Comments Add Comment

प्रदेश ३ को नाम ‘नेपाल मण्डल’ राख्न प्रस्ताव

नेपाल मण्डलले १३ जिल्लाको पहिचान समेट्ने दावी

२१ फागुन, काठमाडौं । प्रदेश ३ को नाम ‘नेपाल मण्डल’ राख्न एमालेका एक सांसदले पार्टीभित्र औपचारिक प्रस्ताव पेश गरेका छन् । प्रदेशसभामा एकल बहुमत रहेको र दुई तिहाइ बहुमत प्राप्त वाम गठबन्धनको नेतृत्व गरिरहेको एमाले नेतृत्व पनि नेपाल मण्डल प्रदेश नाम राख्न सकारात्मक देखिएको दावी ती सांसदको छ ।

काठमाडौं क्षेत्र ९ ‘क’ बाट निर्वाचित एमाले सांसद डा.अजयक्रान्ति शाक्यले प्रदेश ३ को नाम नेपाल मण्डल राख्दा १३ ओटै जिल्लाको पहिचान समेटिने दावी गरेका हुन् । आइतवार साँझ पत्रकार सम्मेलन गरी शाक्यले नेपाल मण्डलको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र सामाजिक महत्व रहेको बताए ।

शाक्यले भने- स्वयम्भु पूराणको आधारमा राजाधर्माकरले नियमपूर्वक राज्य चलाएकाले त्यो देशको नाम ‘नेपाल मण्डल’ रहन गएको थियो । ‘नेपाल मण्डल’शब्दको ऐतिहासिकता अध्ययन गर्दा इस्वीको करिब तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । इस्वीको तेस्रो शताब्दीतिरको मानिने आर्य महामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं.५०२/५०३मा ‘नेपाल मण्डल’ भन्ने शब्द उल्लेख भएको छ ।

शाक्यले ‘नेपाल मण्डल’ लिच्छवी राजा मानदेवभन्दा अघिदेखि नै उल्लेख भएको तथ्य इतिहास प्रमाणका आधारमा बुझ्न सकिने बताए । यस्तै नेपाल मण्डल शब्द सर्वप्रथम काठमाडौं ज्ञानेश्वरस्थित लिच्छवि राजा जयदेवको ईस्वीको आठौं शताब्दीको अभिलेखमा उल्लेख भएको शाक्यले बताए ।

शाक्यले भने- ‘नेपाल मण्डल’ नाम नेपालका प्राचीन अभिलेखहरुमा आठौं शताब्दीदेखि निरन्तर प्रयोग हुँदै आएको पाइन्छ । लिच्छविकालको अभिलेखमा उल्लेख भएअनुसार नेपाल मण्डलको फैलावट पूर्वमा कुशेश्वर (सुनकोशी, सिन्धुली), पश्चिममा केवलपुर (धादिङ), उत्तरमा रसुवापारि केरुङ र दक्षिणमा टिस्टुङ (मकवानपुर) सम्म थियो । तसर्थ वर्तमान ३ नं प्रदेश ऐतिहासिक हिसाबले नेपाल मण्डल हो ।’

पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरी अरु राज्यहरु यसमा गाभिँदा नेपाल मण्डललाई एक अलग्गै प्रदेश मानेको पनि शाक्यले दावी गरेका छन् । शाक्यले भूगोलको हिसावले पनि प्रदेश नम्बर तीनको नाम नेपाल मण्डल नै उपयुक्त हुने बताए ।

उनका अनुसार सोह्रौं शताब्दीतिर लेखिएको ‘नेपाल महात्मय’को अध्याय १५ श्लोक ३-५मा उल्लेख भएअनुसार ‘नेपाल मण्डल’को सिमाना पूर्वमा कौशकी (तामाकोशी, रामेछाप), पश्चिममा त्रिशूलगङ्गा (त्रिशूली, धादिङ्ग र नुवाकोट), उत्तरमा शिवलुति (गोसाईकुण्ड क्षेत्र, रसुवा) र दक्षिणमा शीतलोदका नदी (चिसापानी, इन्द्रसरोवर, मकवानपुर) सम्म रहेको पाइन्छ ।

मल्लकालसम्म आउँदा नेपाल मण्डल भन्नाले पाँचवटा राज्य भएको एउटा देश भन्ने बुझिन्छ । ती पाँचवटा राज्यहरु क्रमशः काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा र दोलखा हुन् ।

शाक्यले भूगोलको आधारमा हेर्दा पनि नेपाल मण्डल भनेको काठमाडौं उपत्यका मात्र नभइ प्रदेश नं. ३ को सम्पूर्ण भूगोल नै पर्ने बताए ।  काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायलाई समेत आग्रह गर्दै उनले भने- नेपाल मण्डल नाम उपत्यकाबासीको मात्र हो भनेर भ्रम छर्ने प्रयास नगरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment