Comments Add Comment

आईसीसीले भन्यो : क्यानलाई निलम्बन गरे पनि नेपाललाई खेल्न दिनु सही ठहरियो

१५ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरे पनि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन दिने निर्णय सही सावित भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का एक उच्च अधिकारीले बताएका छन् ।

आईसीसीका अन्तर्राष्ट्रिय विकास प्रमुख विलियम ग्लेनराइटले संयुक्त अरब इमिरेट्सबाट प्रकाशित हुने ‘द नेसन’ पत्रिकालाई भने, ‘नेपालको क्रिकेट संघ अहिले निलम्बित छ तर आईसीसीको बोर्डले एउटा रणनीतिक निर्णय गर्दै नेपाली खेलाडीहरूलाई भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन दिइरहेको छ । हामीलाई के लाग्छ भने त्यहाँको क्रिकेट बोर्डले भोग्नु परेको व्यस्थापकीय चुनौतीहरूको असर खेलाडीमाथि पर्नु हुदैन ।’

गत वर्ष नेपालमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न आफू नेपाल गएको र नेपालमा क्रिकेटप्रतिको मोह आफूले देखेको उनले बताए । ‘नेपाल हाम्रा लागि प्राथमिकतामा छ र हामी नेपाल क्रिकेट संघलाई फेरि आईसीसीमा फिर्ता ल्याउन लागि परेका छौँ’ उनले भने ।

नेपालले हालै नामिबियामा देखाएको प्रदर्शन आश्चर्यजनक नभएको पनि उनको भनाइ छ । ‘अहँ मलाई नेपालको खेल देखेर आश्चर्य लागेन । नेपालमा राम्रा क्रिकेट खेलाडीहरूको कमी छैन । राष्ट्रिय संघ नहुँदा खेलाडीहरूका लागि स्थिति सहज छैन तर हामीले सक्दो गरिरहेका छौँ । हामीले गर्ने कामले क्रिकेट संघ को ठाउँ लिन सक्दैन’ ग्लेनराइटले भनेका छन् ।

ग्लेनराइटले नेपालले हालै पाएको सफलताको सम्पूर्ण श्रेय नेपाली खेलाडी र कोचहरूलाई जाने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment