Comments Add Comment

शेरबहादुर तामाङ : ‘अधिवक्ता’लाई कानुन मन्त्रालयको जिम्मा

पीएचडी गर्दागर्दै मन्त्री, दम्पती नै माननीय !


२ चैत, काठमाडौं । सिन्धुपाल्चोकमा पशुपतिशमशेर जबरालाई लगातार दुईपटक पराजित गरेर ‘राणा शासन’ ढालेको बताउने शेरबहादुर तामाङले कसैले नसोचेको कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

तामाङको नाम कानूनमन्त्रीमा आउनसाथ न्यायिक क्षेत्रका व्यक्तिहरु उनको प्रोफाइल खोज्न थाले । कतिपयले कानुनी क्षेत्रभन्दा बाहिरका व्यक्ति कानूनमन्त्री बनेको टिप्पणी पनि गरे । तर, मानवशास्त्रमा पीएचडी गरिरहेका तामाङ बार काउन्सिलबाट लाइसेन्स लिएका अधिवक्ता पनि हुन् भन्ने धेरैले थाहै पाएका थिएनन् ।

नेपाल ल क्याम्पसबाट एलएलबी गरेका एमाले सांसद तामाङले इतिहास र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् । अहिले उनी परम्परागत कृषि प्रणालीको विकल्प के हुन सक्छ भनेर मानवशास्त्रीय आँखाबाट पीएचडी गर्दैछन् ।

मन्त्री पदमा रहेकै बेला तामाङको नामका अगाडि डा.थपिने सम्भावना छ । मन्त्रीको सपथग्रहण गरेलगत्तै अनलाइनखबरसँग कुरा गर्दै तामाङले न्यायिक क्षेत्र आफ्ना लागि नयाँ कार्यक्षेत्र नभएको बताए ।

मुलुक संघीयतामा गइसकेको अवस्थामा धेरै कानुनहरु बनाउनुपर्ने भएकाले भरोसा गरेरै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आफूलाई यो जिम्मेवारी दिएको उनले बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका तामाङ ०७० मा सिन्धुपाल्चोक ३ र ०७४ मा क्षेत्र घटेपछि क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

तामाङले दुबै चुनावमा पशुपतिशमशेरलाई पराजित गरे । यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी ९८ मतले पराजित भएका थिए ।

नेकपा एमालेको भातृ संगठन युवासंघको केन्द्रीय उपाध्यक्षसम्म भएका तामाङ एमालेको वागमती अञ्चल सचिव थिए ।

अशोक राईहरुसँगै वीरबहादुर लामा पनि पार्टी छाडेर हिँडेपछि तामाङ समुदायबाट एमालेले उनलाई अघि बढाउँदै वैकल्पिक केन्द्रीय सदस्य मनोनित गरेको थियो । नवौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भए ।

युवा नेतालाई चुनौतीको भारी

पहिलोचोटि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका तामाङको काँधमा गम्भीर जिम्मेवारी छ । नयाँ संरचनाका कानूनहरु बनाउनुपर्ने जिम्मेवारी एकातिर छ भने न्यायालयमा देखिएको विवाद र न्यायपरिषदको स्वच्छतामा पनि उनले सहजीकरणको भूमिका खेल्नुपर्ने हुन्छ ।

नेपालको इतिहासमै कहिल्यै नदेखिएको न्यायाधीश क्षेत्रको विकृतिबाट उनले देशलाई मुक्त गराउन सके भने तामाङको कार्यकाल सफल ठहरिने छ ।

दम्पत्ति नै माननीय !

शेरबहादुर तामाङ र उषाकला राई दम्पत्ति नै पूर्णकालीन राजनीतिमा छन् । उषाकला प्रदेश १ को प्रदेशसभा सदस्य छिन् ।

यसअघि उषा ०६४ मा संविधानसभा सदस्य थिइन् । नेकपा एमालेबाट मन्त्री बन्ने उनी पहिलो तामाङ नेता हुन् । उनी एमाले सम्वद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघका बरिष्ठ उपाध्यक्ष पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment