Comments Add Comment

सार्पसुटर गोम्बेः जसले तीन ठूला गोलीकाण्ड मच्चाए

सेनाका भगौडा ‘गोम्बे’ लाई सीआइबीले टेकुमा बुझायो

९ माघ, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्ने मुख्य सुटर श्यामबहादुर गुरुङ ‘गोम्बे’ को थप दुई ‘गोलीकाण्ड’ मा प्रत्यक्ष संलग्नता रहेको खुलेको छ ।

गोम्बेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार भरतपुर महानगरपालिका–१३, चम्पानगरबाट पक्राउ गरेपछि नयाँ रहस्य बाहिर आएको हो ।

सीआईबील गोम्बेलाई मंगलबार महानगरीय प्रहरी परिसर, टेकुमा बुझाएको छ ।

गुरुङलाई पक्राउ गरेपछि एक विज्ञप्ति जारी गर्दै सीआईबीले गोम्बे ४ पुस ०७३ मा रुपन्देहीको देवदहमा गोली हानी हत्या गरिएका दुर्गा तिवारीको घटनामा समेत ‘प्रत्यक्षरुपमा संलग्न’ भएको बतायो । यद्यपि, कस्तो संलग्नता हो भन्नेबारे सीआईबीले खुलाएको छैन ।

तर, गौचन हत्याकाण्डको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार गत वर्ष रुपन्देहीमा तिवारीको हत्यामा प्रयोग भएका सुटर र २३ असोजमा काठमाडौंमा निर्माण व्यवसायी गौचनको हत्या गर्ने सुटर एकै हुन् । ती अधिकारीका अनुसार दुवै घटनामा गोम्बे सुटरका रुपमा प्रयोग भएका छन् ।

आर्मीका भगौडा गोम्बेको सुटरको रुपमा अपराधिक क्रियाकलापमा संलग्नता त्यतिमा मात्र सीमित छैन । स्रोतका अनुसार २९ चैत्र ०७३ मा गुण्डा नाइके दावा लामामाथि गोली प्रहार गर्ने व्यक्ति समेत उनै हुन् ।

गौरीघाटस्थित दिव्या पार्टी प्यालेसमा एकाबिहानै दावालाई गोली प्रहार गरिएको थियो । दावालाई गोली प्रहार गरिएलगत्तै तत्कालीन महानगरीय प्रहरी परिसरका एसएसपी छविलाल जोशीलाई टेलिफोन गर्दै एक व्यक्तिले भनेका थिए, ‘मैले नै गोली हानेको हुँ ।’

त्यसवेला जोशीलाई फोन गर्ने गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यात समूहका लोप्साङ लामा भएको प्रहरी स्रोत बताउँछ । जो गौचन हत्याकाण्डमा समेत संलग्न छन् । र, उनी अहिले प्रहरीको ‘वान्टेड’ सूचीमा छन् ।

यसरी पक्राउ परे गोम्बे

बाराको गढीमाई नगरपालिका–१, पथलैया घर भएका ३२ वर्षीय गोम्बे इलामको कालीध्वज गणबाट भागेका भगौडा आर्मी हुन् । उनलाई प्रहरीले केही समयदेखि खोजी गरिरहेको थियो ।

गौचनलाई गोली प्रहार गर्न शिवजी महतोले भारतबाट ५५ हजार रुपैयाँमा हतियार खरिद गरी गोम्बेलाई बिक्री गरेको यसअघि प्रहरीले खुलाइसकेको छ । गोम्बेले त्यो हतियार ६५ हजार रुपैयाँमा खरिद गरेका थिए ।

आइतबार रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्यामा संलग्न हतियार व्यवस्थापक दुईजनालाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरुलाई समेत प्रहरीले गोम्बेलाई खोजीको आधार बनायो ।

सोही क्रममा सीआईबीले गोम्बे चितवनमा बसेको सुरारी पायो । र, गोम्बेलाई पक्राउ गर्न सीआईबीले टोली परिचालन गर्‍यो । सोही क्रममा उनी सोमबार भरतपुर–१३, चम्पानगरस्थित डेरामा बसिरहेको कोठाबाट गोम्बे पक्राउ परे ।

प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा कुमार घैंटेले गौचनको डाँफे कन्स्ट्रक्सनमा लगानी गरेको दुई करोड ५० लाख रुपैयाँ मध्ये १ करोड आफ्नो भएको दाबी घटनाका मुख्य योजनाकार समिरमानसिंहको थियो । र, सोही रकम नदिँदा गौचनको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment