Comments Add Comment

प्रधानमन्त्रीको ६७ औं जन्मोत्सव (१५ तस्वीर)

कर्मचारी, कार्यकर्ता र सर्वसाधारणद्वारा पुष्पगुच्छा अर्पण

११ फागुन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार शुक्रबार बिहानैदेखि ‘पार्टी मुड’ मा देखियो । दिनभरी खचाखच देखिएको बालुवाटारमा साँझ नपर्दै प्राङ्गणमा अनमोल क्याटरिङका टेबुल-कुर्सी सजिए । क्याटरिङबाट मिष्ठान्न खानेकुरा झिकाइयो । प्रधानमन्त्री निवास पार्टी प्यालेसजस्तै बन्यो ।

दिन ढल्किएपछि प्रधानमन्त्री निवासमा रौनक थपियो । एमाले नेता कार्यकर्ताहरु परिवारका सदस्य एवं बालबच्चासहित बालुवाटार छिरे । कसैको हातमा खादा थियो त कसैको हातमा महंगो बुके ! लाइनमा सरकारी कर्मचारी एवं हाकिमहरुसमेत देखिन्थे । कार्यक्रमको सन्दर्भ थियो- प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मोत्सव ।

विसं. २००८ फागुन ११ मा तेह्रथुमको इवामा जन्मिएका प्रधानमन्त्री ओली बिहीबारदेखि ६७ औं वर्षमा प्रवेश गरेका छन् । उनको यही जन्मोत्सवको अवसरमा प्रधानमन्त्री निवासमा शुभेच्छुकहरुको भीड लागेको हो ।

बालुवाटार प्रवेश बिहीबार अरु दिनको तुलनामा निकै सहज बनाइएको थियो । त्यहाँ प्रवेशका लागि कुनै रोकटोक थिएन ।


विहीबार बिहानै युवा संघका नेता कार्यकर्ता सूर्य चिन्ह अंकित केक बोकेर बालुवाटार पुगेका थिए, जसलाई प्रधानमन्त्री ओलीले माधव नेपाललगायतका पार्टी नेताहरु सामू काटे ।

लगत्तै बालुवाटारमा भकुण्डो केक पुग्यो । यो मदन भण्डारी स्पोट्र्स एकेडेमीले लगेको थियो । ओलीले त्यो पनि काटे ।

चिनियाँ राजदूत यू होङ र भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि अलग-अलग समयमा बुके बोकेर बालुवाटार पुगे । उनीहरुले प्रधानमन्त्री ओलीलाई जन्म दिनको शुभकामना दिए ।

भारत र चीनका राजदूत हातमा बुके बोकेर बालुवाटार पुगेको घटनाले सामाजिक सञ्जालमा केपी ओलीको उचाई अझ माथि पुगेको रुपमा विश्लेषण पनि गरेको पाइयो ।

बिहानै केक काटेका प्रधानमन्त्री ओलीले दिउँसो क्रिकेट खेलाडीहरुको सम्मानमा आयोजित कार्यक्रममा पनि आफ्नो जन्म दिनको बर्थ डे केक काट्न भ्याए ।

साँझ पर्दै गएपछि बालुवाटारमा प्रधानमन्त्रीको जन्मोत्सव मनाउन पुग्नेहरुको संख्या एकाएक बढ्यो । त्यहाँ एमाले नेता कार्यकर्ता मात्र होइन, उद्योगी व्यवसायी, कलाकार सरकारी हाकिमहरु पनि त्यहाँ पुगे ।

भीड यति ठूलो भयो कि, त्यो रत्नपार्क वा कोटेश्वरको भन्दा कम थिएन । सबै शुभेच्छुकहरुले उल्लासमय वातावरणमा प्रधानमन्त्रीलाई शुभकामना चढाए ।

विहीबार रातिसम्म बालुवाटारमा प्रधानमन्त्रीको जन्मोत्सव समारोहमा करिब ५ सयको संख्यामा मानिसहरुको उपस्थिति देखिएको थियो ।

प्रधानमन्त्री केपी ओलीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना !

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment