
२२ वैशाख, लमजुङ । यार्सागुम्बा टिप्न मनाङको उत्तरीभेग ताङ्चे खर्क गएका आकाश तामाङ भीरबाट खसेर मृत्यु भएको ५ दिन भइसक्यो । मनाङमा यार्सा टिप्न अनुमति प्राप्त भएसँगै उत्तर भेग जानेको लर्कोमै मिसिएर गएका आकाशको शव निकाल्न त परै जाओस्, त्यहाँसम्म पुग्न र उद्धारका लागि खटिएका सुरक्षाकर्मीसँग नै सञ्चार सम्पर्क टुट्दा समस्या निम्तिएको छ ।
मनाङको नार्पाभूमि गाउँपालिका वडा नम्बर २ ताङ्चे खर्क हुलाकी ओडार माथि भीरमा यार्सागुम्बा टिप्न गएका अकाशको खसेर मृत्यु भएको हो । धादिङ गंगाजमुना गाउँपालिका वडानम्बर १ का आकाशसहित ७ जनाको समूह वैशाख १५ गते यार्सा गुम्बा टिप्न पुगेको थियो ।
समूहमा गएका आकाश १६ गते नै हराएका थिए । उनको समूहले खोजी गर्दा उनी भीरबाट खसेर मृत अवस्थामा भेटिएको भन्दै उनका भाइ रोहितले १९ गते मेता मनाङ प्रहरी चौकीमा खबर गरेका थिए । आफन्तका अनुसार आकाश भीरबाट खसेर सोही दिन वा भोलिपल्टै मृत्यु भएको हुन सक्ने बताएको छ ।
प्रहरीले उद्धारका लागि तत्काल टोली खटाएको भए पनि ठाउँ पहिचान गर्न, घटनास्थलसम्म पुग्न र सञ्चार सम्पर्कसमेत नहुँदा पहिलो पटकमा फर्किनुपरेको छ । अहिले न आफन्त न उद्धारमा गएका सुरक्षाकर्मीसँग सम्पर्क हुन सकेको छ ।
सुरक्षा समितिको बैठक बसेर उद्धारका लागि ३ वटै सुरक्षा निकाय परिचालन गरिएको छ तर अहिले उद्धारमा गएका तिनै सुरक्षाकर्मीसँग पनि सञ्चार सम्पर्क टुटेको मनाङका प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिए ।
‘उद्धारका लागि तत्काल सुरक्षाकर्मी खटायौं । सुरक्षा समितिको बैठक नै बसेर तिनै तहको सुरक्षा परिचलन गरेर पठाएका छौं तर पछिल्लो स्थिति के छ भन्ने सञ्चार सम्पर्क नै हुन सकेको छैन’, मनाङका सीडीओ आचार्यले बताए ।
मनाङ प्रहरी प्रमुख डिएसपी हरि पौडेलका अनुसार आफन्तले खबर गरेलगत्तै लिलाबहादुर थापाको कमाण्डमा ५ जनाको टोली खटिई गएको थियो । जिल्ला प्रहरी कार्यालय प्रहरी नायव निरीक्षक ओमबहादुर थापाको कमाण्डमा उद्धार सामग्रीसहित १० जनाको टोली पठाइएको थियो ।
‘उक्त लास भीरको बीच भागमा रहेको हुँदा निकाल्न नसक्ने भएकोले नार्पाभुमी गाउँपालिका वडानम्बर २ ताङचे खर्कस्थित हुलाकी ओडारबाट उक्त टोली कार्यालयतर्फ फिर्ता भयो,’ डिएसपी पौडेलले भने, ‘२० गते जिल्ला सुरक्षा समितिको आपतकालीन बैठक बसेर निर्णयअनुसार उक्त शव उद्धारका लागि सामाग्री र दक्ष जनशक्तिसहित ३ वटै सुरक्षा निकाय परिचालन गरिएको हो ।’
मेता प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय मनाङ, सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म हेडक्वाटर चामे मनाङ ,नेपाली सेनाको नयाँ भैरवी दल गुल्म चामे मनाङबाट २१ जना सुरक्षाकर्मी घटनास्थलतर्फ परिचालन भएका हुन् ।
२० गते उद्धारको लागि खटिइएको टोली नार्पाभूमी–२ ताङ्चे खर्कस्थित हुलाकी ओडारमा रात्री बास बसी २१ गते २ बजेको समयमा ताङ्चे खर्कबाट टेलिफोन सम्पर्क हुँदा प्रहरी सहायक निरीक्षक भीमबहादुर छन्त्यालको कमाण्डमा ६ जना सुरक्षाकर्मी र २ जना मृतकको आफन्त घटनास्थलतर्फ गएको खबर गएको थियो ।
‘उक्त टोली घटनास्थलमा पुग्न २/३ घण्टा लाग्ने जानकारी भएको र अन्य टोली सोही ओडारमा नै रहेको जानकारी आएको थियो । त्यसपछि सुरक्षाकर्मीसँग कुनै किसिमको सम्पर्क हुन सकेको छैन,’ डिएसपी पौडेलले भने, ‘हामीले सम्पर्कको प्रयास गरिरहेका छौं ।’
प्रमुख जिल्ला अधिकारी आचार्यले तत्काल सुरक्षा समितिको बैठक बसेर तिनै तहको सुरक्षा कर्मी खटाइएको भए पनि सञ्चार सम्पर्क नहुँदा समस्या परेको र यो समस्याबारे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाईसमेत जानकारी गराइएको बताए ।
‘पर्याप्त टावरहरू नहुँदा र नेटको सुविधासमेत नहुने हुँदा यार्सा टिप्न जानेहरुको सुरक्षा, उद्धारमै समस्या परेको छ । उद्धारमा जाने सुरक्षाकर्मीसँग नै सम्पर्क टुट्न पुग्छ, यो विडम्बडा हो’, सीडीओ आचार्यले भने, ‘मनाङको अन्य उत्तरी भेगमा पनि सञ्चार सम्पर्क नहुने सुरक्षा चुनौती थपिएको छ ।’
चामेमा आइतबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकोसमेत उपस्थितिमा भएको सुरक्षा बैठकमासमेत प्रजिअ पाण्डे र प्रहरी प्रमुख पौडेलले यो समस्या बताएका थिए । मुख्यमन्त्री पाण्डेले तत्काल हेलिकप्टरकै आवश्यक पर्ने हो भने पनि व्यवस्थापन गर्ने बताएका थिए भने र उद्धारमा खटिएका सुरक्षाकर्मीबाट थप सन्देश आउन सक्ने बताएका थिए ।
‘घटनास्थल पुगेपछि कुनै खबर आएर नत्र अर्को कुनै एक्सन लिनु परे पछि हट्ने होइन’, मुख्यमन्त्री पाण्डेले भने, ‘मनाङको यो समस्यालाई मैले गम्भीर रुपमा लिएको छु र संघमा पनि समन्वय गरेर के गर्न सकिन्छ गर्नुपर्छ गर्ने हो । मानिसको सुरक्षाका निम्ति सरकारले गर्नैपर्छ ।’
प्रजिअ आचार्य पर्याप्त जनशक्ति र उद्धार सामग्रीकोसमेत अभावमा समस्या भोग्नुपर्ने अवस्था रहेको बताएका छन् । अहिले उत्तर मनाङमा यार्सागुम्बा संकलन खुलेको छ ।
यार्सा संकलनका लागि मनाङसँगै लमजुङ, गोरखा र धादिङसम्मबाट आउने गरेका छन् । एक्याप इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा संकलनका लागि अनुमति दिने गरेको छ । मनाङमा विशेष गरी वैशाख र जेठमा यार्सा संकलन गर्ने गरिएको छ ।
मनाङको नार, फू लेक, याक लेक, नाम्ग्य लेक, किन्चो लेक, पिसाङ लेक, नाङ लेक, आइस लेक, स्याक्यु लेक, थोराङ्ला लेकलगायतका क्षेत्रमा यार्सागुम्बा संकलन गर्ने गरिएको छ ।
नापाभूमिको नार र फूमा भने अन्य जिल्लाका व्यक्तिलाई यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । २०६६ सालमा गोरखाबाट यार्सागुम्बा टिप्न गएका ७ जनाको हत्या भएको थियो । नार र फू निषेधित तथा संरक्षित क्षेत्र पनि भएकाले अहिले बाहिरका नागरिकलाई यार्सा संकलनमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया 4