+
+
Shares

दिल्लीबाट यसरी काठमाडौं आइपुग्छ लागूऔषध

अोसार्ने र डिलरवाला पक्राउ, मुख्य कारोबारी उम्किए

गौरव पोखरेल गौरव पोखरेल
२०७४ फागुन २३ गते १९:२०

२३ फागुन, काठमाडौं । पछिल्लो समय काठमाडौं लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दो छ । प्रहरीले बेलाबेला डाइजाल्याप, फेनारागन, प्राक्सिभोन जस्ता लागूऔषध अवैध रुपमा भित्र्याउनेहरुलाई थानकोट नाकामा पक्राउ पनि गरेको हो ।

तर, यसपटक भने लागूऔषध तस्करीको नाइकेसम्म पुगेको प्रहरीले दाबी गरेको छ ।

जनसेवा प्रहरीले भारतीय नागरिकसहित तीन जनलाई पक्राउ परेको छ । उनीहरु लागूऔषध आसार्ने र डिलरबाला हुन् तर, मुख्य कारोबारी भने उम्किएका छन् ।

प्रयोगकर्तामार्फत यसरी खुल्यो नेक्सस

औषध प्रयोगकर्ता बढेको गुनासो आएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्वराज पोखरेलले जनसेवाका डिएसपी टेकुनन्द लिम्बुलाई लागूऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्नमाथि कडा निगरानी गर्न निर्देशन दिए ।

त्यसको केही दिनमा नै परोपकार क्षेत्रबाट एक जना लागूऔषध प्रयोगकर्ता पक्राउ परे । प्रहरीले उनलाई सार्वजनिक गरेन, बरु उनको माध्यमबाट नेक्सस खोजी गर्न थाल्यो ।

सुरुमा उनलाई लागूऔषध बेच्नेलाई पक्राउ गर्‍यो । विस्तारै लागूऔषध कारोबारको अन्य लेयर पहिचान गर्दै अघि बढ्यो । अनुसन्धान गर्दै जाँदा जनसेवा प्रहरी काठमाडौंमा लागूऔषध विक्री गर्ने डिलरकै सञ्चालकसम्म पुग्न सफल भयो ।

नुवाकोटको तलाखु–९ घर भइ काठमाडौं–२१ जैसिदेवल बस्दै आएका २५ वर्षीय सुनिल घिमिरे पक्राउ परे । उनी लागूअाैषधको डिलर नै सञ्चालन गर्छन् । उनको साथबाट डाइजाल्याप, नुफिन र फेनारगन गरी २०३ सेट लागूऔषध बरामद भयो, जसको बजार मूल्य झण्डै साढे २ लाख छ ।

बयानका क्रममा घिमिरेले दुई जना व्यक्ति डेलिभरी लिएर बुधबार काठमाडौं आउँदै गरेको सूचना चुहाए । अन्ततः मंगलबार भारतको दरभंगाका २६ वर्षीय महम्मद रीयाजुदिन र बाराको गढिमाई नगरपालिका घर भइ काठमाडौं बस्दै आएका ३३ वर्षीय विगु रायभरलाई नियन्त्रणमा लिन प्रहरी सफल भयो ।

उनीहरु लागूऔषधको मुख्य कारोबारी भने होइनन् । वीरगञ्जको रक्सौल नाकाबाट लागूऔषध काठमाडौंसम्म ल्याउने र सम्बन्धित ठाउँमा डेलिभरी गर्ने जिम्मेवारी उनीहरुको हो । त्यसबापत प्रत्येक खेपमा २० हजार रुपैयाँ पाउँथे ।

दिल्ली–रक्सौल–काठमाडौं रुट

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसारे लागूऔषध तस्करीका लागि भारतको नयाँ दिल्ली, रक्सौल हुँदै काठमाडौंसम्मको रुट प्रयोग गरेको खुलेको छ ।

सीमानाका वीरगञ्ज पारिपट्टीको भारतीय शहर रक्सौलमा मामा नाम गरेका एक व्यक्ति छन्, जसले नयाँ दिल्लीबाट आउने ‘कन्साइन्मेन्ट’ लाई रिभिस गर्छन् ।

उनैले नेपाल पठाउने गर्छन् । सोमबार उनले वीरगञ्जबाट काठमाडौं ‘कन्साइन्मेन्ट’ पठाउने तयारी गरेका थिए । त्यसका लागि विगु र महम्मदलाई जिम्मेवारी सुम्पिए ।

दुई जनाले सोमबारै नाइट बसमा डाइजाल्याप, नुफिन र फेनारागन एक हजार ६ सय सेट, गाँजा चिपड ११ प्याकेट (हरेकमा १ सय ग्राम) र गाँजा पेल्ने सानो हाते मेसिनलाई लुकाएर राखे । र, आफूहरु चाहिँ अर्कै गाडीमा चढे ।

मंगलबार उनीहरु कलंकीमा ओर्लिएर सामान भएको गाडीमा पुगे । र, भेला पारेर तत्काल काठमाडौंका विभिन्न क्षेत्रमा रहेका डिलरहरुमा डेलिभरी गर्ने तयारी थाले ।

तर, उनीहरु लागूऔषध आउँदै गरेको सुराक प्रहरीलाई प्राप्त भइसकेको थियो र दुवै प्रहरीको फन्दामा परे ।

मुख्य कारोबारी उम्किए

प्रहरी स्रोतका अनुसार वीरगञ्जबाट काठमाडौं भित्रिएको लागूऔषधको मुख्य कारोबारी मामा नामक व्यक्ति नै हुन् ।

तर, उनको बारेमा विस्तृत विवरण हात पार्न प्रहरी अहिलेसम्म असफल देखिन्छ । स्रोतका अनुसार उनी पनि मंगलबार काठमाडौंमै थिए । तर, पक्राउ गर्न प्रहरी चुक्यो ।

‘पक्राउ परेका तीन जना मध्येका एकले उनी मंगलबार पैसा लिन काठमाडौं आएको बताएका थिए’, एक प्रहरी अधिकारीले अनलाइनखबरसँग भने । मामा नाम गरेका मुख्य कारोबारीका बारेमा प्रहरीले अहिले थप अनुसन्धान थालेको छ ।

तस्करीको नयाँ शैली

लागूऔषध लुकाउन नयाँ शैली अपनाएको खुलेको छ । काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलका अनुसार उनीहरुले ग्रिजको बट्टाभित्र हालेर लागूऔषध लुकाएका थिए ।

‘ग्रिजको बाल्टिनमा माथि पट्टी ग्रिज र तलपट्टी लागूऔषध राखेर प्रहरीलाई छक्याउँदै काठमाडौंसम्म लागूऔषध ल्याइने गरेको भेटिएको छ’, उनले भने, ‘यो लागूऔषध तस्करीको नयाँ शैली हो ।’

उनीहरुले टर्बो प्लस ग्रिज लेखिएको १८ केजीको बाल्टीमा डाइजाल्याप, नुफिन र फेनारागन १००० सेट, ५ केजीको दुई वटा बाल्टीमा २५०/२५० सेट र ज्रेबाको झोलामा लुकाएर १०० सेट लागूऔषध काठमाडौं ल्याएका थिए ।

सामान्य अवस्थमा प्रतिसेट १ हजार रुपैयाँदेखि १५ सय रुपैयाँसम्ममा यो लागूऔषध विक्री वितरण हुन्छ । तर, अभावमा दुई हजार रुपैयाँदेखि २५ सय रुपैयाँसम्म पर्छ ।

यसलाई आधार मान्दा प्रहरीले मंगलबार बरामद गरेको लागूऔषधको मूल्य २३ लाख रुपैयाँ पर्छ ।

पक्राउ परेका व्यक्तिहरुले ५/६ महिनाअघिबाट काठमाडौंसम्म लागूऔषध ल्याउने गरेको खुलेको छ, जुन प्लस टुको विद्यार्थीदेखि अन्य युवासम्मलाई विक्री गर्ने गरेका थिए ।

यो पनि पढ्नुस् 

नयाँ दिल्लीबाट नेपालमा लागूऔषध भित्र्याउने गिरोहका तीन जना समातिए

लागूऔषध कारोबारीको नयाँ काइदा, ग्रिजमा डुबाएर ओसारपसार

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?