Comments Add Comment

वीरगञ्ज बन्दः अरुलाई सास्ती, टाँगालाई मस्ती

२१ माघ, वीरगञ्ज । बन्द हडतालले धेरैलाई मर्का नै पर्छ । तर, बन्द हड्ताल कसै कसैका लागि कमाउने अवसर पनि भइदिन्छ ।

प्रदेश नं २ को प्रादेशिक राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग राखेर संघर्ष समितिले सोमबार बन्दहको आव्हान गर्‍यो । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन वीरगञ्जमा सञ्चालनमा रोक लगाइएको थियो ।

सवारीसाधन सञ्चालनमा नआएपनि विभिन्न ठाउँबाट आएका सर्वसाधरणलाई आफ्नो गन्तव्यमा जानुपर्ने भएकोले बिकल्प खोज्न थाले ।

बन्दकर्ताहरुले ई-रिक्सा मात्रै नभएर रिक्सासम्म सञ्चालनमा बेला बेलामा अवरोध गरेपनि टाँगा सञ्चालनमा रोक लगाएका थिएनन् । त्यसैको फाइदा उठाउँदै टाँगा चालकहरुले मनोमानी भाडा असुलेका छन् । बन्दले अरुलाई सास्ती भएपनि टाँगावालाहरुलाई भने पैसा कमाउने अवसर बनेको छ ।

उनीहरुले वीरगञ्जदेखि परवानीपुरसम्म पुर्‍याएवापत यात्रुहरुसँग प्रतिव्यक्ति १ सयदेखि २ सय रुपैयाँसम्म अशुलेका छन् । ‘सामान्य समयमा ई रिक्साले ३०/४० रुपैयाँ भाडा लिन्थ्यो ।’ एक महिलाले नाम नबताउने शर्तमा भनिन् ‘ आज टाँगा मात्रै पाईयो १ सय रुपैयाँ भन्दा कममा मान्दै मानेनन् । मौका छोपेर लुटेका छन् ।’

टाँगावालाहरुले भने जोखिम मोलेर यात्रुहरुलाई गन्तव्यमा पुर्‍याएकोले भाडा केही महंगो गरिएको प्रतिक्रिया दिएका छन् ।

बन्दका कारण सार्वजनिक सवारी साधन नचलेका कारण वीरगञ्ज हुँदै देशका अन्य भूभागमा जाने र आउने सर्वसाधरण यात्रुहरु भने मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment