हेर्दा राम्रो र सजिलोका लागि आफुखुसी कन्ट्याक्ट लेन्स प्रयोग गर्दा त्यसले आँखामा गंभिर समस्या निम्त्याउन सक्छ
चश्माको विकल्प हो, कन्ट्याक लेन्स । आँखाको पावर धेरै भएको अवस्थामा कन्ट्याक्ट लेन्स प्रयोग गर्नुपर्छ । कन्ट्याक्ट लेन्सको मद्दतले कुनै पनि कुरा प्रस्टसित देख्न मद्दत गर्छ । आँखाको पावर धेरै भएमा वा आँखाको पावर डिग्रीमा नापिएको अवस्थामा मात्र चिकित्सकहरु कन्ट्याक्ट लेन्सको प्रयोग गर्न सुझाव दिने गर्छन् ।
त्यसैगरी, शल्यकि्रया पछि आँखामा लेन्स नहालेको अवस्थामा चिकित्सकहरु कन्ट्याक्ट लेन्स प्रयोग गर्न सुझाव दिने गर्छन् । तर, अहिले अन्धधुन्द कन्ट्याक लेन्स लगाउने लहड छ । यो लहड किनपनि चलेको छ भने, कन्ट्याक्ट लेन्स लगाएपछि हेर्दा सुन्दर, लगाउँदा आर्कषक तथा लगाएको थाहा हुँदैन । अर्थात आँखालाई अतिरिक्त भार परेको अनुभव हुँदैन ।
विभिन्न रङ तथा आकारमा पाइने यस्ता लेन्सले आँखाको सौन्दर्य बढाउनुका साथै आँखालाई बेग्लै लुक्स दिन्छ । सतही रुपमा यो बुझाई ठिकै होला । तर, हेर्दा राम्रो र सजिलोका लागि आफुखुसी कन्ट्याक्ट लेन्स प्रयोग गर्दा त्यसले आँखामा गंभिर समस्या निम्त्याउन सक्छ । तिलगंगा आँखा अस्पतालका जनरल अपथेल्मोलोजिस्ट डा. होम बहादुर गुरुङ यसै भन्छन् ।
गुरुङ थप्छन्,’ विशेष प्रयोजनका लागि निर्माण गरिएको यस्ता लेन्सले केही समयका लागि आँखालाई आर्कषक त देखाउँछ । तर यसले दीर्घकालीन रुपमा भने आँखालाई फाइदा भन्दा बेफाइदा गराउँछ ।’
यस्ता लेन्सको प्रयोग तत्कालका लागि कस्मेटिक प्रयोजनमा तथा नजिकको कुरा स्पष्ट हेर्नका लागि उपयोगी हुने भएपनि यस्ता लेन्सलाई राम्ररी सफा नगरेको अवस्थामा आँखामा संक्रमण हुनसक्ने, राम्ररी लगाउन नजानेमा आँखाको नानीमा घाउ लाग्ने सम्भावना धेरै हुने गर्दछ । त्यस्तै, आँखाको नानीमा दाग बसेमा आँखामा संक्रमण हुनुका साथै दृष्टी गुम्ने सम्मको खतरा हुने चिकित्सकहरुको चेतावनी छ ।
लेन्सको फाइदा
-कसमेटिक्सको रुपमा प्रयोग गर्न सकिने
-सफा देखिने
बेफाइदा
– महँगो
-दिनदिनै सफा गर्नु पर्ने
-सानो भएकोले हराउने खतरा बढी हुने
-फोहर ठाउँमा लगाउन मिल्दैन
-आँखा सम्बन्धि विभिन्न समस्याहरुमा लगाउन नमिल्ने
-वायु प्रदुषणमा लगाउन नमिल्ने
-आँखामै टासिएर बस्ने हुदाँ विशेष ध्यान दिनु पर्ने
यस्ता लेन्स प्रयोग गर्दा निकै सजग रहन डा. गुरुङ्ग सल्लाह दिने गर्छन् । भन्छन्,’यस्ता लेन्स जुनसुकै रङकोे प्रयोग गर्न सकिन्छ । तर हरेक पटक प्रयोग गर्दा यी निम्न कुरामा विशेष ध्यान दिनु पर्छ ।’
कन्ट्याक्ट लेन्स प्रयोग गर्दा निम्न समस्या देखिएमा तुरुन्त चिकित्सककहाँ सुझाव लिनैपर्छ ।
-लेन्स लगाउँदा आँखा रातो भएमा
-चिलाएमा
-विझाएमा
-आँखा सुख्खा भएमा
-आँखाको नानीमा संक्रमण भएमा
-आँखामा चोटपटक लागेमा
जान्नैपर्ने कुरा
१. कन्ट्याक्ट लेन्स चस्माको बिकल्प हो ।
२. कन्ट्याक्ट लेन्स स्टाइल वा सजिलोको लागि होइन, विशेष अवस्थाका लागि हो । त्यसैले जथामावी प्रयोग गर्दा आँखामा बेफाइदा गर्छ ।
३. कस्मेटिक्स प्रयोजनका लागि कन्ट्याक्ट लेन्स बनाइने गरिएको छ ।
४. सही ढंगले प्रयोग नगर्दा आँखाको नानीमा असर गर्न सक्छ ।
५. लेन्स प्रयोग गरेपछि त्यसको सरसफाई निकै सावधानीपूर्वक गर्नुपर्छ, अन्याथा संक्रमण हुनसक्छ ।
प्रतिक्रिया 4