+
+

होली खेल्नुअघि जान्नैपर्ने कुरा, रंगले हुनसक्छ छालाको क्यान्सर

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १५ गते २१:३४

होली, अर्थात रंगहरुको उत्सव । यसको आफ्नै सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक महत्व छ । खासमा होलीलाई रंगहरुको पर्व भनिन्छ । विभिन्न रंगले एकअर्कालाई रङ्याएर यो पर्व मनाइन्छ ।

यो उत्सव हामी त्यहीबेला मनाउँछौं, जतिबेला प्रकृतिमा हरियाली छाउँछ । बोट विरुवामा नयाँ पालुवा पलाउन थाल्छ । फूलहरु हावामा बयेली खेल्न थाल्छन् ।

हो, यतिबेला प्रकृति रंगीन हुन्छ । अतः प्रकृतिसँग एकाकार हुनुपर्छ भन्ने सन्देश होली पर्वले बोकेको छ । रंगीन प्रकृतिको पृष्ठभूमीमा हामीले पनि सप्तरंगी जीवन बिताउनुपर्छ ।

रंगको स्रोत के होला ?

सूर्यको किरण नै रंगको मूल स्रोत भएको वैज्ञानिक तथ्य छ । सूर्यको ज्योतिमा विभिन्न सात रंग प्रकट हुन्छन्- वैजनी, आकासे, निलो, हरियो, पहेंलो, रातो र सुन्तले । त्यसो त सूर्यको किरणमा सात रंग हुन्छन् भन्ने कुरा विज्ञानले होइन ऋषि-मुनीहरुले पनि परापूर्वकालदेखि मान्दै आएका छन् । सूर्यको यही सप्तरंगी किरणको शक्तिलाई बुझेर नै उनीहरुले सूर्य चिकित्सापद्धति विकास गरेका थिए ।

जीवन श्यामश्वेत हुनुहुँदैन, प्रकृति जस्तै रंगीन हुनुपर्छ भन्ने अर्थ पनि छ । यस हिसाबले होलीको आफ्नै विशिष्ट महत्व छ । तर, यसलाई बुझेर मनाउनुपर्छ ।

होली आफन्त, साथीभाइमाझ खेल्ने हो । नचिनेका व्यक्तिलाई लोला छ्याप्नु आफैमा मुर्खता हो, अपराध हो ।

प्रकृतिसँग एकाकार हुनुपर्छ भन्ने सन्देश होली पर्वले बोकेको छ । रंगीन प्रकृतिको पृष्ठभूमीमा हामीले पनि सप्तरंगी जीवन बिताउनुपर्छ ।

हामीकहाँ के चलन छ भने, अरुलाई लोला छ्यापेर आफू रमाउने । अरुलाई पिचकारीले भिजाएर आफू हाँस्ने । यो विकृति हो । होलीको महत्व र अर्थ नजानेकाहरुले गर्ने कृत्य हुन् यी । वास्तवमा होली रंगहरुले खेल्नुपर्छ । रंग पनि प्राकृतिक हुनुपर्छ । यस्ता रंगले शरीरलाई नराम्रो असर गर्ने होइन, बरु राम्रो गर्छ ।

बजारमा पाइने कतिपय रंगहरुमा रसायन मिसाइएको हुन्छ जसले शरीरमा क्यान्सरसमेत गराउँछ । त्यसैले होली खेल्न प्राकृतिक रंगको व्यवस्था गर्नु उत्तम हुन्छ ।

होलीका लागि प्राकृतिक रंग

१. रातो चन्दनको लेप- यसलाई अबिर जस्तै बनाएर प्रयोग गर्न सकिन्छ । साथै चन्दनको लेपले छालामा राम्रो प्रभाव पार्छ । दुई चम्चा चन्दनको लेपलाई पाँच लिटर पानीमा उमाल्नुपर्छ । अतः यसलाई थप २० लिटर पानीमा मिसाएर रंग बनाउन सकिन्छ ।

२. आधा कप पानीमा दुई चम्चा बेसार राखेर थोरै चुना मिसाउनुपर्छ । त्यसमा एक लिटर पानी हालेर घोलौं । उक्त रंगीन पानी पनि होलीका लागि उपयोगी हुन्छ ।

३. सम्भव भए टमाटर र गाजरको रसमा पानी मिसाएर रंग तयार गर्न सकिन्छ ।

४. धनियाँ र पुदिनाको पेस्टलाई पानीमा मिसाएर पनि रंग वनाउन सकिन्छ ।

साथै अबिरले पनि होली खेलिन्छ । सिसा नमिसाइएको गुणस्तरीय अबिरले स्वास्थ्यमा खास हानी गर्दैन । सुख्खा अबिर शरीरबाट सजिलै हटाउन पनि सकिन्छ ।

अतः यहाँ होली खेल्नेबारे केही जानकारी दिइएको छ ।

होलीका लागि आवश्यक सामग्री के होला त ? यसका लागि सकेसम्म प्राकृतिक रंगको व्यवस्था गरौं, फूल, पात आदिको रसबाट । चन्दन, बेसार आदिको पनि प्रयोग गर्न सकिन्छ । खेल्नुअघि सफा पानीको व्यवस्था गरौं ।

रंगको असरबाट छालालाई जोगाउनका लागि आवश्यक क्रिम जोहो गरौं । केसमा लगाउने क्रिम एवं तेल, होली खेलिसकेपछि रंग हटाउन प्रयोग गरिने केमिकल, साबुन आदिको व्यवस्था गरौं ।

होलीको तयारी

१. छुट्टै पहिरन लगाऔं । सकेसम्म पूरै शरीर ढाक्ने पहिरन उपयुक्त हुन्छ ।

२. हात, मुख धोएर कपडाले नछोपिएको अंगमा क्रिम लगाऔं । जसले गर्दा रंगको असरबाट छालालाई जोगाउन सकिन्छ ।

३. केसमा तेल या क्रिम लगाऔं । महिलाहरुले केस बाँध्नु राम्रो हुन्छ ।

४. होलीमा प्रयोग गरिने रंग, केमिकल हात एवं नङमा बढी पर्छ । त्यसैले नङ जोगाउन नङ पालिस लगाऔं ।

५. गुणस्तरीय अबिर र सफा पानीको व्यवस्था गरौं ।

सुख्खा रंग हटाउने विधि

१. सुख्खा अविरले मात्र खेलिएको छ भने त्यसलाई पानीले धुनुहुँदैन, कपडाले पुछ्नुपर्छ ।

२. गिलो रंगलाई तुरुन्तै पुछिदिने हो भने पनि रंग जान्छ ।

३. टाउकोमा लागेको अविरलाई काइँयोले कोरिसकेपछि स्याम्पु प्रयोग गरेर नुहाउनुपर्छ ।

४. साबुन दलेर नुहाउँदा पनि अविर हटाउन सकिन्छ ।

५. कसैले अविर दल्नासाथ झट्कारेर पनि हटाउन सकिन्छ ।

होलीको रंगमा प्रयोग हुने रसायनले क्यान्सरसमेत हुनसक्छ । त्यसैले सकेसम्म प्राकृतिक रंग प्रयोग गरौं । चन्दन, बेसार, फूल, पातको रस उत्तम विकल्प हुनसक्छ ।

रंग हटाउने विधि

१. रंग विस्तारै हटाउनुपर्छ, रगड्नु हुँदैन । यसले छालामा असर गर्छ ।

२. अनुहारमा लागेको रंग हटाउन पहिले वाफ लिनुपर्छ । यसले अनुहारको रोमछिद्र एवं प्वाल खुला हुन्छ र सजिलै रंग हटाउन सकिन्छ ।

३. वाफ लिइसकेपछि क्लिजिङ मिल्कले सफा गर्नु राम्रो हुन्छ । त्यसपछि फेसवास प्रयोग गरेर अनुहार पखाल्नुपर्छ ।

४. केसमा लागेको रंग हटाउन कन्डिसनयुक्त माइल्ड स्याम्पु प्रयोग गर्नुपर्छ ।

५. रंग हटाउन पेटेल स्पिरिट प्रयोग गर्नु हुँदैन । त्यसले छालालाई रुखो बनाउँछ ।

घरेलु उपाय

१. बेसनमा कागती र दूध मिसाएर पेस्ट बनाउने, त्यसलाई छालामा लगाएर १०-१५ मिनेट त्यत्तिकै छाड्ने र धुने ।

२. मुलाको रस निकालेर त्यसमा दूध, बेसन तथा मैदाको मिश्रण बनाउने । यस्तो मिश्रण लगाएर सफा गरेपछि छालामा चमक आउँछ ।

३. केसमा रंग भए राम्रोसँग केस झट्कार्ने । त्यसपछि बेसन तथा दहिले केस पखाल्नु पर्छ ।

४. नङमा लागेको रंग हटाउन कागती प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?