Comments Add Comment

स्टिभ जब्सले जागिरका लागि लेखेको निवेदन दुई करोडमा बिक्री

एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले जागिरका लागि सन् १९७३ मा दिएको एउटा निवेदन एक लाख ७४ हजार ७ सय ५७ डलरमा बिक्री भएको छ ।

यसको नेपाली मूल्य करिब १ करोड ८१ लाख ७४ हजार ७ सय २८ रुपैयाँ हुन्छ ।

नाम उल्लेख नगरिएको कम्पनीमा अज्ञात पदका लागि उनले दिएको निवेदन हेर्दा यस्तो लाग्दैन कि भविष्यमा उनले एप्पल जस्तो कम्पनी खडा गर्नेछन् ।

हातले लेखिएको निवेदनमा थुप्रै व्याकरणीय त्रुटीहरु छन् । क्यापिटल र स्मल लेटरमा पनि धेरै हेलचेक्र्याई गरेका छन् । यातायातमा पहुँच छ कि छैन भन्ने प्रश्नमा उनले ‘सम्भव तर अनिश्चित’ भन्ने जवाफ दिएका छन् ।

विशेष दक्षतामा उनले लेखेका छन्, ‘इलेक्ट्रोनिक टेक्निसियन वा डिजाइन इन्जिनियर । सन् १९७२ मा रिड कलेजमा पढाई छोडेपछि उनले जागिरका लागि सो निवेदन दिएका थिए ।

गत डिसेम्बरमा उनको निवेदनलाई बोनह्याम्सले न्यूनतम १८ हजार ७ सय ५० डलरमा लिलामीमा राखेको थियो । त्यतिबेला यसको भाउ लागेको थिएन । तर, दोस्रोपटक आरआर अक्सनले लिलामीमा राख्दा निकै उच्च मूल्यमा यो विक्री भएको छ ।

आरआर अक्सनका कार्यकारी उपाध्यक्ष बोब्बी लिभिङस्टोनले बोलकबोलमा भाग लिनेहरु प्राय उद्यमी र सफल इन्टरनेट कम्पनीहरुका मालिक भएको जानकारी दिएका छन् ।

‘यो चिठीले स्टिभ जब्सलाई नजिकबाट चिन्न मद्दत गर्छ,’ उनले भने, ‘आखिर उनी २० औं शताब्दीका सर्वाधिक महत्वपूर्ण व्यक्तिमध्ये एक हुन् ।’

स्टिभ जब्ससँग सम्वन्धित धेरै सामग्रीहरु लिलामीमा बिक्री भएका छन् । तीमध्ये सबैभन्दा बढी मूल्य यही चिठीले पाएको लिभिङ्स्टोनले जानकारी दिए । तर, अहिलेको डिजिटल युगमा यसरी हातले लेखिएका निवेदनहरु देख्न छोडिएकोमा उनी खिन्न छन् ।

गत मार्च ८ देखि १५ सम्म चलेको लिलामीमा अन्य एप्पलसँग सम्बन्धित सामग्रीहरु पनि राखिएका थिए । जसमध्ये जब्सले सन् २००१ मा हस्ताक्षर गरेको म्याक ओएस एक्स टेक्निकल म्यानुअल ४१ हजार ८ सय ६ डलरमा बिक्री भएको छ ।

यसअघि गत अक्टोबरमा मात्रै स्टिभ जब्सले हस्ताक्षर गरेको एउटा म्याग्जिन ५० हजार डलरमा बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment