Comments Add Comment

मध्य तराईमा तीन वर्ष यताकै चिसो, तापक्रम ५ डिग्रीमा झर्‍यो

 २३ पुस, वीरगञ्ज । मध्य तराईमा चिसो अत्याधिक बढेको छ । पर्सा, बारा,रौतहटको जनजीवन चिसो कारण प्रभावित बनेको छ ।

वीरगञ्ज, कलैया, गौर लगायतका मुख्य बजारमा सर्वसाधरणको चहलपहल कम भएको छ । तीनवटै जिल्लाका विद्यालयहरु चार दिनका लागि बन्द गरिएका छन् ।

पछिल्लो साता यस क्षेत्रमा यस वर्षकै सबैभन्दा बढी चिसो महशुस गरिएको सर्वसाधरणले बताएका छन् ।

पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं ३ मैनपुर घर भएका ७० वर्षीय विन्दाप्रसाद पटेलले एक सातादेखि निकै चिसो महशुस भएको बताए । ‘दिनभर घुर तापेर बस्छौं, बेलुका ७/८ बजे नै ओछ्यानतिर पस्छौं,’ पटेलले भने,’चिसोका कारण दिनचर्या बदलिएको छ ।’ चिया पसलहरुमा मानिसहरुको भिड बढेको छ ।

चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका छन् । विशेष गरी कोल्ड डायरिया, दम खोकीले मानिसहरुलाई सताएको चिकित्सकहरु बताउँछन् ।

शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्ने लगायतका समस्या देखिएको आशाराम अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा. अशोक दासले बताए । ‘केही दिन यता कोल्ड डायरियाको बिरामी बढेका छन् । अस्पतालमा आउने बिरामी मध्ये आधा भन्दा बढी चिसोकै विरामी हुन्छन् ।’ उनले भने ‘ चिसोमा बाल बच्चालाई विशेष ध्यान दिनुपर्छ भन्ने कुरामा अभिभावक सचेत नभएकोले समस्या उत्पन्न हुने गरेको छ ।’चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा-ठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू प्रताडित छन् ।’

शनिबार र आइतबार यसवर्षकै सबैभन्दा कम तापमापन भएको वीरगञ्ज रानीघाटस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरस्थित अटोमेटिक वेदर स्टेशनका अवजर्भर कामेश्वर राउतले बताए ।

आइतबार बिहान न्युनतम तापक्रम ७.५ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम १० डिग्री सेल्सियस मात्रै छ । शनिबार २२ पुसमा अधिकतम तापक्रम १५ र न्यूनतम तापक्रम ५ डिग्री मापन गरिएको थियो ।

७ दिनको तापक्रम हेर्दा शनिबार न्यूनतम तापक्रम सबैभन्दा कम (५ डिग्री ) रहेको र अधिकतम तापक्रम आइतबार सबैभन्दा कम (१० डिग्री) रहेको अबजर्भर राउतले बताए । ‘एक सातादेखि चिसो बढेको बढेकै छ । ‘मौसममा सुधार आउन सकेको छैन्,’ उनले भने, ‘ स्टेशन स्थापना भएको तीन वर्ष भयो, ५ डिग्री न्यूनतम तापक्रम यसपाली मात्रै भयो ।’

वेदर स्टेशनका अव्जर्भरहरुले बिहान ८ः४५ बजेको न्युनतम र बेलुका ५ः४५ बजे अधिकतम तापक्रम रेकर्ड पनि राख्ने गरेका छन् ।

वीरगञ्ज स्टेशनका अनुसार यस्तो छ एक साताको तापक्रम

स्रोतः क्षेत्रीय कृषि अनुसन्धानकेन्द्र स्थित अटोमेटिक वेदर स्टेशन

आगो ताप्ने व्यवस्था मिलाउन स्थानीयको माग

अघिल्ला वर्षहरुमा स्थानीय निकायले चिसो प्रभावित सर्वसाधरणलाई आगो ताप्न सार्वजनिक ठाउँमा आगो बालिदिने गरेको भएपनि यसपाली भने त्यसो नभएको गुनासो सर्वसाधरणले गरेका छन् ।

वीरगञ्जको घण्टाघर, माईस्थान लगायतका मानिसहरुको अत्याधिक चहलपहल हुने क्षेत्रमा आगो बाल्ने व्यवस्था मिलाउने गरिएकोमा जनप्रतिनीधिहरु आएपछि त्यसो नभएको गुनासो स्थानीयको छ ।

वीरगञ्जको घण्टाघर आसपास लहरै नेपाली र भारतीय व्यापारीहरु फलफूल बेच्नलाम लागेर बस्दै छन् । उनीहरुले अघिल्ला वर्षहरुमा जस्तो आगो ताप्ने व्यवस्था नमिलाएको र आफूहरुले रकम संकलन गरेर दाउरा ल्याएको प्रतिक्रिया दिए ।

घण्टाघरमा फलफुलको व्यापार गर्दै आएका सुमिलाल दासले महानगरपालिकाले जाडोको समयमा समेत आगो ताप्ने व्यवस्था नमिलाएको गुनासो गरे । ‘अघिल्लो वर्षमा त नगरपालिकाले नै घण्टाघरमा दाउरा खसाएर आगो ताप्ने व्यवस्था मिलाउँथ्यो, तर यसपाली त्यसो हुन सकेको छैन, हामी आफैं दाउरा खोजेर ल्याएर बालेर तापी रहेका छौं ।’

घण्टाघर आसपासमै फलफूल बेच्ने राजेश कुमार चौरसियाले चिसोले फलफुलको व्यापार समेत घटेको गुनासो गरे । तर, महानगरपालिकाले भने यसवर्षको चाडोमा सर्वसाधरणलाई आगो ताप्नका लागि ३ टन दाउरा वितरण भईसकेको जनाएको छ ।

मेयर विजयकुमार सरावगीले नगरबासीलाई आगो ताप्ने व्यवस्था मिलाउन ३ टन दाउरा वितरण भईसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment