Comments Add Comment

राष्ट्रियसभामा प्रदेश १ बाट मन्त्रीदेखि उद्योगीसम्म उम्मेदवार

१० माघ, विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा ८ पदका १२ जनाको उम्मेदवारी परेको छ । चार राजनीतिक दलका १२ जनाले बुधबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनको तर्फबाट ७ जना, कांग्रेसबाट ४ जना र राप्रपाबाट १ जनाको उम्मेदवारी परेको छ ।

सहायक निर्वाचन अधिकृत नवराज दुलालका अनुसार खुल्लातर्फ वाम गठबन्धनबाट हरिचरण शिवाकोटी, परशुमेघी गुरुङ र खड्बबहादुर वस्नेतको उम्मेदवारी परेको छ ।

महिलातर्फ नैनकला ओझा र विना पोखरेल, दलितमा खेम नेपाली र अल्पसंख्यकमा अगम बान्तवाको उम्मेदवारी परेको छ । जसमा विना पोखरेल माओवादी केन्द्रका हुन् भने अरु एमालेका हुन् ।

नेपाली कांग्रेसबाट खुल्ला सदस्यमा रमेशजंग रायमाझी, महिलामा सरिता प्रसाई, अल्पसंख्यकमा महेश जाजु र दलितमा विनकुमार विश्वकर्माले उम्मेदवारी दिएका छन् । राप्रपाको तर्फबाट अल्पसंख्यकमा अनुपमादेवी साहको उम्मेदवारी परेको छ ।

राष्ट्रियसभामा प्रदेशबाट खुल्ला ३, महिला ३ दलित १ र अपाङ्ग एवं अल्पसंख्यक १ गरी ८ जना निर्वाचित हुनेछन् । प्रदेश १ मा ९३ जना प्रदेश सांसद र २६४ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३ सय ६७ मतदाता रहेका छन् । संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको सवारी दुर्घटनामा परी हालै मृत्यु भएकाले मतदाता संख्या ३ सय ६६ हुनेछ ।

को उम्मेदवार कस्ता ?

राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिनेमा वहालवालामन्त्री, पूर्व कर्मचारी र उद्योगीसमेत छन् । नेपाली कांग्रेसबाट खुला सदस्यमा उम्मेदवारी दिने सरिता प्रसाई कृषि राज्यमन्त्री हुन् ।

यसअघि उनी संविधानसभामा समानुपातिक पद्धतिबाट संासद थिइन् । ५० वर्षीया प्रसाई महिला संघ, तरुण दलको केन्द्रीय सदस्य हुँदै हाल कांग्रेसको केन्द्रीय सदस्य छिन् ।

अल्पसंख्यकतर्फबाट उम्मेदवार उद्योगी महेश जाजु कांग्रेसको राजनीतिमा भन्दा पनि व्यवसायिक क्षेत्रमा परिचित व्यक्ति हुन् । एसियन थाई फुण्डका सञ्चालक जाजु २०७० सालको संविधान सभा निर्वाचनमा उनको नाम समानुपातिक सूचीमा रहे पनि सांसद हुन सकेका थिएनन् ।

मोेरङ व्यापार संघको अध्यक्षसमेत रहेका उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्दि्रय सदस्य समेत भएका थिए ।

वाम गठबन्धनबाट महिलातर्फ उम्मेदवार नैनाकला ओझा २०५६ देखि ०५९ सालसम्म जिल्ला विकास समिति मोरङको सदस्य थिइन् । ताप्लेजुङ खोक्लिङमा जन्मिएकी ६१ वर्षीया ओझा हाल एमालेको १ नम्वर प्रदेश कमिटी सदस्य छिन् ।

वाम गठबन्धनबाट दलित सदस्यका उम्मेदवार खेम नेपाली विराटनगर महानगरपालिकाको नायव सुब्बा पदमा कार्यरत थिए । उनले गएको पुस १६ गते राजीनामा दिएका थिए । ५४ वर्षीय नेपाली एमालेको १ नम्बर प्रदेश कमिटी सदस्य हुन्।

वाम गठबन्धनबाट खुला सदस्यका उम्मेदवार ७० वर्षीय हरिचरण शिवाकोटी २०४६ सालको जनआन्दोलनमा वाम मोर्चाको कमाण्डर बनेका थिए । खुलातर्फकै उम्मेदवार संखुवासभाका पर्शुमेघी गुरुङ यसअघि दुई पटकसम्म प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् ।

वाम गठबन्धनबाट अल्पसंख्यक उम्मेदवार एमालेका पुराना नेता इलामका अगम बान्तवा हाल केन्द्रीय अनुशासन आयोगका सदस्य छन् ।

महिला सदस्यकी उम्मेदवार विना पोखरेल काफ्ले हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार छिन् । उनी माओवादी केन्द्रको प्रदेश १ का संयोजक सावित्रीकुमार काफ्लेकी श्रीमती हुन् ।

नेपाली कांग्रेसका तर्फबाट खुला सदस्यका उम्मेदवार रमेशजंग रायमाझी सुन्दर हरैंचा नगरपालिकाका वासिन्दा हुन् । उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

पहिलो संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए । उनी नेता खुमवहादुर खड्का निकट मानिन्छन् ।

दलित सदस्यका उम्मेदवार विनकुमार विश्वकर्मा झापा अर्जुनधारा ४ का वासिन्दा हुन् । नेविसंघबाट राजनीति शुरु गरेका उनी पार्टीको केन्द्रीय सचिवालयको सचिव समेत भएका थिए । हाल उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment