+
+
Shares

मुख्यमन्त्री शाहीका योजनाः रोजगारी सिर्जनादेखि ग्रीन प्रदेश निर्माणसम्म

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ४ गते १७:५७

४ फागुन, काठमाडौं । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शपथग्रहण लगत्तै आफ्ना योजना सार्वजनिक गरेका छन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले शुक्रबार शपथग्रहण लगत्तै पाँच बुँदे मुख्य योजना सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री शाहीले प्रदेश ६ मा भौतिक पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य र पर्यटनलाई विशेष ध्यान दिदै समृद्ध प्रदेश बनाउने प्रतिबद्धता गरेका छन् ।

मुलुककै गरीब र सडक सञ्जालले नजोडिएका जिल्ला रहेका प्रदेशलाई समृद्ध बनाउनका लागि स्थानीय तहमा सडक सञ्जाल जोड्ने योजना मुख्यमन्त्री शाहीको छ ।

मुख्यमन्त्री शाहीले सडक सञ्जालसँगै विद्युतको पहुँच विस्तार गर्ने, प्रदेशका हरेक जिल्लामा सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने, दक्ष जनशक्ति उत्पादनका लागि हरेक विधाका शैक्षिक संस्थाको विकास गरी योग्य जनशक्ति उत्पादन गर्ने र स्थानीय तह, जिल्ला र प्रदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

मानसरोवर, छायानाथ, कैलाश पर्बत, राराताल, शे फोक्सुडोताल, सुर्खेतको काँक्रेविहार, कालीकोटको त्रिबेणी, दैलेखको ज्वाला जस्ता प्रदेशका साना ठूला सबै धार्मिक तथा प्राकृतिक क्षेत्रहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना मुख्यमन्त्री शाहीले अघि सारेका छन् ।

प्रदेश ६ अभावमा गुजि्रएको भएपनि स्रोतसाधन र सम्भावना भएकोले स्थानीयतालाई मध्यनजर गरी काम गर्ने प्रतिबद्धता उनले गरेका छन् ।

यो प्रदेश हिमालय पर्वतको बढी प्रभाव क्षेत्र भएकाले अहिले ब्याप्त बढ्दो जलबायु परिवर्तनले पारेको असरलाई नियन्त्रण गर्न ग्रीन प्रदेशको रुपमा विकास गर्ने मुख्यमन्त्री शाहीले बताए ।

लगानीमैत्री र प्रदेश अनुकुलका ऐन निर्माण गरेर समृद्धिका लागि थप योजनाहरु अघि सारिने मुख्यमन्त्री शाहीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?