बहुप्रतिक्षित फिल्म ‘पद्यावती’ करिब दुई साता पछि रिलिज हुँदैछ । यसवीचमा फिल्मले अनेक लफडा झेल्यो । छायांकनदेखि नै विवादित बनेको फिल्मले अहिले यसका निर्देशक संजय लिला भन्सालीलाई डिप्रेसनमा पुर्याएको भारतिय मिडियाहरुले जनाएको छ ।
फिल्म छायांकनको बेला राजपुत करणी सेनाले सेटमै आएर हुलदंगा मच्याएका मात्र थिएनन्, निर्देशक भन्सालीलाई हातपात गरेका थिए । अक्सर पौराणिक कथामा आधारित फिल्म बनाउने भन्सालीले अनेकौ अवरोध छिचोल्दै फिल्म छायांकन गरिछाडे । उनैले संगीत गरेर गीत पनि तयार गरे । फिल्म तयार भयो । र, रिलिज डेट पनि तोकियो ।
तर, राजपुत करणी सेनाले फिल्म चल्नै नदिने उद्घोषपछि फिल्म पछि हट्यो । भारतिय सेन्सर बोर्डले फिल्मलाई मोड्न लगाए । भन्सालीले त्यसै गरे । फिल्मको नाम पद्यावत राखियो । तर, यतिले पनि पुगेन । अझै फिल्म प्रदर्शनले हुलदंगा मच्याउने संकेत देखिएको छ । राजस्थान लगायतमा फिल्म प्रदर्शनमै रोक लगाएको छ ।
खान छाडे
संजय लिला भन्सालीमाथि उच्च सुरक्षा चुनौती थपिएको छ । यावत् लफडावाजीले गर्दा होला, भन्सालीको निन्द्रा हराम भएको छ । खाना खान छाडेको छ । भन्सालीका निकट मानिने पत्रकार सुभाष झाले यो कुरा खुलासा गरेका हुन् ।
आफुलाई अपराधी जस्तै ठानेका छन्
भन्सालीले आफुलाई एक अपराधीलाई जस्तै व्यवहार गरिएको गुनासो गर्ने गरेका छन् । मानिसले कानुनको किताब पढ्नुपर्ने आवश्यक्ता उनले औंल्याएका छन् ।
सेलफोन बन्द गरे
भन्सालीलाई अहिले चौतर्फी धम्की आइरहेको छ । उनी तनावै तनावले घेरिएका छन् । अहिले भन्सालीले आफ्नो सेलफोन समेत बन्द गरेका छन् । उनको घरको नम्बरमा आएको फोनले पनि उत्तिकै दुख दिइरहेको छ । उनलाई मात्र होइन, आमालाई पनि ।
भन्साली एकदमै डराएका छन् । उनले आमाको सुरक्षाप्रति चिन्ता गरेका छन् ।
प्रतिक्रिया 4