Comments Add Comment

प्रदेश ६ को मुख्यमन्त्रीमा एमालेको दाबी !

आलोपालो गर्नुपर्ने एमालेको नयाँ शर्तले सरकार गठनमा ढिलाइ

२ फागुन, सुर्खेत । एमालेले केन्द्रमा भएको सहमति विपरीत प्रदेश ६ को मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने सर्त राखेको छ । यससँगै प्रदेश सरकार गठन अन्योलमा परेको छ ।

केन्द्रमा प्रदेश १, ३, ४ र ५ एमालेले तथा ६ र ७ माओवादीले लिने यसअघि नै सहमति भएको थियो । त्यसै अनुसार प्रदेश ३ मा संयुक्त सरकार बनिसकेको छ भने अन्य प्रदेश तयारी भइरहेको छ ।

तर, प्रदेश ६ मा एमालेले माओवादीसामु मुख्यमन्त्री आलोपालो हुनु पर्ने नयाँ सर्त राखेको छ ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसामू तीनबुँदे प्रस्ताव राखेका छन् । उनले मुख्यमन्त्रीमा आलोपालो, मन्त्रीमण्डलको आकार र मन्त्रालय भागवण्डाबारे माओवादीको धारणा मागेका हुन् ।

कँडेलले मुख्यमन्त्री आलोपालो हुनुपर्ने बताए । उनले भने, ‘केन्द्रको निर्णयको सम्मान गर्दै पहिला उहाँ (महेन्द्रबहादुर शाही)लाई हुनु भनेका छौं । तर, पुरै छाड्न सक्ने अवस्था छैन ।’

४० सदस्यीय प्रदेशसभामा एमालेका २० सांसद छन् । सरकार गठनका लागि २१ सांसद चाहिन्छ । प्रदेशसभामा माओवादीका १३ सांसद छन् ।

एमाले प्रदेश कमिटीले मुख्यमन्त्री माओवादीलाई नदिन नेतृत्वलाई यसअघि नै दबाव दिएको थियो । तर, नेतृत्वले नेताहरुको व्यवस्थापन र पार्टी एकताको भावनालाई आत्मसाथ गर्दै मुख्यमन्त्री माओवादीलाई दिने निर्णय गरेको थियो ।

आलोपालो मान्य छैनः माओवादी

माओवादी भने एमालेको माग सुन्न तयार छैन । प्रदेशसभा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले भने यो आलोपालोको माग आफ्नो तहबाट पूरा नहुने बताए ।

शाहीले अनलाइनखबरसँग भने, ‘यो केन्द्रले गरेको निर्णय हो । केन्द्रले नै मिलाउँछ । म कुरा गर्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment