२४ माघ, काठमाडौं । पत्रकारको भेषमा विभिन्न कार्यक्रममा सहभागी भएर चोरी गर्ने व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।
फायर साइड डेल्लीको नाममा प्रेस कार्ड बनाइ विभिन्न कार्यक्रमहरुमा गएर चोरी गर्ने ललितपुरको गोदावरी–५ बस्दै आएका ५२ वर्षीय अशोक भनिने हरिशरण केसी छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार लगनखेलबाट पक्राउ गरेको हो ।
उनले काठमाडौंको जमलस्थित होटल एल्लो प्यागोडामा चार दिनअघि भएको बैंकरहरुको तालिममा गएर प्रशिक्षार्थी सम्झना ढकालको लेडिज ब्यागबाट नगद र मोबाइल चोरी गरेका थिए । प्रहरीका अनुसार उनले ढकालको ३२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।
अनुसन्धानका क्रममा केसीले विभिन्न सञ्चारमाध्यमहरुमा गएर कार्यक्रमको बारेमा सोधपुछ गर्दै त्यहाँबाट ल्यापटप समेत चोरी गर्ने गरेको खुलेको छ ।
उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाइएको छ भने थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4