई प्रति बिद्यालय एक लाखका दरले सहयोग गर्ने जस्ता कामहरु यस अघि पनि गरेका छन ।
प्रतिक्रिया 4