Comments Add Comment

दुबईमा ‘लिभिङ टुगेदर’, अर्कैसँग बिहेपछि ब्ल्याकमेल गर्दै बलात्कार !

२५ फागुन, काठमाडौं । काठमाडौंको ठमेलका एक व्यवसायीले ब्ल्याकमेल गरेर युवतीलाई लामो समयदेखि बलात्कार गर्दै आएको खुलेको छ ।

प्रहरीले २३ फागुनमा ठमेलस्थित उनकै पसलबाट ती व्यवसायीलार्इ पक्राउ गरेको छ । यद्यपि, उनको परिचय खुलाएको छैन ।

‘घटनामा उसँगै अन्य व्यक्ति पनि संलग्न हुन सक्ने देखिएको छ । हामीले त्यसतर्फ अनुसन्धान गरिरहेका छौं’, काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले अनलाइनखबरसँग भने, ‘त्यसैले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ ।’

प्रहरी स्रोतका अनुसार पक्राउ परेका ५५ वर्षीय व्यवसायीले युवतीको अश्लिल भिडियो र फोटो खिचेर राखेका थिए । त्यसपछि ब्ल्याकमेल गर्दै करिब एक वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ ।

बुधबार पीडितले प्रहरीमा जाहेरी दिएलगत्तै उनी पक्राउ परेका हुन् ।

उनलाई शुक्रबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइ जबरजस्तीकरणी मुद्दामा म्याद थपिएको महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक पोखरेलले बताए ।

यस्तो थियो घटना

लैनचौरमा बुबा-आमासँग डेरा गरी बस्दै आएकी एक महिलाले ०६६ सालमा झापा बिर्तामोडका युवकसँग विवाह गरिन् । परिवारकै सहमतिमा उनीहरुबीच मागी विवाह भएको थियो ।

उनीहरुबाट एउटा छोरा पनि जन्मियो ।

तर, १७ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएकी उनको बैबाहिक सम्वन्ध लामो समयसम्म टिक्न सकेन । श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी उनी बुबाआमासँगै बस्न थालिन् ।

०७१ सालदेखि उनको परिवारै लैनचौरस्थित एक सुन व्यवसायीको घरमा भाडामा कोठा लिएर बस्न थाल्यो । पीडित युवतीको बुबा चिनजानको आधारमा त्यहाँ उनीहरु बस्न थालेका थिए ।

युवती र घरधनी नजिकिए । ‘त्यसवेलै उसलाई ललाईफकाई प्रभावमा पार्दै लगेको रहेछ’, पीडितको परिवारको एक सदस्यले भने, ‘उसले छोरीलाई राम्रो कमाइ हुने भन्दै वैदेशिक रोजगारीमा पठाइदिने समेत बताएपछि हामी पनि छोरीको उद्दार नै हुने भयो भन्दै खुशी भएका थियौं ।’

व्यापारीले उनलाई ठमेलस्थित एक घरको कोठामा बोलाए, जुन कोठामा उनले युवतीसँग सम्बन्ध राख्नैका लागि भनेर भाडामा लिएका थिए

व्यवसायीले युवतीलाई राम्रो कमाई हुने भन्दै दुबई पठाइयो । एक महिनापछि उनी पनि दुबई गए । त्यहाँ पुगेर उनले मुसलमान धर्मका कारणले अफ्ठ्यारो हुने भन्दै युवतीलाई आफूसँगै बस्न आग्रह गरे ।

अन्ततः उनीहरु ‘लिभिङ टुगेदर’ मा बस्न थाले । उनीहरुबीच शारीरिक सम्बन्ध पनि हुन थाल्यो ।

घरमा भने कुनै जानकारी दिइएको थिएन । केही महिनापछि युवतीको भाइ पनि रोजगारीका लागि दुबई गए ।

जब उनी दुबई पुगे, उनलाई दिदी र व्यापारीको सम्बन्धमाथि शङ्का लाग्यो । दुई जनाको गतिविधि शंकास्पद देखिएपछि उनले दिदीलाई नेपाल पठाए । लगतै व्यापारी पनि स्वदेश फर्किए ।

‘हामीले दुई जनालाई विहे गरेर बस्न पनि आग्रह गर्‍यौं’, पीडित युवतीकी एक आफन्तले भनिन्, ‘तर, ब्यापारीले मानेनन् ।’

यो घटनापछि दुईबीचको सम्बन्ध टुट्यो । ०७३ को माघतिर परिवारले उनको अर्कै केटासँग विवाह गराइदिए । युवकलाई युवतीको पहिलो विवाहको बारेमा त भनिएको थियो, तर, व्यापारीसँगको सम्बन्धको बारेमा कुनै जानकारी दिइएको थिएन । बिहेपछि उनीहरुको जीवन राम्रै चलिरहेको थियो ।

तर, युवतीकी श्रीमान वैदेशिक रोजगारीका लागि विदेश जाने सोचमा पुगे र, कतारका लागि उडे ।

जब श्रीमान् विदेशिए….

उनी विदेशिएपछि व्यापारी फेरि युवतीलाई सम्पर्क गर्न थाले । सुरुमा भेट्नका लागि युवतीले मानिनन् । तर, जब उनले दुबईमा लिभिङ टुगेदरमा बस्दा शारीरिक सम्बन्ध राखेको फोटो र भिडियो आफूसँग सुरक्षित भएको बताए, तब उनी छाँगाबाट खसे झैँ भइन् ।

अन्ततः उनी व्यापारीले भनेको ठाउँमा जान बाध्य भइन् । व्यापारीले उनलाई ठमेलस्थित एक घरको कोठामा बोलाए, जुन कोठामा उनले युवतीसँग सम्बन्ध राख्नैका लागि भनेर भाडामा लिएका थिए ।

भिडियो र फोटो श्रीमान्लाई पठाइदिने भन्दै उनले युवतीलाई पटकपटक बलात्कार गरेको खुल्न आएको छ ।

श्रीमानले त्यो तस्वीर हेरेपछि ….

व्यापारीलेे बन्धक बनाएर पटकपटक बलात्कार गरेकी युवती आजित भइसकेकी थिइन् । उनी आफ्नो इज्जत, श्रीमान् र आमाबुबाको डरले त्यो कुरा अरु कसैलाई भन्न पनि सकिरहेकी थिइनन् ।

तर, कति दिनसम्म त्यसरी चल्थ्यो र ! उनले व्यापारीलाई त्यो भिडियो र फोटो डिलिट गर्न आग्रह गर्न थालिन् ।

यदि डिलिट नगरे प्रहरी समक्ष उजुरी दिने समेत चेतावनी दिइन् । त्यसैबीच श्रीमान् समक्ष त्यो फोटो पुग्यो । व्यापारीले श्रीमानलाई फोटो पठाइदिएपछि आमाले पनि त्यस बारेमा चाल पाइन् ।

अन्ततः युवती आमासँग महानगरीय प्रहरी वृत्त, लैनचौरमा पुगे । यद्यपि, सुरुमा वास्तविक कुरा बताउन सकेनन् । उनीहरुले प्रहरीलाई ‘कसैले आफूलाई अश्लिल भिडियो र फोटो पठाएर ब्याकमेल गरिरहेको’ सुनाए ।

आमासँग बयान लिएका एक प्रहरी अधिकारी भन्छन्, ‘उनीहरु साइबर क्राइमसँग सम्बन्धित समस्या भएको भन्दै हामी कहाँ आएका थिए ।’

तर, प्रहरीलाई उनीहरुको व्यवहार सुन्दा सुरुदेखि नै अनौठो लागिरहेको थियो । त्यहाँका प्रहरी प्रमुख दिपक पोखरेलसहित अन्य अधिकारीले युवती र आमालाई पटकपटक काउन्सिलिङ गरे । अन्ततः झण्डै ५ दिनपछि उनले प्रहरी समक्ष आफू बलात्कृत भएको बताइन् ।

‘सुरुमा उनीहरु घटना बाहिर आउँछ भनेर शशंकित भएका रहेछन् । हामीले सबै कुरा गोप्य रहन्छ भनेर विश्वास दिलाएपछि मात्रै उनीहरु उजुरी दिन तयार भए’, वृतका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘उनीहरुले बुधबार जाहेरी दिएसँगै व्यापारीलाई तत्काल पक्राउ गर्‍यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment