Comments Add Comment

काम नगर्ने पाँच ठेकेदार कम्पनी कालोसूचीमा


१ माघ, काठमाडौं । सरकारले विभिन्न पाँच ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रतिवद्धता बमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीहरूमध्ये चार वटा कम्पनी काठमाडौंका हुन् । जसमा टोखा नगरपालिका-९ धापासीमा रहेको डिएनके ट्रेडिङ प्रालि, काठमाडौं महानगरपालिका-३२ घट्टेकुलोको क्वालिटी सेक्यूरिटी गुड्स सप्लायर्स, काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकको नारायणदास श्रीनिवास र काठमाडौंकै पवन कुमार/नितेश कुमार छन् ।

ललितपुर उपमहानगरपालिका-२ को पशुपती ईन्टरनेसनल प्रालिलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।

कार्यालयका अनुसार डीएनके प्रालि र पशुपति इन्टरनेसनललाई एक/एक वर्ष कालोसूचीमा राखिएको छ ।

नारायणदास श्रीनिवास र पवन कुमार/नितेश कुमारलाई दुई/दुई वर्ष र क्वालिटी सेक्यूरिटीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यी कम्पनीहरूलाई गत शुक्रवारदेखि लागू हुनेगरी कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकबाट कालोसूचीमा राख्ने प्रस्ताव आएपछि ती ठेकेदारलाई कालोसूचीमा राखेको जनाएको छ ।

कार्यालयले सार्वजनिक खरिद ऐनबमोजिम ठेक्का ‘बिड’ गर्ने तर सम्झौता गर्न नआएका, मिलेमतो गरेर काम गरेका र बीचैमा छाड्ने कम्पनीलाई कालोसूचीमा राख्छ ।
सम्बन्धित कार्यालयबाट आएको सिफारिसका आधारमा सार्वजनिक खरिद कार्यालयले कालोसूचीबारे निर्णय लिन्छ ।

सिफारिसका आधारमा पटक-पटक पत्राचार गर्दा पनि अटेरी गरेका ठेकेदारलाई कार्यालयले कालोसूचीमा राख्दै आएको छ ।

कार्यालयले त्यस्ता कम्पनीको ठेक्का सम्झौता र धरौटी जफत गरेर कालोसूचीमा राख्छ ।

सम्झौता गर्न नआउने, मिलेमतो गर्ने तथा पूरा काम नगर्ने कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिने सार्वजनिक खरिद ऐनको व्यवस्था छ ।

ठेक्का हात पार्ने तर सम्झौता गर्न नआउने कम्पनीलाई तीन, निर्धारित समयमा ६० प्रतिशतभन्दा कम काम गर्नेलाई दुई र शतप्रतिशत काम नसक्ने कम्पनीलाई एक वर्षसम्म कालोसूचीमा राख्ने कानूनी व्यवस्था छ ।

निर्माण कम्पनीले सम्झौताबमोजिम काम नगर्दा आयोजना तथा निर्माण काममा ढिलासुस्ती हुन थालेपछि कार्यालयले कारवाहीलाई तीव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment