
११ माघ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले अब बन्ने नयाँ सरकारलाई जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको फोन विशिष्ट सम्बन्धको संकेत भएको बताए ।
रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित साक्षात्कारमा भारतीय राजदूत पुरीले भने, ‘भारत नेपालमा अब बन्ने नयाँ सरकारसँग सुमधुर र प्रगाढ सम्बन्ध राखेर जान चाहन्छ । यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाइसक्नुभएको छ । निर्वाचनपछि मोदीले तीनै दलका शीर्ष नेताहरुसँग टेलिफोन वार्ता गरेको स्मरण गर्दै उनले भने, ‘यो बीचमा उहाँले दोहोर्याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो । यो पनि विशिष्ट सम्बन्धको संकेत हो ।’
राजदूत पुरीले भारत नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताए । आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनको लागि दुवै तर्फबाट सहकायलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएका छन् ।
साथै नेपाल र भारतले एक-अर्काबीच विन-विनको आधारमा आर्थिक सहकार्यलाई अगाडि लैजानुपर्ने उनले बताएका छन् ।
वीरगञ्जमा देखिएको सीमा विवादबारे सोधिएको प्रश्नमा राजदूत पुरीले भने,’नेपाल र भारतबीच १९९८ मा सीमा सम्झौता भएको थियो र दुवै देशवीचका सबै सीमा नाकाहरुमा सीमांकन र स्टि्रप म्याप सबै बोर्डहरुमा त्यही अनुसार लागू हुन्छ भनिएको हो । संयुक्त सर्वेका अनुसार पिलरहरु निर्धारण गरिएको छ ।’ यसबारे दुवै सरकारबीच छलफल हुने बताए ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाल-भारत सम्बन्ध विशिष्ट रहेको बताए । उनले भने, ‘हामीबीच द्धिपक्षीय सम्बन्ध जसरी विशिष्ट छ, त्यसैगरी भारतले सहयोग पनि विशिष्ट गर्नुपर्छ ।’
उनले नेपालमा विकासको कुरा गर्दा खोक्रो राष्ट्रवाद बाधक बन्ने गरेको बताए । उनले थपे, ‘यसले त सम्बन्ध बिगार्छ नि, असली राष्ट्रवाद बरु राम्रो छ, त्यतातर्फ हामीले माहोल र वातावरण बनाउनुपर्छ ।’
कांग्रेस नेता डा. प्रकाशशरण महतले नेपाल र भारतले एक अर्काबीचका संवेदनशीलतालाई बुझनुपर्नेमा जोड दिए । पूर्व परराष्ट्रमन्त्री महतले भने, ‘हामीले एक अर्काको संवेदनशीलतालाई बुझ्न सक्नुपर्छ र त्यही अनुसार चल्नुपर्छ ।’
एमाले सचिव प्रदीप ज्ञवालीले आउने सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने बताए ।
अब द्धिपक्षीय सम्बन्धका आयामहरु आर्थिक साझेदारी हुने उनले बताए । भारत र चीन दुवै देशसँग असल सम्बन्ध राख्ने भन्दै उनले भने, ‘हामी हाम्रो भूमि कसैका विरुद्धमा प्रयोग हुन दिँदैनौं, कतैतिर नढल्किने नै हो ।’
भारतका लागि पूर्व नेपाली राजदूत एवम् परराष्ट्रविद प्रा. लोकराज बरालले नेपाल र भारतवीच सम्बन्ध पूरानो माईण्डसेट अनुसार चल्न नहुने धारणा राखे । उनले भने ,’अहिले सिमाना मिचियो भनेर नाराबाजी गर्ने काम भएको छ, यस्तो गर्नु हुँदैन । यदि समस्या छ भनेपनि कूटनीतिक रुपमा हल गर्नुपर्छ ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4