Comments Add Comment

रहिनन् मिस हली ! जसले हिउँ नै नछोई नेपालका हिमालको उचाइ नापिन्

१२ माघ, काठमाडौं । हुन त उनी पर्वतारोही होइनन् । नेपालभन्दा सात समुद्रपारिकी उनी शायद सगरमाथाको शिखर त के, आधार शिविरसम्म पनि कहिल्यै पुगिनन् । तर, अमेरिकी नागरिक एलिजाबेथ हलीले नेपाली हिमालसँग गाँसेको साइनोको उचाइ नाप्ने हो भने सायद सगरमाथा भन्दा होचो नदाँजिएला ।

पर्वतारोहीको आरोहण यात्रा केही महिनामा सीमित हुन्छ ! तिनले छिचोल्नुपर्ने यात्रा खालि आधार शिविरदेखि चुचुरो, अनि चुचुरोदेखि शिविरसम्मको मात्र हो । तर, नेपालका हिमाली चुचुराहरूमा हलीको यात्रा ५० वर्षभन्दा बढी समयसम्म जारी रहृयो । सगरमाथा आरोहणभन्दा कम आँक्न मिल्ने मेहेनत र परिश्रम खर्च भएको छैन उनको यात्रामा ।

हिमालयन पर्वतारोहणकी अभिलेखकर्ता तथा हिमालयन रेेकर्ड किपरका रूपमा पहिचान बनाएकी यिनै अमेरिकी नागरिक मिस एलिजाबेथ हलीको ९५ वर्षको उमेरमा शुक्रबार बिहान काठमाडौँमा निधन भएको छ ।

एक अमेरिकी पत्रिकाको संवाददाताका रूपमा पहिलोपटक सन् १९६० मा काठमाडौँ उत्रिएकी थिइन् हली । काठमाडौँमा केही आरोहीहरूलाई भेट्नेवित्तिकै उनलाई लाग्यो कि यो नै उनले बस्न चाहेको ठाउँ हो । अनि उनले आफ्नो रिपोर्टिङको दायरालाई पर्वतारोहणमा खुम्च्याइन् । र, आफ्नो योजनालाई सकेसम्म सहज बनाउन उनी सानो अमेरिकी पत्रिका छाडेर रोयटर्सका लागि लेख्न थालिन् ।

सन् १९६३ मा एउटा अमेरिकी टोलीले सगरमाथाको आरोहण गरेपछि हलीले ती आरोहीहरूबारे सूचना संकलन गर्न थालिन् । केही समयमै उनले आफ्नो कामको दायरालाई बढाइन् र विभिन्न हिमालहरूबारे पनि सूचना सँगेल्न थालिन् । काठमाडौँ, डिल्लीबजारको उनको घरमा जाँदा काठका दराजमा फाइलका चाङ देखिन्थे । फाइलभित्र खोतल्ने हो भने उनले विभिन्न आरोहीसँग गरेका अन्तरर्वार्ताका टिपोटहरू भेटिन्छन्, उनकै हातले लेखेका लामालामा कागजका टुक्राहरू ।

सन् ९० को दशकमा उनलाई लाग्यो, अब आफ्नो सङ्ग्रहलाई डिजिटल बनाउनुपर्छ ताकि ती सबै सूचनापछिसम्म रहून् । त्यसैले आफूसँग भएका सबै सूचना कम्प्युटरमा इन्ट्री गर्न थालिन् हली । आफ्नो सूचना प्रणाली स्थापना गर्न करिब २० हजार घण्टा (जुन करिब ११ वर्ष बराबर हुन्छ ) लागेको उनको दाबी थियो । यसभन्दा अगाडि नै उनले सूचना सङ्कलनमा ४० वर्ष खर्चेकी थिइन् ।

हिमालयन पर्वतारोहणकी अभिलेखकर्ता तथा हिमालयन रेेकर्ड किपरका रूपमा पहिचान बनाएकी अमेरिकी नागरिक मिस एलिजाबेथ हलीको ९५ वर्षको उमेरमा शुक्रबार बिहान काठमाडौँमा निधन भएको छ

हलीको ‘द हिमालयन डाटाबेस’ मा आज नेपालका ३०० भन्दा बढी हिमालका ८० हजारभन्दा बढी आरोहणबारे सूचना छन् । नेपालका हिमाल आरोहणका सफलता तथा असफलता लगायतका विषयमा भएका कैयौँ अध्ययन अनुसन्धानमा उनका सूचना उपयोग भएका छन् । पर्वतारोही र यस क्षेत्रका सरोकारवालाहरूबीचकै भनाइलाई आधार मान्ने हो भने, “तिमी जोसुकै भए पनि मिस हलीले तिमी हिमाल चढ्यौ भनेर नस्वीकारेसम्म तिम्रो आरोहणको कुनै अर्थ छैन ।”

नेपालका हिमाल चढ्न आएका सबैलाई सम्भव भएसम्म भेट्ने हलीको उद्देश्य हुन्थ्यो । आरोहणमा जानुअघि र फर्किएपछि उनी तिनको अन्तर्वार्ता लिन्थिन् । कोही आरोहीका लागि आरोहणभन्दा पनि हलीको अन्तर्वार्ता बढी कठीन हुन सक्थ्यो किनकि उनी तिनलाई हरेक सानातिना कुरा बताउन लगाउँथिन्ः कति समय लाग्यो, कुन रुट अपनाइयो, बाटामा कोको भेटिए आदि ।

आरोहणबाट फर्किने हरेकले शिखरको फोटो नदेखाएसम्म उनी ती आरोहीले हिमाल चढे भनेर पत्याउन्नथिन् । यो अनवरत प्रक्रियामा उनको एक मात्र उद्देश्य थियोः आरोहणका सफलता, असफलता, साहस, दुर्घटना र मृत्युको कथा उतार्ने ।

‘हुन त हामी मिस हलीको योगदानलाई सकेसम्म बचाएर नै राख्नेछौँ । तर पनि उनको निधन भनेको हिमालयन आरोहणको क्षेत्रको एउटा दिग्गज खम्बाको अवसान हो,’ करिब दुई वर्षअघि हलीले ‘अवकाश’ घोषणा गरेपछि हिमालयन डाटाबेसका लागि काम गरिरहेकी बिल्ली बर्लिङले फेसबुकमा लेखेकी छिन् ।

हलीको डाटाबेस आफ्नो ठाउँमा रहला, उनीसँग बिताएका विभिन्न क्षणका सम्झना पनि धेरै नेपालीका मनमा ताजै छन् । ‘हलीको सबभन्दा राम्रो कुरा के थियो भने उनी सधैँ स्पष्ट वक्ता रहिन् र तथ्यको अभिलेखीकरणलाई जोड दिइन्,’ वरिष्ठ पत्रकार कनकमणि दीक्षित भन्छन्, ‘तथ्यविना आफ्ना विचार लाद्न उनको रुचि कहिल्यै रहेन । सन् ७० र ८०को दशमा नेपाललाई चिनाउन उनको ठूलो योगदान रहृयो । व्यक्तिगत रूपमा मैले उनबाट धेरै सिकेँ ।’

कहिल्यै हिमाल नचढेकी हलीजत्तिकै नजिकबाट नेपाली हिमाललाई चिन्ने आरोही सायदै कोही होलान् । ‘यदि कसैलाई हाम्रा हिमालबारे केही जानकारी चाहियो भने सिधै मिस हलीकहाँ गए पुग्थ्यो । उनीसँग नभएको जानकारी कसैसँग हुँदैनथ्यो,’ नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष जिम्बा जाङ्बु शेर्पा भन्छन् ।

आफू सानै हुँदादेखि नै मिस हलीलाई चिनेको दाबी गर्दै शेर्पा थप्छन्, ‘उनी कडा मिजासकी थिइन् । मान्छेले समयको पालना नगरेको तथा आवश्यक कुराको वास्ता नगरेको उनलाई मन पर्दैनथ्यो ।’

मिस हलीलाई नभेटी हिमाल चढ्न जाने आरोहीले विभिन्न समस्या भोग्ने सम्भावना रहन्थ्यो । विश्वप्रसिद्ध आरोही राइनोल्ड मेस्नरले अमेरिकी पत्रिका आटडसाइडलाई दिएको अन्तर्वार्तामा भनेका छन् कि मिस हली नभइदिएको भए अक्सिजन बोतल नलिइकन एक्लै सगरमाथा आरोहण गर्ने कीर्तिमान उनको नाममा रहने थिएन ।

सन् १९७९ मा नेपाल सरकारबाट आरोहण अनुमति लिन सङ्घर्षरत रहँदा मेस्नरले मिस हलीलाई काठमाडौँमा भेटेका थिए । यदि अक्सिजनबिना एक्लै सगरमाथा चढ्न नेपालले दिएन भने चीनतिरबाट त्यो प्रयास सम्भव हुने कुरा हलीले मेस्नरलाई सुझाएकी थिइन् । र, मेस्नरले त्यसै गरेर आफ्नो नाममा कीर्तिमान दर्ता गराएका थिए ।

मेस्नरका जस्ता कथा अन्य दर्जनौँ आरोहीसँग जीवितै छन् । आरोहणका क्षेत्रमा हलीले पुर्‍याएको योगदानलाई स्पष्ट पार्न ती विवरणहरू पर्याप्त छन् ।

प्रसिद्ध आरोहीदेखि नेपाली राजपरिवारका सदस्यसम्म हलीको सम्पर्क रहृयो । तर, पनि यस्तो लाग्छ उनी यहाँ रहँदा आफ्नै संसारभित्र हराइन् । आफ्नो घरको ढोका बाहिर के भइरहेको छ उनलाई कहिल्यै मतलब भएन । यत्रो वर्ष नेपाल बस्दा उनले नेपाली सिक्ने कुनै कष्ट गरिनन् । नुनतेल र तरकारी किन्न घर नजिकको पसल कहिल्यै चहारिनन् ।

नयाँ याममा पुराना र नयाँ हिमाल चढ्न अबको दुई महिनापछि संसारका कुनाकाप्चाबाट सयौँ आरोहीहरू नेपाल आउनेछन् । विभिन्न उमेर र रुचिका आरोहीले अब काठमाडौँ बसाइँमा मिस हलीको कडा अन्तर्वार्ताको सामना गर्नुपर्नेछैन । लाग्ला, बुढी मरिन्, आनन्दै भयो । तर, चिसो हिउँमा आफ्ना पाइला राखेसँगै उनीहरूलाई यी वृद्धाको याद आउनेछ, किनकि आफ्नो आरोहणको सफलतालाई ‘वैधता’ दिनका लागि मिस हली अब उनीहरूको साथमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment