Comments Add Comment

सिमरा गोल्डकप : मोरङलाई हराउँदै थ्रीस्टार फाइनल प्रवेश


२ फागुन, सिमरा । मोरङ फुटबल क्लबलाई ४-२ ले पराजित गर्दै थ्रीस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ ।

थ्रीस्टारको जितमा सुनील बलले २ तथा विष्णु गुरुङ र अनन्त तामाङले समान १/१ गोल गरे । मोरङका कर्ण लिम्बुले खेलको अन्तिम समयमा २ गोल गरे पनि टिमको हार टार्न सकेनन् ।

खेलको पहिलो हाफमा २-० ले पछि परेको मोरङ फुटबल क्लबमाथि थ्रीस्टारले दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ८० औं मिनेटसम्म मोरङलाई ४-० गोल अन्तरले दबाबमा राखेको थ्रीस्टारका गोलरक्षक परिवर्तन भएलगतै मोरङले ८१ र ८४ औं मिनेटमा लगातार २ गोल फर्कायो ।

प्रशिक्षक मेघराज केसीले फाइनल प्रवेश सुनिश्चित भएपछि पहिलो रोजाइका गोलरक्षक एलन न्यौपानेको ठाउँमा अभिषेक बराललाई मैदान पठाएका थिए ।

सिजनका दुई ठूला प्रतियोगिता जितेको थ्रीस्टारलाई पहिलो पटक सिमरा गोल्डकपको उपाधि होडमा उभ्याउने क्रममा खेलको २३ औं मिनेटमा विष्णु गुरुङले गोल गरेका थिए । सुनील बलको क्रसलाई सदुपयोग गर्दै विष्णुले टिमलाई अग्रता दिलाए ।

खेलको ३५ औं मिनटमा सुनील बलले थ्रीस्टारको अग्रता दोब्बर पारे । डी बक्स बाहिरबाटै सुनील प्रहार गोलमा परिणत भएको थियो ।

खेलको ४९ औं मिनटमा डी बक्सभित्र पाएको निराजन खड्काको पासलाई सदुपयोग गर्दै सुनीलले थ्रीस्टारको अग्रतालाई ३-० मा पुर्‍याए ।

खेलको ७७ औं मिनेटमा थ्रीस्टारले अर्को गोल गर्दै मोरङ विरुद्ध ४ गोलको अग्रता लिन सफल भयो । निराजन खड्काको कर्नर बलमा उत्कृष्ट हेडिङ गर्दै अनन्त तामाङले थि्रस्टारको जित सुनिश्चित गरे ।

गोलरक्षक एलन न्यौपानेको ठाउँमा आएका अभिषेक बराल मैदान प्रवेश गरेको पहिलो मिनटमै थ्रीस्टारको अग्रता ४-१ मा झर्‍यो ।

मोरङका कर्ण लिम्बुले खेलको ८१ औं मिनटमा पहिलो गोल गरे । डी बक्स भित्र पाएको बललाई सिधै पोष्टको दिशा दिएका लिम्बुको प्रहार थ्रीस्टारका गोल रक्षक अभिषेक बरालले सम्हाल्न सकेनन् ।

त्यसलगत्तै आक्रामक रुपमा प्रस्तुत भएको मोरङले अर्को गोल थप्दै थ्रीस्टारको अग्रता ४-२ मा झार्‍यो । कर्ण लिम्बुले खेलको ८४ औं मिनटमा दोस्रो गोल गरे ।

दुई गोल गरेका थ्रीस्टारका सुनिल बल म्यान अफ दि म्याच घोषित भए । बिहीबार अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी र वीरगञ्ज यूनाइटेड क्लबबीच हुँदैछ ।

मोरङका प्रशिक्षक पारस चौधरीले पहिलो हाफमै २ गोलले पछि पर्दा खेल गुमाएको प्रतिक्रिया दिए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो प्रदर्शन गरेको बताए ।

अन्तिम समयमा नयाँ गोलरक्षकलाई प्रयोग गर्दा २ गोल खाए पनि टिमको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment