Comments Add Comment

शीतलनिवासमा देउवा र ओलीवीच लुकामारी !

छापामार शैलीमा सत्ता हस्तान्तरण

३ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार प्रधानमन्त्रीको दाबी गर्न शीतलनिवास पुग्दा वर्तमान शेरबहादुर देउवाले राजीनामा पत्र बुझाएकै थिएनन् ।

हतार-हतार मन्त्रिपरिषदको अन्तिम बैठक सकेर प्रधानमन्त्री देउवाले बालुवाटारबाटै देशबासीलाई सम्बोधनसहित राजीनामाको घोषणा गरे । अनि नजिकै रहेको राष्ट्रपति कार्यालयमा राजीनामा पत्र बोकेर पुगे ।

प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा पुग्दा केपी ओलीसहित वाम गठबन्धनका नेताहरु शीतलको एउटा कोठाभित्र थिए ।

तपाईहरुलाई लाग्दो हो, त्यहाँ केपी ओली र शेरबहादुर देउवावीच जम्माभेट भयो । तर, यो अनुमानलाई दुबै नेताहरुले गलत सावित गरे ।

अर्थात् त्यहाँ देउवा र ओलीवीच भेट भएन । वाम गठबन्धनका एक नेता भन्छन्, ‘उहाँहरुवीच भेट भएन ।’

देउवा आउनु अघिसम्म राष्ट्रपति भण्डारी वाम गठबन्धनका नेताहरुसँग कुराकानी गरिरहेकी थिइन् । तर, देउवा आएपछि उनलाई अर्कैर् कोठामा राखियो र राष्ट्रपतिले त्यहीँ गएर राजीनामा पत्र बुझिन् ।
देउवालाई विदा गरेपछि राष्ट्रपति भण्डारी फेरि वाम गठबन्धनका नेताहरु भएको ठाउँमा आइन् ।

त्यसपछि उनले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक पत्र दिइन् ।

अन्ततः पुरानो प्रधानमन्त्रीले राजीनामा बुझाउने र नयाँले नियुक्तिपत्र लिने काम लगभग छापामार शैलीमा छिटोछिटो भयो ।

तर, राजीनामा लेनदेनमा ओली र देउवावीच भेटघाट नभए पनि सपथ ग्रहणमा भने पुरानो प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीसँग औपचारिकरुपमा कुर्सी साटासाट गर्ने प्रचलन छ । र, यो काम आजै हुनेछ । त्यहाँ ओली र देउवाले हात मिलाएर बधाइ अनि धन्यवाद ज्ञापन गर्नेछन् ।

प्रधानमन्त्रीलाई नियुक्ति दिँदा गल्ती

नेपालीमा एउटा उखान छ- हतारको काम लतार । राष्ट्रपति कार्यालयले केपी ओलीलाई हतार-हतार प्रधानमन्त्रीमा नियुक्ति दिएपछि जारी गरिएको विज्ञुप्तिमा ओलीलाई राष्ट्रपतिले गत साल फागुनमै प्रधानमन्त्री नियुक्त गरेको व्यहोरा पर्न गयो ।

ओलीलाई राष्ट्रपतिले ०७३ साल फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरिएको भनिएको थियो, पछि सच्याएर ०७४ साल फागुन ३ बनाइयो ।

संसदको सपथ नखाई प्रधानमन्त्री ?

प्रधानमन्त्री देउवाले राजीनामा नै दिन नभ्याई हतार हतार प्रधानमन्त्रीको दाबी गर्न शीतल निवास पुगेका केपी ओलीले प्रतिनिधिसभा सदस्यको सपथ खान बाँकी नै छ ।

ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि एकाएक सोसियल मिडियामा भाइरल भयो, संसदको सपथ नखाई प्रधानमन्त्री बन्न मिल्छ ?

तर, सोसियल मिडियामा उठेको यस्तो प्रश्न औचित्यहीन रहेको संविधानको प्रावधानमा प्रष्ट छ ।

किनभने, संविधान अनुसार संसद सदस्यहरुले पहिलो बैठक बस्नका लागि सपथग्रहण अनिवार्य गर्नुपर्छ, ओली प्रतिनिधिसभामा निर्वाचित भएको प्रमाण निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाइसकेको छ र त्यहीँ आधारमा उनलाई चिनेर राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री ओलीले अबको ३० दिनभित्र संसदमा बहुमत सिद्ध गर्नुपर्ने हुन्छ ।

साथै संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त भएको घोषणा गर्नका लागि संसद बैठक वा संसदमा मतदान आवश्यक छैन ।

तैपनि सांसदहरुले सपथ ग्रहण गरिनसक्दै हतार हतार वाम नेताहरु शीतलनिवास पुगेको र राष्ट्रपतिले पनि युद्धको गतिमा प्रधानमन्त्री चयन गरेको हुनाले सामाजिक सञ्चालमा विभिन्न प्रश्न र कौतुहल उब्जिन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment