Comments Add Comment

डोटीका सरकारी स्वास्थ्य संस्थामा १७ दिनदेखि सेवा अबरुद्ध

डोटी, फागुन २२ । डोटीका सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सकहरुले आफूहरु असुरक्षित भएको भन्दै फागुन ९ गतेदेखि जिल्ला छोडेपछि स्वास्य सेवा अवरुद्ध भएको छ ।

फागुन ६ गते जिल्ला अस्पताल डोटीमा काजमा कार्यरत चिकित्सक डा. जितेन्द्र सिंहमाथि बिरामीलाई दुव्र्यबहार गरेको भन्दै कुटपिट भएपछि सुरक्षाको कारण देखाउँदै अस्पताल र जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकहरु गिरीष अवस्थी, विबस पराजुली, जितेन्द्र सिंह र राजकुमार बिश्वकर्माले जिल्ला छोडेका थिए ।

आफूहरुलाई असुरक्षा भएको भन्दै जिल्ला छोडेका सरकारी सेवाका चिकित्सकहरुले र्फकन मानेका छैनन् ।

जिल्ला छोड्ने चिकित्सकहरुमा डा. अवस्थी निक साईमन नामक गैरसरकारी संस्थावाट नियुक्त चिकित्सक हुन भने अन्य सरकारी सेवाका हुन ।

एक महिलाको भिडियो एक्स-रे गर्ने क्रममा डा. जितेन्द्र सिंहले दुर्व्यबहार गरेको भन्दै बिवाद उत्पन्न भएपछि डा. जितेन्द्रले महिलाका आफन्त एक युवकलाई झापड लगाएका थिए । ‘डाक्टरले भिडियो एक्स-रे नगरी मलाई वाहिर पठाए’ ती महिला भन्छिन् ‘डाक्टरले ममाथि अभद्र व्यवहार गरे ।’

दुव्र्यवहार पनि गरेको र भिडियो एक्स-रे पनि नगरिदिएकाले आफूले आफन्तलाई खबर गरेको ती महिला बताउँछिन् ।

सिंहको उक्त व्यवहारवाट आक्रोसित महिलाका आफन्तहरुले सिंहको दाँत समेत भाँचिने गरी कुटपिट गरेका थिए ।

उक्त घटनापछि नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ (गोडान) ले विज्ञप्ति जारी गर्दै जिल्लाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुलाई जिल्ला छोड्न आग्रह गरेपछि सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले जिल्ला छोडेका थिए ।

डा. जितेन्द्र भने आफूले त्यस्तो कुनै दुव्र्यवहार नगरेको दावी गर्दै आएका छन् ।

प्रहरीले चिकित्सकलाई कुटपिट गरेको भन्दै चार जनाबिरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता गरी अनुसन्धानको क्रममा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार डोटी दिसिनपा-७ का हिम्कत सिंह बिष्ट, बिजय बिष्ट, टेकबहादुर विष्ट र सोही नपा-६ का अरुण महतलाई घटना भएकै दिन नियन्त्रण लिई थुनामा राखिएको छ । सिंहले मुद्धाको अनुसन्धान भइरहेको वताए ।

कुटपिटमा संलग्न व्यक्तिहरुलाई थुनी कारवाही भइरहेको भएपनि चिकित्सकहरुले घटनालाई बहाना बनाएर जिल्ला छोडेको स्थानीयले आरोप लगाएका छन् । ‘जसले कुट्यो ती जेलमा छन् अनि के को असुरक्षा ?’ अस्पतालमा उपचारका लागि आएका एक व्यक्तिले भने ‘पहिले गल्ती आफै गर्ने अनि एक दुई जनाका कारण सिङ्गै जिल्लावासीलाई दुःख दिने कहाँको नियम हो ?’

उनले अस्पतालमा तत्काल चिकित्सक आउनु पर्ने माग गरे ।

चिकित्सक नभएका कारण दिनहुँ बिरामीहरु फर्केर जाने गरेको अस्पतालका एक स्वास्थ्यकर्मीले वताए । उनले भने ‘डाक्टर नभएपछि भिडियो एक्स-रे, ल्याव, ओपिडीमा आएका बिरामीहरुलाई फर्काउनु पर्ने अवस्था छ ।’

चिकित्सक छिटो पठाउनु पर्ने भन्दै आफूले स्वास्थ्य मन्त्रालयका सचिवसँग कुरा गरेको बताउँछन् डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री । खत्री भन्छन् ‘चिकित्सक छिटो पठाउनुहोस् भनेको छु, सायद छिट्टै आउँछन् होला ।’ उनले आफूले यस बारेमा प्रदेश नं. ७ का मुख्यमन्त्रीसँग पनि कुरा भइरहेको बताएका छन् ।

आफूहरुले आरोपीलाई थुनामा राखेर मुद्धा दर्ता गरी अनुसन्धान गरिरहँदा पनि चिकित्सकहरुले असुरक्षित भएको भन्नु गलत भएको प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंह बताउँछन । उनी भन्छन् ‘स्वास्थ्य संस्थामा अन्यत्र पनि घटनाहरु हुने गरेका छन, सबैले जिल्ला छोड्दै हिड्ने हो भने के होला ?’ चिकित्सकहरुलाई कुनै पनि प्रकारको असुरक्षा नभएको सिंहको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment