Comments Add Comment

प्रदेश ४ मा मुख्यमन्त्रीको निर्णय माघ २८ गते

२८ गते एमालेले  संसदीय  दलको  नेता चयन गर्ने

प्रदेश ४ को प्रदेशसभा भवन

२१ माघ, पोखरा । नेकपा एमालको प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेता माघ २८ गते चयन गर्ने निर्णय गरेको छ ।

आइतबार पोखरामा बसेको बैठकले संसदीय दलको  नेता छान्न ३ सदस्यीय कमिटी पनि गठन गरेको छ । ‘२८ गते बैठक बसेर संसदीय दलको नेताको छान्ने प्रक्रिया सुरु गर्ने निर्णय भएको छ,’ सांसद किरण गुरुङले भने ।

एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीको अध्यक्षतामा अधिवक्ता सुरेन्द्र थापा मगर र कमल अर्याल सदस्य रहने गरी निर्वाचन कमिटी गठन भएको हो ।

भरसक सर्वसम्मतिबाट संसदीय दलको नेता छान्ने तर सहमति नजुटे निर्वाचन प्रक्रियामा जाने एमालेको योजना छ । एमाले संसदीय दलको नेता जो बन्छ, उही प्रदेश ४ को मुख्यमन्त्री बन्नेछन् । प्रदेशको ठूलो दल एमालेलाई मुख्यमन्त्री र गठबन्धनको माओवादीलाई सभामुख दिने गरी भागवण्डा मिलेको छ ।

एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार छन् । त्यसैले संसदीय दलको नेताका लागि उनीहरुबीच नै प्रतिस्पर्धा छ ।

‘मुख्यमन्त्री को बन्छ हामीले भन्ने होइन, त्यसको छनोट प्रक्रियाअनुसारै हुन्छ,’ सांसद पृथ्वी सुब्बा गुरुङले भने, ‘हामीबीच कुनै प्रतिस्पर्धा होइन, लोकतान्त्रिक अभ्यासमा आकांक्षा राख्न पाइन्छ ।’

पार्टी र संसदीय अभ्यासमा जो मुख्यमन्त्री भए पनि फरक नपर्ने अर्का आकांक्षी किरण गुरुङ बताउँछन् । ‘म पनि योग्य छु, प्रदेश संयोजक भएको हिसाबले पनि मैले पाउनुपर्छ र म त्यसका लागि म तयार छु भनेको हुँ,’ किरणले भने, ‘म भए हुन्छ नत्र अरु हुन पाउँदैन भनेको छैन । यो त पार्टीको प्रक्रियाअनुसार हुन्छ ।’

प्रदेश नम्बर ४ को संसदमा ६० जना प्रदेश सभा सदस्य छन् । ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक सांसद छन् । प्रदेशसभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, राष्ट्रिय जनमोर्चाको ३, नयाँ शक्तिको २ र एक स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे रहेका छन् ।

आइतबार संसदीय दलको बैठक ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ सभामुखको भूमिकामा रहने  भएपछि दोस्रो ज्येष्ठ सदस्य सिर्जना शर्माको अध्यक्षतामा संसदीय बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment