१५ फागुन, काठमाडौं । संसदीय दल नेता छान्न हुने चुनावको तयारी हुँदै गर्दा कांग्रेस महामन्त्री शशांक कोइरालाको सक्रियता बढेको छ । एउटा खेमाले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउने लबिङ सुरु गरेको छ ।
कोइरालाले पनि भोलि ‘होली’को अवसरमा भन्दै पार्टी नेताहरुलाई लञ्जको निम्तो दिएका छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेताहरुलाई विहान ११ बजे नै बोलाइएको छ ।
मध्याहृन १२ बजे केन्द्रीय सदस्य र संघीय संसदका सदस्यहरुलाई बोलाइएको छ ।
सर्वसम्मत संसदीय दलको नेता बन्ने प्रयासमा रहेका महामन्त्री कोइरालाले लञ्चका नाममा ‘म सबैलाई मिलाउन सक्छु’ भन्ने सन्देश दिन खोजेको एक नेताले बताए ।
संसदीय दलको चुनाव २१ गतेलाई तय भएको छ । २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । पार्टी सभापति शेरबहादुर देउवा दलको नेताका स्वभाविक उम्मेदवार हुन् भने प्रकाशमान सिंहले चुनाव लड्ने बताएका छन् ।
महामन्त्री कोइरालाले भने चुनाव नलड्ने तर, सर्वसम्मत भए दलको नेता बन्ने बताएका छन् ।
प्रदिप गिरी, विश्वप्रकाश शर्मा लगायतले कोइरालालाई दलको नेता बनाउन लबिङ गरेका छन् । उनीहरु मध्येका एकले कोइरालाको नाममा सहमति जुट्न सक्ने संकेत गर्दै अनलाइनखबरसँग भने, ‘भोलिको लञ्चपछि सुखद खबर आउन सक्छ ।’
तर, सभापति शेरबहादुर देउवा अझै शशांकलाई दलको नेता बनाउन सहमत भइनसकेको स्रोतले बताएको छ । ‘प्रकाशमान मात्र होइन, शशांकको नाममा पनि उहाँले सहमति जनाउनु भएको छैन’ उनी निकट एक नेताले भने, ‘चुनाव नै हुँदा पनि उहाँको नाममा बहुमत भएकाले आफैं दलको नेता बन्नुहुन्छ ।’
यद्यपि संसदीय दलको नेतामा देउवाको नाममा सर्वसम्मत सहमति जुट्ने अवस्था भने छैन । कोइराला उम्मेदवार नबने पनि प्रकाशमान सिंह उनीविरुद्ध उठ्ने मुडमा छन् ।
विश्वप्रकाशको ट्वीट : सके एक होऊ, नसके छाडे
यसैबीच महामन्त्री कोइरालालाई सर्वसम्मत दलको नेता बनाउनुपर्छ भन्ने लबिङका नेता एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार साँझ ट्वीट गर्दै पार्टी सभापति देउवा र नेता पौडेललाई एकतावद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।
एकताबद्ध भइ नेतृत्व गर्नोस् कि दुवै अभिभावक बन्नुस्,वैकल्पिक पंक्ति पार्टीमा तम्तयार छ !
चिठिपत्रको शैली हाम्लाइ छाड्नुस्,
चिया बैठकबाट मिठो सल्लाह र समयोचित मार्ग खोज्नोस्,देशभरिका कांग्रेसजनको यहि माग छ !!(दुवै नेतालाई सल्लाह दि´सकेपछि विश्वप्रकाशको ब्यक्तिगत ट्विट) pic.twitter.com/ox9nSewwrf
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 27, 2018
उनले दुबै नेतालाई ‘अभिभावक बन्नुस्, वैकल्पिक पंक्ति पार्टीमा तम्तयार छ’ भनेका छन् ।
आफ्नो यो व्यक्तिगत विचार भएको भन्दै उनले चिठीपत्रको शैली छाड्न पनि पौडेललाई आग्रह गरेका छन् । स्रोतका अनुसार प्रवक्ता शर्माले हालै मात्र सभापति देउवा र पौडेललाई भेटेर औपचारिक रुपमा आग्रह पनि गरेका थिए ।
प्रतिक्रिया 4