
३ माघ, काठमाडौं । एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ । एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको हो ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने कार्यदलका सुवासचन्द्र नेम्वाङले बताए ।
राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसँग पनि तालमेलपछि निर्णय गरिने नेम्वाङले जानकारी दिएका छन् ।
कुन प्रदेशमा कति सिट ?
प्रदेश नम्बर १ मा एकल बहुमत रहेको एमालेले माओवादीलाई महिलातर्फ एक सिट दिएको छ । बाँकी ६ सिटमा एमालेका मात्रै उम्मेदवार हुनेछन् । ८ मध्ये २ सिट भने कांग्रेसले एकल संक्रमणीय मतका आधारमा जित्नेछ ।
प्रदेश नम्बर २ मा एमालेले खुला सदस्य र माओवादीले महिला सदस्यमा उम्मेदवारी दिनेछन् । तीन नम्बर प्रदेशमा एकल बहुमत रहेको एमालेले माओवादीलाई खुला सदस्य एक सिट दिएको छ । अरु ५ सिटमा एमालेका उम्मेदवार हुनेछन् । एक महिला र एक खुलामा कांग्रेसले जित्ने भएकाले भागबण्डा गरिएको छैन ।
प्रदेश नम्बर ४ मा एमालेले ४ र माओवादीले २ सिट बाँडेका छन् । एमालेले अपांग तथा अल्पसंख्यक सहित दुई खुला र १ महिला सिटमा उम्मेदवारी दिनेछ भने माओवादीले एक दलित सहित एक महिला सदस्यमा उम्मेदवारी दिनेछ ।
प्रदेश नम्बर ५ मा एमालेले अपांग तथा अल्पसंख्यक एक सहित ४ सिट पाएको छ भने माओवादीले दुई सिट पाएको छ । एमालेले २ खुला र एक महिलामा उम्मेदवारी दिनेछ । माओवादीले एक दलित र एक महिला सदस्यमा उम्मेदवारी दिनेछ ।
प्रदेश नम्बर ५ मा एमाले र माओवादीले आठै सिटमा उम्मेदवारी दिनेछन् । तीमध्ये ५ एमाले र ३ माओवादीले बाँडेका छन् । प्रदेश नम्बर ७ मा एमालेले ४ र माओवादीले २ सिट बाँडेका छन् । माओवदाीले एक खुला र एक आरक्षण सिटमा उम्मेदवारी दिनेछ ।
कुन प्रदेशमा कसको कति सिट ?
प्रदेश १ः एमाले ५ सिट, माओवादी १
प्रदेश २ः एमाले १ सिट,माओवादी १
प्रदेश ३ः एमाले ५ सिट, माओवादी १
प्रदेश ४ः एमाले ४ सिट, माओवादी २
प्रदेश ५ः एमाले ४ सिट, माओवादी २
प्रदेश ६ः एमाले ५सिट, माओवादी ३
प्रदेश ७ः एमाले ४ सिट, माओवादी २
प्रतिक्रिया 4