Comments Add Comment

चर्चित ६ इन्काउन्टरः चरी, घैंटे र मनोज मारिए, टिके डाँका बचे


९ फागुन, काठमाडौं । पछिल्लो चार वर्षको अवधिमा कुख्यात डाँकादेखि लिएर भारतीय अन्डरवर्ल्डसम्ममा पुहँच बनाएका गुन्डा नाइकेसम्म प्रहरी इन्काउन्टरमा परेका छन् ।

प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका गुन्डादेखि लिएर कारागारबाट भागेका डाँकासम्मलाई प्रहरीले इन्काउन्टर गरेको हो ।

प्रस्तुत छ, केही चर्चित इन्काउन्टर प्रकरणको बारेमा अनलाइनखबरले तयार पारेको नालीवेलीः–

१. दिनेश अधिकारी ‘चरी’

चरीको नाममा चर्चित गुन्डा नाइके दिनेश अधिकारी २१ साउन ०७१ मा प्रहरी इन्काउन्टरमा मारिएका हुन् । महानगरीय प्रहरीको अपराध महाशाखाको प्रहरीसँग टोलीसँग काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा दोहोरो फायरिङ भएको थियो । सोही क्रममा डन अधिकारी मारिए ।

मोटरसाइकलमा भागिरहेको अवस्थामा चरीले फायरिङ गर्न थालेपछि प्रहरीले पनि गोली चलाएको दाबी गरिएको थियो । प्रहरीको ८ राउण्ड गोली लागेर चरी सडक किनारमा ढलेसँगै उनको अपराध यात्रा पनि समाप्त भयो ।

धादिङमा ठेक्कापट्टाबाट आपराधिक यात्रा सुरु गरेका गरेका चरी प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा थिए । उनी धादिङ क्षेत्र नं. १ को एमालेको उपाध्यक्ष समेत बनेका थिए । उनलाई अहिलेका प्रधानमन्त्री केपी ओलीको संरक्षण रहेको चर्चा गरिन्थ्यो । त्यसै कारण उनी चर्चाको शिखरमा थिए ।

चरीले बालाजु र नयाँबजार क्षेत्रलाई अपराधको केन्द्र बनाएका थिए । उनीमाथि व्यापारीहरुबाट जबरजस्ती रकम असुली, ठेक्कापट्टामा हस्तक्षेप, गैंडाको खाग तस्करीलगायतमा संलग्न रहेको आरोप लागेको थियो ।

२. कुमार श्रेष्ठ ‘घैंटे’

गुन्डा नाइके चरी मारिएको एक वर्षपछि ३ भदौ ०७३ मा अर्का गुन्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे मारिए

काठमाडौंको सामाखुसीमा रहेको आफ्नो घर नजिकै प्रहरीसँगको मुठभेडमा उनी मारिएका थिए । त्यहाँको कपुरधारास्थित व्रिटिश क्याप पछाडि सादा पोशाकमा रहेका प्रहरी र उनको समूहबीच भिडन्त हुँदा घैंटे गम्भीर घाइते भए । र, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा उनको मृत्यु भयो ।

सर्च अभियानमा रहेका सादा पोशाकका प्रहरीले घैंटेसँग सोधपुछ गर्दा उनको समूहले गोली चलाएको प्रहरीको दाबी थियो । सोही क्रममा जवाफी फायरिङ हुँदा घैंटे मारिएको प्रहरीको दाबी थियो ।

कुमार घैंटे मारिएको स्थान

घटनामा असई बालकृष्ण सन्जेल, रन्जित लामा र प्रहरी जवान हेमन्त चौधरीसमेत घाइते भए ।

०६० सालताका घैंटे र चरी एउटै समूहमा थिए । तर, यी दुई गुन्डा नाइकेको मित्रता धेरै लामो समयसम्म टिकेन । ०६३ सालमा उनीहरु अलग भएका थिए ।

चन्दा असुलीसहितका विभिन्न घटनामा संलग्न भएको आरोपमा उनी पनि प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । उनले भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत सङ्कलन गरी आफैंले त्यो पैसा खाएको आरोप समेत लागेको थियो ।

३. जसवन्त राई

काठमाडौंको कलंकीलाई आधार क्षेत्र बनाएर अवैध असुली, डकैती तथा गुण्डागर्दीम संलग्न जसवन्त राई प्रहरीको फरार सूचीमा रहेका थिए । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई खोजी रहेको थियो ।

९ असार ०७३ मा प्रहरीले उनलाई भेट्टायो । बबरमहलमा उनलाई पछ्याउने क्रममा राईले प्रहरीलाई फलामको रडले हाने । प्रहरीले फायरिङ गर्‍याे ।

उनको घुँडा र तीघ्रामा गोली लाग्यो । र, उनलाई प्रहरीले सकुशल नियन्त्रणमा लिन सफल भयो

बानेश्वरमा मारिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका योजनाकार समिरमान सिंह बस्नेतको नजिकमा रहेर कुनै वेला उनले गुन्डागर्दीलाई बढाएका थिए ।

उनलाई ज्यान मार्ने उद्योगमा प्रहरीले खोजी गरिरहेको थियो ।

४. प्रवीण खत्री

ललिपुरको कुसुन्तीमा २३ साउन ०७४ मा लागूऔषध कारोबारीको आरोप लागेका प्रवीण खत्री प्रहरी इन्काउन्टरमा मारिए । प्रहरीले उनीसँग अवैध हतियार समेत रहेको सुराकी पाएको थियो । र, बिहानैदेखि निगरानी बढाइएको थियो ।

प्रहरी टोली घरमा आएको चाल पाउनासाथ उनी छतबाट हाम फालेर भाग्न खोजे । सोही क्रममा प्रहरीले उनलाई लक्षित गरेर गोली प्रहार गरियो । गोली लागेर उनी भाग्दाभाग्दै ढले । लगत्तै, उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकहरुले मृत घोषणा गरे । उनको साथबाट दुई वटा अटोमेटिक पेस्तोल समेत बरामद भएको प्रहरीले दाबी गरेको थियो ।

उनी आफैंसमेत लागूऔषध प्रयोगकर्ता भएको खुेको थियो । उनलाई केही समय सुधार केन्द्रमा समेत राखिएको थियो ।

५. टिके डाँका

काठमाडौंको डिल्लीबजार कारागारबाट ५ माघ ०७४ मा कुख्यात डाँका टिकाबहादुर थापा मगर उर्फ टिके भागे । चोरी मुद्दामा सजाय भोगिरहेका उनी कारागारको काँडेतार काटेर भागेका थिए ।

उनी भागेलगत्तै प्रहरीले उनको खोजीलाई व्यापक बनाएको थियो । त्यसको ९ दिनपछि १३ माघमा टिके मुग्लिनतर्फ जाँदै गरेको महानगरीय प्रहरी अपराध महाशाखाले सुराकी पायो । लगत्तै महाशाखा र जिल्ला प्रहरी चितवनको टोली उनको खोजीमा परिचालित भयो ।

साँझ ५ बजे भरतपुर–१ रामनगरको ओमसाई पेट्रोलपम्प नजिक ना ४७ प ५०५२ नम्बरको पल्सर मोटरसाइकलमा आउँदै गरेका टिके र प्रहरीबीच जम्काभेट भयो । एक थान कटुवा पेस्तोल र खुकुरीसहित भाग्दै गरेका टीके र उनका साथीले प्रहरी देख्नेबित्तिकै गोली चलाए । प्रहरीले जवाफी फायरिङ ग‍र्‍याे

केहीवेरमै उनी प्रहरी मुठभेडमा मारिएको खबर फैलियो । यद्यपि, उनी मारिएका भने थिएनन् । घटनामा उनी गम्भीर घाइते भए । ६ राउन्ड गोली लागेका उनी वीर अस्पतालमा उपचाररत छन् भने उनीसँगै रहेका एक जना साथी अझै फरार छन् ।

६. मनोज पुन

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई ४ पुस ०७३ मा गोली प्रहार गरेर हत्या गरेपछि चर्चामा आएका अपराधी हुन्, मनोजबहादुर बुढामगर उर्फ मनोज पुन ।

घटनालगत्तै प्रहरीले उनको खोजीलाई व्यापक बनाएको थियो । उनी भने भारतको गोवामा लुकेर बसेका थिए । र, अन्डरवर्ल्डतर्फ आफ्नो पहुँच विस्तार गर्दै थिए ।

भारतमै रहेको वेला उनले थप दुई हत्याकाण्डलाई सफल बनाए । २१ पुस ०७४ मा उनले तिवारीको साथी बलु पौडेलको हत्या गरे । उनी देवदहका फर्निचर व्यवसायी थिए ।

२३ असोज ०७४ मा भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा उनको संलग्नता रहेको प्रहरीको भनाइ थियो ।

उनै पुन बुधबार रुपन्देहीको देवहमा प्रहरी कारबाहीमा मारिए । उनीसँगै उनका साथी सोम आलेको पनि मृत्यु भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल प्रहरीको संयुक्त अप्रेशनका क्रममा इन्काउन्टमा पुनको मृत्यु भएको हो ।

घटनालगत्तै उनलाई लुम्बिनी अञ्चल अस्पताल, बुटवल लगिएपछि चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

यो पनि पढ्नुहोस्

गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

मनोज पुनको अपराध यात्राः वाईसीएल, युथफोर्सदेखि अन्डरवर्ल्डसम्म

देवदह इन्काउन्टरः मनोजसँगै मारिएका सोमबहादुर को हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment