Comments Add Comment

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी जेल चलान

अदालत भन्छः जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन सक्दैन, चौधरी भन्छन्ः सांसदलाई अविश्वास गरियो


१४ फागुन, धनगढी । अदालतसामू आत्मसमर्पण टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका छन् । उनलाई धनगढी कारागारमा राखिएको छ ।

टीकापुर घटनापछि फरार चौधरीले सोमबार विहान अदालतसामू आत्मसमर्पण गरेका थिए । लगतै न्यायाधीश परशुराम भट्टराईको इजलासले भएको बयानमा चौधरीले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका छन् ।

बहसका क्रममा उनका वकिलले सांसदको चुनाव जितेका उनलाई तारेखमा छाड्नुपर्ने तर्क गरेका थिए ।

तर, अदालतले चौधरीले अभियोग इन्कार गरे पनि लक्ष्मण थारु, लाहुराम चौधरी लगायतका अभियुक्तहरुले उनकै नेतृत्व र योजनामा घटना भएको हो भनी बयान दिएको तथा सरकारी वकिलले पेश गरेको प्रतिवेदनका ‘हृदयविदारक तथ्य’ आधारमा चौधरी कसुरदार छैनन् भन्न नसकिने भन्दै थुनामा राख्न आदेश दिएको छ ।

अर्को पेशी फागुन १६ लाई तोकिएको छ ।

आदेशमा भनिएको छ, ‘जनमत प्राप्त गर्नुपूर्वको फौजदारी क्रियाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन ।’

सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी, सहन्याधिवक्ता भानदेश जोशी, नवीन भट्टले बहस गरेका थिए ।

जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता राजेन्द्र बहादुर साउदले बहस गरे । चौधरीको तर्फबाट अधिवक्ता गंगाराम पाध्यय, मिलनकुमार राई, गजेन्द्रबहादुर केसी र नाथीराम महतोले बहस गरेका थिए ।

जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन सक्दैन

उसो त चौधरीका वकिलहरुले जनमत पाएको भन्दै तारेखमा छाड्नु पर्ने तर्क गरेका थिए । तर, अदालतले जनमतको सम्मान गर्ने तर, जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आदेशमा भनिएको छ, ‘जनमत प्राप्त गर्नुपूर्वको फौजदारी क्रियाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन ।’

फरार रहेकै अवस्थामा चुनाव लडेका चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राजपाबाट उम्मेदवार बनेका उनी झण्डै २१ हजार मतान्तरले विजयी बनेका थिए । चौधरी ३४ हजार ३४१ मत पाउँदा निकटतम प्रतिस्पर्धी वाम गठबन्धकी गरिमा शाहले १३ हजार ४०६ र कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन् ।

अदालतले सांसदलाई अविश्वास गर्‍यो

जेल जानुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले अदालतले सांसदलाई अविश्वास गरे जस्तो देखिएको प्रतिक्रिया दिएका छन् । ‘अदालतले जुन फैसला गर्‍यो, त्यसलाई पूर्वाग्रह त मान्दिनँ । तर, जनताबाट विजयी भइसकेको सांसदलाई अविश्वास गरे जस्तो देखियो’ उनले भने, म भागिहाल्ने थिएन । भाग्ने भए म यहाँ आउने थिइनँ ।’

आफू कानुनको पूर्णसम्मान गरेर अदालतसमक्ष आएको र आगामी दिनमा न्याय दिने विश्वास रहेको बताए ।

७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको हत्या भएको छ । घटनाको भोलिपल्ट चौधरीको रेडियो तथा रेष्टुराँका साथै थारु बस्तीहरुमा तोडफोड तथा आगजनी पनि भएको थियो ।

घटनाको मुख्य योजनाकार भएको दाबी गर्दै चौधरीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा परेको छ । चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

फरार रहेकै बेला भारत भ्रमणमा रहेका तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि उनी चर्चामा आए । पछिल्लो पटक सरकारबाट उनले डेढ करोड बढी क्षतिपूर्ति पनि पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment