५ माघ, रौतहट । शितलहरले प्रभावित रौतहटको गढीमाई नगरपालिकाको विभिन्न स्थानमा पुगेर डा. गोबिन्द केसीले राहत वितरण गरेका छन् । साथै, उनले दलित तथा गरिबको निःशुल्क उपचार समेत गरेका छन् ।
बिहीबार अचानक रौतहटको समनपुर आएका डा. केसीले सुन्दरपुर, हरैया तथा लक्ष्मीपुरका स्थानियका घर घरमै पुगेर विपन्न परिवारलाई न्यानो कपडा, कम्बल तथा खानेकुरा बाडेका हुन् ।
शितलहरले २० जनाभन्दा बढीको ज्यान गएको सुनेपछि आफूले राहत बोकेर आएको केसीले बताए ।
मुसहर बस्तीमा उनले झण्डै १५० थान कम्बल बाडेका छन् ।
‘मधेशमा बसोबास गर्नेहरुको शारीरिक अवस्था हिमालमा बस्नेको जस्तो चिसोसँग अभ्यस्त छैन । त्यसैले यहाँ एक्कासि बढेको चिसोले वृद्ध तथा पुराना रोगीलाई मृत्युको मुखमा पुर्याइरहेको छ’, डा. केसीले भने, ‘ग्लोबल वार्मिङ्गको असर होला, गर्मी हुने क्षेत्रमा ३ सातादेखि हुस्सु र कुहिरो लागेको छ । हामी काठमाण्डौंबाट आएकालाई समेत यहाँ निकै चिसो महशुस भएको छ ।’
बिहीबार साँझबाट डा. केसीले समनपुरको स्वास्थ्य केन्द्रमा बिरामीहरुको निःशुल्क चेकजाँच र औषधि उपचार शुरु गरेका छन् ।
शुक्रबार पनि बिहानैदेखि डा. केसीको समूहले स्थानीयको स्वास्थ्य परिक्षण गरिरहेको छ भने निःशुल्क औषधी समेत वितरण गरिएको छ ।
प्रतिक्रिया 4