Comments Add Comment

विद्यासुन्दरलाई विज्ञ समूहको सुझावः रानीपोखरीलाई पैसा कमाउने पार्क नबनाऊ

७ माघ, काठमाडौं । रानीपोखरीको पुननिर्माणमा देखिएको विवाद सुल्झाउने गरी गठन भएको विज्ञ समितिले रानीपोखरीको पुनर्निर्माण पैसा आर्जन गर्ने उद्देश्यका साथ नगर्न सिफारिस गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई बुझाइएको प्रतिवेदनमा रानीपोखरी प्रताप मल्लकै पालाको जस्तौ शैली र प्रविधिमा निर्माण गर्न सुझाव दिइएको छ ।

मेयर शाक्यले रानीपोखरीमा पार्क बनाउने र त्यहाँ वरपर कफी सप खोल्ने योजना ल्याएका थिए । तर, विज्ञ समूहले रानीपोखरीलाई व्यवसायीकरण नगर्न सिफारिस गरेको छ ।

विज्ञ समितिका संयोजक तथा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीकाअनुसार प्रतिवेदनले जंगबहादुरको पालामा पुनर्निर्माण गर्दा प्रयोग गरिएका शैली र प्रविधि पनि प्रयोग नगर्न सिफारिस गरेको छ ।

रानीपोखरीको पुननिर्माणका क्रममा महानगरपालिकाले पानी रोक्न भन्दै क्रंकिट प्रयोग गरेपछि त्यसको तीव्र बिरोध भएको थियो । त्यसलाई सुल्झाउन गठन भएको विज्ञ समूहले आफ्नो प्रतिवेदनमा कंक्रिटको प्रयोग गर्दै नगर्न सुझाव दिएको छ । बरु यसअघि प्रयोग भएका गल्तीलाई सच्याएर पुरानै स्वरुप र शैलीमा निर्माण गर्न सिफारिस गरेको छ । |

प्रतिवेदन बुझ्दै मेयर शाक्यले प्रतिवेदनको सिफारिसलाई पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणसँग बसेर कसरी लागू गर्ने भन्ने निर्णय लिने बताए ।

पोखरी र यसको बीचका रहेको बालगोपालेश्वर मन्दिरको प्रताप मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमै निर्माण गर्न विज्ञहरुको समितिले सिफारिस गरेको छ ।

पोखरी र मन्दिर जंगबहादुर राणा र जुद्धसमशेर राणाको पालामा पनि केही परिवर्तन भएकाले त्यसलाई हटाएर मल्लकालकै शैलीमा पुनर्निर्माण गर्न समितिले सुझाव दिएको छ ।

अहिले पुनर्निर्माणका लागि जथाभावी प्रयोग गरिएका कंक्रिटहरु हटाउन पनि सिफारिस गरिएको कार्कीले जानकारी दिए । साथै रानीपोखरी वरपर निर्माण गरिएका स-साना घर-टहरा लगायतका भौतिक संरचनाहरु पनि हटाउने सिफारिस गरिएको छ ।

समितिको प्रतिवेदनमा पोखरीमा पानी टिकाइराख्नका लागि विज्ञ सम्मिलत अध्ध्यन समिति बनाउने, रानीपोखरीभित्रका धारा र इनारहरुलाई पुनस्र्थपित गर्ने, चारकुनामा रहेका विभिन्न मन्दिरहरुलाई कम्पाउण्डभित्र समेट्ने सिफारिस गरेको छ ।

रानीपोखरीमा रहेको सेता हात्तीको मूर्तिमा हटाएर पथ्थरलाई नै दुरुस्त राख्न समितिले सिफारिस गरेको छ । रानीपोखरी मन्दिर जाने पुलको पर्खालबाट पनि क्रंक्रिट हटाएर प्रताप मल्लकै पालाको जस्तो इट्टाबाट निर्माण गर्न सुझाव दिएको छ ।

प्रतिवेदनको सारसंक्षेपः

-रानीपोखरीको अवस्था र स्थितिलाई पत्ता लगाएर परम्परागत स्वरुपमा जीर्णोद्वार गर्न थप पुरातात्विक अध्ययन एवं अनुसन्धान गर्ने ।

– पोखरीमा पानी टिकाउन ‘हाइड्रोलोजिस्ट को सेवा उपलब्ध गराउने ।

-पुरातात्विक उत्खननबाट पोखरीमा परम्परागत रुपमा सञ्चालन गरिएका पानीका स्रोतहरुको अनुसन्धान गर्ने र पोखरीमा पानी प्रवेश गराउने इनलेट र आउटलेटको खोजी गर्ने ।

-पोखरीको मौलिक स्वरुप र संवेदनशीलतालाई प्रतिकुल प्रभाव पर्ने गरी निर्माण भएका संरचना र कंक्रिट रिटेनिङ वालको संरचना हटाएर परम्परागत स्वरुप बमोजिमको निर्माण गर्ने ।

-पोखरीको केन्द्रविन्दुमा रहेको बालगोपालेश्वरको जगको अवस्थिति पत्ता लगाउन पुरातात्विक उत्खनन् गर्ने ।

-बालगोपालेश्वर मन्दिरसम्म जाने बाटोको रुपमा निर्माण भएको पुलको जीर्णोद्वार गर्ने र पुलमा लगाईएको बार परम्परागत शैलीमा निर्माण गर्ने । पुलको फाउण्डेसन एवं सोमाथिको गाह्रो जीर्णोद्वार गर्ने ।

-बालगोपालेश्वर मन्दिरमा राखिएका मकराकृति धाराहरु मध्ये नयाँ स्वरुपमा निर्माण गरिएका दुई वटा धाराहरु हटाउने र एकरुपता त्याउन पुरानो बमोजिमको शैलीमा निर्माण गर्ने ।

-पोखरीको जीर्णोद्धार गर्न आवश्यक परिमाणमा प्रतापमल्लकालीन गुणस्तरका ईंट्टाहरुको निर्माण र ब्यबस्थापन गर्ने ।
-रानीपोखरीको समग्र जिर्णोद्वार गर्ने ड्रइङ, डिजाईन गर्ने ।

-रानीपोखरीको ऐतिहासिक एवं पुरातात्विक स्वरुप नासिने गरी निर्माण भएका संरचनाहरु हटाई पुरानै स्वरुपमा निर्माण गर्ने ।
-हाल पोखरीको पूर्व र दक्षिणतर्फको आधाभागसम्म निर्माण गर्दा काटिएको पोखरीको डिललाई बचाउने ।

-पोखरीको संकलित पानी स्थायित्वका लागि आवश्यक प्राविधिक उपायहरु अवलम्बन गर्ने ।

-जीर्णोद्वार पश्चात् पोखरीको पुरातात्विक एवं ऐतिहासिक वातावरण कायम राख्ने ।

-रानीपोखरी स्थित चारैकुनामा निर्मित मन्दिरहरुलाई रानीपोखरीको हाताभित्र पार्ने र तिनको आवश्यक जीर्णोद्वार गरी परम्परागत सांस्कृतिक एवं धार्मिक कृयाकलापहरु सुचारु गर्ने ।

-रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा सञ्चालन हुने वाषिर्क भाईटीका जस्ता कार्यक्रमलाई जीवन्तता प्रदान गर्ने ।

-रानीपोखरीको उत्तरतर्फ निर्माण भएका भवनहरु हटाएर परम्परागत रुपमा संचालन भई आएको चांगुनारायणको कलश यात्रा विश्रामस्थल भएको ठाउँको सम्पदालाई मर्मत संभार गरी सोको सांस्कृतिक महत्वलाई अभिबृद्धि गर्ने ।

-प्रतापमल्लसहित दुई छोरा आरोहण भएको हात्तीमा पोतिएको सेतो चुना हटाई मौलिक स्वरुपमा कायम गर्ने ।

-उक्त हात्तीको पूर्वतर्फ निर्मित शिव मन्दिरको सुधार एवं नित्यपूजा सञ्चालनमा ल्याउने ।

-वर्षादको पानी पोखरीमा संग्रह गर्ने प्रविधि सहितको स्रोत व्यवस्थापन गर्ने ।

-नगरपालिकाले बनाएको भोटाहिटीको सब-वेमा प्राप्त भएको पानीको स्रोत पोखरीमा परिचालन गर्ने सम्बन्धमा अनुसन्धान गर्ने ।

-रानीपोखरी हाल बाटोको सतहभन्दा १९ फिट तल रहेको हुंदा सोभन्दा मुनीको सतहमा रहेको पानी सुक्नबाट जोगाउन अन्य कृतिम माध्यमद्वारा कम्तिमा १००० मिटर वरपर डिप टि्वबेल जस्ता पानी निकाल्ने प्रविधिलाई प्रयोगमा निषेध लगाउने र हाल भैरहेका त्यस्ता कार्यहरु निरुत्साहित गर्न नीति बनाउने ।

-पोखरीमा जमेको पानी शुद्धताका लागि समय-समयमा पानी परीक्षण स्वच्छताका लागि अन्य आवश्यक उपायहरुका लागि विशेषज्ञहरुको राय परामर्श लिने र काम गर्ने ।

-पोखरीको पानीको प्राकृति शुद्धता कायम राख्न गरिने माछापालन तथा राजाहांस पाल्ने ।

-पोखरीको पानी तथा वरपरीको बगैंचाको सुन्दरता कायम राख्न दैनिक सरसफाई गर्ने ।

– रानीपोखरीको व्यवस्थापनका लागि नागरिकको पहुँचलाई सुगम तुल्याई यस पोखरीको दीगो व्यवस्थापनका लागि कायम राख्न आम्दानीको स्रोत व्यवस्थापन गर्ने । तर, पोखरीलाई पैसा आर्जनको स्रोत नबनाउने ।

हेर्नुस् प्रतिवेदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment