Comments Add Comment

वीरगञ्जमा क्लिंकर आयातको समस्या यथावत

नेपाली पक्ष गम्भीर नभएको उद्योगीको गुनासो


१ माघ, वीरगञ्ज । भारतीय रेल निगमले रक्सौल यार्डमा क्लिंकर लोड/अनलोड गर्न नदिने समस्या यथावत छ । यो समस्या समाधान हुन नसकेकोका कारण नेपालका सिमेन्ट उद्योगीहरु चिन्तामा छन् । रक्सौल रेल्वे यार्ड हुँदै क्लिङकर ल्याएर बारा पर्सा क्षेत्रका १३ वटा सिमेन्ट उद्योग सञ्चालन हुँदै आएको छ ।

डिसेम्बर २२ तारिख अघि बुकिङ भइकेर बाटोमा अलपत्र परेका क्लिकरका र्‍याकहरु आएपनि त्यसपछि वीरगञ्ज नाका हुँदै क्लिङकर आउन सकेको छैन् ।

रक्सौलका बासिन्दाले रक्सौलमा क्लिङकर लगायत सिमेन्ट उद्योगका कच्चा पदार्थका कारण प्रदुषण बढेको भन्दै विरोध जनाएपछि समस्या समाधानका लागि भारतले एकपक्षीय रुपमा रक्सौल र्‍याडमा क्लिङकर लगायतका औद्योगिक कच्चा पदार्थ आयातमा रोक लगाएको हो ।

नेपालमा विकास निर्माणको कार्यमा तिव्रता आएपछि सिमेन्ट उद्योग फष्टाउँदै गएको थियो । जसले गर्दा पछिल्लो समय महिनाको १५ देखि २० र्‍याक क्लिङकर रक्सौल यार्ड हुँदै आईरहेको तथ्याङ्कले देखाउँछ ।

चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज भन्सार नाका हुँदै ४ लाख ४ हजार १ सय ४ मेट्रिक टन क्लिङकर आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।

‘क्लिङकर आयात क्रमशः बढ्दै गएको देखिन्छ, त्यसको व्यवस्थापनका लागि नेपालमा नीजि क्षेत्रकै बन्दरगाह भयो भने राम्रो हुन्छ ।’ उनले भने ‘ त्यसको नेतृत्व नीजि क्षेत्रले लिन सक्नुपर्छ, माथिल्लो निकायमा हामी पनि पहल गर्छौं ।’

वीरगञ्ज भन्सार कार्यालयका अनुसार अघिल्लो वर्ष आव ०७३/७४ को पाँच महिनामा ३ लाख ९७ हजार ९५ मेटि्रक टन क्लिङकर आयात भएको छ ।

भारतीय रेल्वे निगमले भारतीय कन्टेनर निगम लिमिटेड कन्कोरसँग परामर्श गरी गत डिसेम्बर २२ तारिकमा क्लिङकरको कार्गो सिधै वीरगन्ज स्थित सुक्खा बन्दरगाहमा अनलोड हुने बताएको थियो । त्यसका लागि आवश्यक संरचना १५ दिनमा कन्कोरले सुख्खा बन्दरगाहमा आवश्यक प्रबन्ध मिलाउने बताएको थियो । तर त्यस्तो केहि हुन सकेको छैन ।

वीरगञ्ज उद्योग वणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले अचानक भारतीय पक्षले क्लिङकर आयात रोकेका कारण नेपाली व्यवसायीलाई करोडौंको नोक्सानी भईरहेको बताए ।

‘प्रदुषण नियन्त्रणको उपाय अबलम्बन गर्नुको साटो भारतीय पक्षले अचानक रक्सौल यार्डमा क्लिङकर आयात निर्यात रोकिदियो ।’ अध्यक्ष शर्माले भने, ‘ नेपाली सिमेन्ट उद्योगीलाईर् एकैपटक आईसियुमा राखेर मार्न खोज्नु गलत छ । ‘

शालिमार सिमेन्ट उद्योग प्रालिका सञ्चालक एवं उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का उपाध्यक्ष अशोक वैद्यले सिमेन्ट उद्योगमा देखिएको समस्या समाधानमा राज्यपक्ष गम्भिर नभएको बताए ।

‘सिमेन्ट उत्पादक संघले मेरै नेतृत्वमा भारतीय विदेश मन्त्रालयमा गएर ज्ञापनपत्र बुझाएर आईसकेको छ । भारतीय पक्ष रक्सौल यार्डमा प्रदुषण नियन्त्रणको मापदण्ड अपनाएर ६ महिनासम्म रक्सौल यार्ड खोल्न तयार छ, नेपालले एलओई दिने वित्तिकै आवश्यक पूर्वाधार तयार गरिदिन पनि उनीहरु तयार छन्,’ उद्योगी वद्यधले भने ‘भारतीय पक्षले आग्रह गरिरहेको छ तर नेपाली समस्या समाधानका लागि पक्ष गम्भिर देखिएको छैन् । जसले गर्दा हामी त मारमा परेका छौं ।’

नेपाली पक्ष गम्भिर नभएकै कारण अर्बौंकोे लगानी, हजारौंको रोजगारी र करोडौं राजश्व पनि गुमेको छ । १० औं हजार मजदुरको रोजगारी गुम्ने खतरा बढेको उनको भनाइ छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदिप केडियोले नेपाल सरकार सिमेन्ट उद्योगीको समस्यामा गम्भिर नभएको आरोप लगाए ।

‘रक्सौलमा ५ वर्षदेखि प्रदुषण नियन्त्रण हुनुपर्ने माग उठेको थियो, न त्यसको समयमै समाधान खोजियो न बैकल्पिक व्यवस्थाका लागि प्रयास भयो,’ उनले भने ‘वीरगञ्ज रक्सौल नाकामा हुने जामको समस्या होस वा क्लिङकर आयात लगायत विविध समस्या समाधानमा नेपाल सरकारले चासो दिइरहेको छैन ।’

भैरहवा र विराटनगर हुँदै क्लिङकर ल्याउँदा सिमेन्टको उत्पादन लागत अझै महंगो पर्ने उनको भनाई छ । ‘अहिले नै सिमेन्टको भाउ १ सय रुपैया बढी सकेको छ । स्थलमार्ग हुँदै ल्याउँदा लागत बढी पर्न जान्छ, सिमेन्टको भाउ अझै बढ्न सक्छ ।’

समस्या समाधान गर्ने अर्थ राज्य मन्त्रीको आश्वासन

क्लिंकर आयातलाई व्यवस्थित गर्नका लागि सरकार गम्भिर रहेको अर्थ राज्य मन्त्री उदय सम्शेर राणाले बताएका छन् । क्लिङकर आयातमा देखिएको समस्याका कारण पनि सिमेन्टको भाउ बढेको जानकारी आफूले पाएको बताउँदै बल्ल बल्ल भूकम्प पीडितको घर बन्न लागेको समयमा यस्तो समस्या लामो समयसम्म राख्न नहेन उनको भनाई छ ।

‘डष्टी कार्गोबाट पोलुसन हुन्छ, त्यसका लागि लङ टर्म र सर्ट टर्मको सोलुसन खोज्नुपर्छ,’ अर्थ राज्य मन्त्री राणाले भने ।

शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४२ औं साधरणसभाको उद्घाटन गर्न आईपुगेका राज्य मन्त्री राणाले क्लिङकर आयातमा देखिएको समस्या समाधानका लागि नेपाली र भारतीय दुवै तर्फका अधिकारीहरुसँग कुरा उठाउने आश्वासन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment