Comments Add Comment

पृथ्वीजयन्तीमा पूर्वराजा ज्ञानेन्द्रले भने-आशाको दियो जागेको छ

२६ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २९६ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय जागरण पैदा गर्ने आशाको दीयो जागेको बताएका छन् ।

पूर्वराजाले वर्तमान राजनीतिक नेतृत्वप्रति विगतमा जस्तै गुनासो खोल्दै आफ्नो वक्तव्यमा भनेका छन्- ‘नयाँ नेपालको सपना देखाउँदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किँदै गएको छ ।’

ज्ञानेन्द्रको वक्तव्यमा अगाडि भनिएको छ, ‘आफ्नै भूमिभित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवं सामाजिक एकताको कडीमा राख्नुपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसाथ गर्नुपर्छ ।’

ज्ञानेन्द्रले अगाडि भनेका छन्- ‘निर्दयी कदम चाल्नेहरुलाई, जनतामा आएको सचेतनाले, नेपालको अस्तित्व नै खतरामा पर्ने त्रास उत्पन्न भइरहेको वर्तमानमा, सम्भालिएर अघि बढ्नुपर्ने बाध्यतामा पुर्‍याइदिएको छ ।’

पृथ्वी जयन्तीको शुभकामना दिँदै ज्ञानेन्द्रले भनेका छन्- ‘नेपाली जनतामा निहीत देशप्रतिको ममता भावले राष्ट्रिय जागरण पैदा गर्ने आशाको दीयो जगाएको छ । तर, नेपालप्रति सम्मान भाव नराखी यसको एकता र सदभाव बिथोल्न भएका अनेकौं प्रयास अझै जारिरहेको छ ।’

पुरानाको जगेर्ना गरेर मात्रै नयाँ नेपाल बनाउन सकिने ज्ञानेन्द्रले बताएका छन् । उनले अगाडि भनेका छन्- ‘पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने वास्तविकता आत्मसाथ गर्दै राष्ट्रिय स्वाभिमान पुनरुत्थान तथा समृद्घकिा निम्ति एकतावद्ध भई क्रियाशील बनौं, यो नै राष्ट्र निर्माताप्रतिको सच्चा सम्झना र देशप्रतिको कर्तव्यबोध ठहरिनेछ ।’

ज्ञानेन्द्रले अगाडि भनेका छन्- ‘हाम्रो राष्ट्रिय धर्म, परम्परा, संस्कृति, राष्ट्रिय एकता र स्थायित्वको निम्ति थप प्रतिवद्धताका साथ जागृत हुन परेको छ ।’

पूर्वराजाको वक्तव्यमा भनिएको छ- ‘देश भनेकै मानव समाजकै समष्टिगत एकता, मौलिक संस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानको समग्र रुप होे । देश रहेमात्र हामी र हाम्रो धर्म, संस्कृति, परम्परा एवं पहिचान रहन सक्छ । हाम्रो मौलिकता बाँचेको अवस्थामा मात्र हामी आत्मगौरवका साथ बाँचिरहन सक्छौं ।’

भोलि विहीबार २९६ औं पृथ्वी जयन्ती हो । सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment