Comments Add Comment

टोपबहादुर रायमाझी भन्छन्- सुष्माको भ्रमण स्वाभाविक, पार्टी एकता प्याकेजमै

'मनको कुरा बाहिर गरेर पार्टी एकता हुँदैन'

२६ माघ, दाङ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सकरात्मक ढंगले अघि बढिरहेको बताउँछन् ।

बैचारिक, सांगठनिक र राजनीतिक विषयलाई प्याकेजमै सहमति गरेर पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याइने रायमाझीको भनाइ छ । राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा दाङ पुगेका बेला रायमाझीसँग अनलाइनखबरका लागि पाण्डव शर्माले गरेको कुराकानी :

चुनाव सकिएलगत्तै पार्टी एकताले औपचारिकता पाउने भनिएको थियो तर, अहिले सबै तहको परिणाम आइसक्दा समेत पार्टी एकताले मूर्त रुप लिन सकेको छैन । किन ढिला भएको हो ?

पार्टी एकताको गम्भीर रुपमा गृहकार्य भइरहेको छ । पार्टी एकताका बैचारिक, सांगठनिक र राजनीतिक आधारहरुका विषयमा छलफल भइरहेको छ । अहिले ढिला भएको छैन । तीव्ररुपमा सकारात्मक दिशामा अघि बढिरहेको छ । राष्ट्रियसभा निर्वाचनदेखि प्रदेशमा दुई दलबीच एकताको स्पीड पकड्ने गरी पदमा बाँडफाड भइरहेका छन् । त्यसले पनि पार्टी एकताको लागि बैचारिक, सांगठनिक र राजनीतिक आधारमा कुरा मिलाउँदा केही ढिला भएको जस्तो मानिएको मात्रै हो । आन्तरिकरुपमा गृहकार्य भइरहेको छ । पार्टी एकता परिणाममुखी छ ।

तपाईले भनेको कुरा गठबन्धनभित्रको उपलब्धि हो । तर, पार्टी एकताको विषयमा ठोसरुपमा के उपलब्धि भएको छ त ?

पार्टी एकता मिलिसकेको भए बाहिर आइहाल्थ्यो । अहिले त्यो बहसकै क्रममा छ । वैचारिक, राजनीतिक, सांगठनिकरुपमा र सरकारको विषयमा प्याकेजमै छलफल गरिरहेको छौं । अहिले सबै विषय गम्भीर रुपमा सकरात्मक दिशामा गइरहेका छन् । अहिले यो मिलिहाल्यो भन्ने भन्दा पनि त्यो सबै प्याकेजमै आउने कुरा हो ।

मुख्यरुपमा अहिलेसम्म नेतृत्वको विषयमै कुरा मिलेको छैन भनेर बाहिर आएको छ । नेतृत्वको विषयमा माओवादी केन्द्रको धारणा के हो ?

बाहिर बजारिया हल्ला विभिन्न हुन्छन् । त्यसलाई आधार बनाएर मिलेको छ या छैन भनेर निष्कर्ष निकाल्नु नै गलत हो । मुख्य कुरा हामीले प्याकेजमै बैचारिक, सांगठनिक र राजनीतिक कुराहरुमा छलफल गरिरहेका छौं । हामीले अहिले नै यो मिल्यो या यो मिलेन भन्नु भनेको नमिल्लने कुरा हुन्छ । सहमति भइसकेपछि एकै पटक रिजल्ट आउँछ । अंश अंशमा कुरा गर्नुभन्दा पनि हामी प्याकेजमै सहमति हुन्छ ।

एमालेका दोस्रो तहका केही नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै हुनुपर्छ भनेर भनिरहेका छन् । माओवादी यसमा सहमत हुन्छ त ?

उहाँहरुले के भन्नुभयो भन्ने कुरा मलाई थाहा छैन । भने पनि के भन्नुभयो भनेर मलाई जानकारी छैन । भनेको भए पनि कसले भन्नुभयो । बाहिर हल्ला आएको कुरा कति सत्य हो । त्यो नबुझेर हचुवाको भरमा कुरा गर्नुभएन नि ।

उहाँहरुले नभने पनि तपाईहरुको धारणा के हो भन्न खोजेको मैले ?

हाम्रो धारण प्याकेजमै हल गरौं भन्ने नै हो । अशंमा मिलाउने र बाँकी राख्ने भन्ने नै हुँदैन । अंशमा खेल्ने कुराले पार्टी एकता सही ढंगले अघि बढ्दैन । अहिले सकरात्मक दिशामा अघि बढिरहेको छ । सकरात्मक ढंगले परिणाम आउँछ ।

मैले जान्न चाहेको कुरा, पार्टी एकता हुँदा एमालेलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद दिन तपाईहरु तयार हुनुहुन्छ ?

त्यो बाहिर धारणा ल्याएर छलफल गर्ने कुरा होइन । त्यस्ता कुरा बाहिर ल्याएर छलफल गर्न खोज्यो भने पार्टी एकता नै हुन्न । आफ्नो कुराभित्रको छलफलमा राख्ने हो । मनमा लागेको कुरा बाहिर गर्दै जाने हो भने कसरी पार्टी एकता हुन्छ ? कसैले यस्ता विषयलाई बाहिरी हल्लाको विषय बनायो भने पार्टी एकता होइन भाँड्ने खेल हुन्छ ।

प्रसंग बदलौं, भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको विषयलाई लिएर बजारमा धेरै टिकाटिप्पणीहरु पनि भए । स्वराजको भ्रमणलाई तपाईहरुले कसरी लिनुभएको छ ?

छिमेकी मुलुकको परराष्ट्रमन्त्री हाम्रो देशमा आउनु भनेको स्वाभाविक कुरा हो । यसमा हामीले असहज मान्नुपर्ने कुनै कारण छैन । हाम्रा यहाँका मन्त्री नेताहरु भारत गइरहेका हुन्छन् । उताबाट पनि यहाँ आउने क्रम भइरहन्छ । यसलाई हामीले नकरात्मक रुपमा लिनुहुँदैन । यो महत्व दिने वा विरोध गर्ने विषय नै होइन ।

तर, कुटनीतिकरुपमा हेर्ने हो भने एउटा सरकार विस्थापित हुने क्रममा र अर्को सरकार बन्ने समयमा यसरी भारतीय विदेशमन्त्री भ्रमणमा आउने र नेपालमा रहँदा पनि सरकारसँग भन्दा प्रतिपक्षि दलका नेताहरुलाई महत्वका साथ भेट्नुलाई अलि बैमोसमी भएन र ?

कसैलाई बेमौसमी लाग्ला । कसैलाई फलदायी लाग्न सक्छ । यो आ-आफ्नो धारणा हो ।

तपाईहरुलाई के लागेको छ ?

हामीले त यसलाई एउटा निरन्तर प्रक्रियाको रुपमा लिएका छौं । यो स्वाभाविक प्रक्रिया हो । यसलाई हामीले वेमौसमी र अनुपयुक्त भन्दैनौं । त्यसैगरी यो भ्रमणलाई महान उपलब्धि भन्ने पनि हाम्रो धारणा होइन । यसलाई बढाइचढाइ गर्नुपर्ने र अण्डरमाइण्ड गनुपर्ने कारण छैन । यस्ता आवत जावतका कुरा भइरहन्छन् ।

उहाँको भ्रमणलाई कुन अर्थमा बुझ्दा उपयुक्त होला ?

यो अर्थ हामीलाई थाहा छैन । उहाँलाई सोध्नुस् । कुन अर्थमा आउनुभएको हो । हामीले के भन्ने ? निर्वाचनबाट वामगठबन्धनको पक्षमा परिणाम आएको छ । उहाँले भोलि केपी ओलीजी प्रधानमन्त्री बन्नुहुन्छ कि भनेर अग्रिम शुभकामना दिनका लागि भेटघाटमा प्राथमिकता दिएको हुन सक्छ । यही कारणले कामचलाउ सरकारभन्दा भावी सरकारलाई बढी प्राथमिकतामा दिएको हुन सक्छ ।

यो त अड्कलबाजीका कुरा हुन् । हामीले किन भनेर प्रश्न उठाउनुहुँदैन । मिडियाका साथीहरुले उठाउने कुरालाई स्वभाविक मानिन्छ । तर, हामी राजनीति गर्ने नेताहरुमा निरन्तर, स्वाभाविक आवतजावतका कुराहरु चलिरहन्छ । यसमा हामी धेरै आंशकित हुनेपर्ने कारण छैन । धेरै खुशी हुनुपर्ने कारण पनि छैन । हाम्रो देशमा के गर्ने ? कसरी विकास गर्ने ? राष्ट्रियताको रक्षा कसरी गर्ने ? भन्ने कुरा हाम्रो हो । यसमा हामीले विदेशीलाई दोष दिनुपर्ने कारण छैन । उहाँहरुले लिएका कैयौं कुराहरु सकारात्मक होलान् । कैयो कुराहरु हाम्रो हितमा छैनन् होला पनि । हामी यसमा आँफै सचेत हुनुपर्छ । हामीले कसैलाई अस्वीकार पनि गर्दैनौं । हामी कसैको पनि आदेश पालन पनि गर्दैनौं । कोही आदेश पालन गर्नेहरु खुशी हुनसक्छन् । यसलाई अस्वीकार गर्नेहरु दुखी हुन सक्छन् । हाम्रो देशको वारेमा सोच्ने र नेतृत्व गर्ने हामी भइसकेपछि बाहिरबाट आउने कुराहरुलाई राम्रो भए स्वीकार गर्ने र नराम्रो भए नमान्ने कुरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment