८ फागुन, सिन्धुपाल्चोक । नेपाल-चीन सीमा जोड्ने भोटेकोशीमाथिको लार्चा बेलीब्रिज निर्माण नसकिदै भाँचिएको छ ।
गएको साउनमा आएको पहिरोले लार्चा पुल भाँचिएपछि सरकारले तत्कालै उक्त स्थानमा बेलीब्रिज निर्माण सुरु गरेको थियो ।
पुल भाँचिएको लामो समयसम्म पनि ठेकेदारको बेवास्ताका कारण पुल निर्माण सम्पन्न भएको थिएन ।
स्थानीयले पुल छिटो सक्न ठेकेदारलाई आग्रह गरेपछि बेलीब्रिजको निर्माण कार्य अन्तिम चरणमा पुगेको थियो ।
‘पुलको निर्माण कार्य केही दिनमै सम्पन्न हुने तयारीमा थियो तर भाचियो ।’ भोटेकोशी गाउँपालिका-१ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले भने ।
ठेकेदारको लापरवाहीका कारण पुल भाँचिएको वडा अध्यक्ष श्रेष्ठले बताए । पुल निर्माणको जिम्मा बन्धन भगवती निर्माण कम्पनीले पाएको थियो ।
यस अघिको ९० मिटर मोटरवेबल पुल भाँचिएपछि त्यसैको नजिकै ५० मिटरको बेलीबि्रल निर्माण कार्य भइरहेको थियो ।
बेलीब्रिजको दुवै तर्फको बिम राख्न बनाएको फाउण्डेशन कमजोर भएकाले पुल भाँचिएको स्थानीय भैरवकुण्ड युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।
‘दुवै तर्फको वाल नै कमजोर थियो’,श्रेष्ठले भने,’हामीले ठेकेदारलाई बलियो बनाउन पर्छ भनेर पटक पटक भनेपनि वास्ता नगर्दा आज यो अवस्था आएको हो ।’
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजनीतिक दलका उमेदवारहरुले यो पुल आफूहरुको पहलमा ल्याएको दाबी गर्दै आएका थिए ।
यसअघि जुरेमा पहिलो जाँदा नेपाली सेनाले एक महिनाको बिचमा स्थानीय सुनकोशी खोलामाथी बेलीब्रिज जडान गरेपनि यहाँ भने निर्माण सुरु भएको साढे ६ महिनामा पनि पुल निर्माण सकिएको छैन ।
पुल भाँचिएपछि सीमा क्षेत्रका स्थानीय लामो समयदेखि हिँडेरै आवतजावत गर्न बाध्य छन् । बन्द रहेको तातोपानी नाका सञ्चालन गर्नै चर्चा चलिरहेको बेला नाका जोड्ने पुल भाँचिएपछि नाका सञ्चालनमा समस्या हुने देखिएको छ ।
यस क्षेत्रका सासंद अग्नि सापकोटा भने पुल भाँचिनु दुखद भएको भन्दै यसलाई तत्कालै पुनर्निर्माण गर्न आफूले सम्बन्धित पक्षको ध्यानआर्कषण गराउने बताए ।
प्रतिक्रिया 4