+
+

दाङमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः ६ वर्षदेखि अध्ययनमै सीमित

पाण्डव शर्मा पाण्डव शर्मा
२०७४ माघ ९ गते ८:३१
दाङकाे तुलसीपुरमा विमानस्थल भए पनि नियमित उडान भने हुने गरेकाे छैन ।

९ माघ, घोराही । दाङको नारायणपुरमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल योजना बनेको ६ वर्ष बितिसक्दा समेत अध्ययनमै सीमित छ ।

सरकारले हालसम्म विमानस्थलको अध्ययनमा मात्र बजेट विनियोजन गरिरहेको छ । विमानस्थल निर्माणस्थलको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टसहितको प्राविधिकहरुको टोलीले १० माघ ०६८ मा अध्ययन गरेको थियो । त्यसपछि अध्ययन टोली पटक–पटक आए पनि निर्माण शुरु हुन सकेको छैन ।

सरकारले आलु आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकनका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । ‘चालु आवमा अध्ययनबाहेक अन्य कुनै शीर्षकमा बजेट विनियोजन भएको छैन,’ नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले भने ।

१० चैत ०६८ मा बीडीए कन्सल्टेन्सी काठमाडौंका प्राविधिकहरुले गुर्जेखोलादेखि पश्चिम हापुर खोलासम्म र उत्तर मावि निघुवारदेखि दक्षिण घोराही–तुलसीपुर सडकसम्म सर्वे गरेका थिए । उक्त क्षेत्रमा रहेको १७ सय ७५ विघा १९ कठ्ठामा सम्भाव्यता अध्ययन गरिएको थियो ।

त्यसमध्ये करिब ६ सय ५० विघा सरकारी जग्गा हो । ६ किलोमिटर लम्बाइ र साढे तीन किमि चौडाइको उक्त जमिन विमानस्थलका लागि उपयुक्त रहेको प्राविधिकहरुको निष्कर्ष थियो ।

‘मन्त्रालयमा रोकियो फाइल’

विमानस्थलका लागि त्रिपुर–५ को चागु, बरुवागाउँ, ३ को खैरी, २ को अमराई, चारबगिया, धैरेनी, १ को लमबरुवा र साविक हापुर गाविसको केही भागमा नापी कार्यालयका अमिनमार्फत् जग्गा नाप–जाँचसमेत भइसकेको छ । स्थानीय स्तरमा विमानस्थल निर्माण सहयोग समिति पनि गठन भएको छ ।

शुरुमा आफूहरु उत्साहित भए पनि सरकारले चासो नदिँदा निरास बनेको समितिका अध्यक्ष भक्तिराम शर्माले बताए । ‘६ वर्ष भइसक्यो, अहिलेसम्म अध्ययन गरिरहेका छौं भन्छन् । कहिले बन्छ, थाहा छैन,’ शर्माले भने, ‘मन्त्रालयमा बुझ्दा फाइल रोकिएको जानकारी पाएका छौं ।’

सुरक्षाको दृष्टिबाट दाङमा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त भएको शर्माको भनाइ छ । ‘विमानस्थल निर्माणका लागि प्रस्तावित दाङ उपत्यका भारतसँग जोडिएको छैन,’ उनले भने, ‘यहाँ जाडो समयमा धेरै हुस्सु लाग्दैन, वर्षात्मा पनि मौसम त्यति खराब हुँदैन । जुनसुकै मौसममा पनि विमानहरु अवतरण गर्न सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?