सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावी अभियानमा फेसबुक प्रयोगकर्ताका डाटालाई अनधिकृत रुपमा प्रयोग गरिएको खुलासा भएसँगै विवादमा फसेको फेसबुकका प्रमुख मार्क जुकरबर्गले विश्वभरका प्रयोगकर्तासँग गल्ती स्वीकार गर्दै माफी मागेका छन् ।
तर जुकरबर्गका दुख सुरु भएको देखिएको छ, किनकी एक पछि अर्को गर्दै विश्वका दिग्गज कम्पनीहरुले फेसबुकलाई छाड्दै गएका छन् ।
टेस्ला कम्पनीका प्रमुख एलन मस्कले आफ्नो फेसबुक पेज डिलिट गरेका छन् । साथै उनले आफ्नो कम्पनी स्पेस एक्स र टेस्लाको फेसबुक पेज पनि डिलिट गरिदिएका छन् ।
टेस्ला र स्पेस एक्सको सिको गर्दै अन्य कम्पनीहरुले पनि फेसबुकसँग सम्बन्ध विच्छेद गर्ने निर्णय गरिसकेका छन् ।
यद्यपि फेसबुकसँग ती कम्पनीहरुको दूरी स्थायी नभएको हुँदा यसले फेसबुकलाई ठूलो प्रभाव नपार्ने ठानिएको छ ।
उता इन्टरनेट ब्राउजर कम्पनी मोजिलाले बुधबार एक ब्लगपोष्टमार्फत आफुले फेसबुकसँग एउटा विश्राम लिन थालेको घोषणा गर्यो ।
फायरफक्स ब्राउजर बनाउने यो कम्पनीले आफ्नो फेसबुक विज्ञापनलाई केही समयसम्मका लागि रोक्ने बताएको छ र अबदेखि उसले आफ्नो फेसबुक पेजमा पनि केही पोष्ट गर्नेछैन ।
यद्यपि मोजिलाले आफ्नो पेज डिलिट गरेको छैन । यदि फेसबुकले आफ्नो प्रयोगकर्ताको डाटा सुरक्षाका लागि कुनै दहि्रलो कदम उठाएमा वा गोपनियता सेटिंग्समा सुधार गरेमा आफु पुनः फेसबुकमा सक्रिय हुने संकेत उसले गरेको छ ।
त्यस्तै जर्मन बैंक Commerzbank ले पनि फेसबुकमा विज्ञापन दिन छाडेको छ र आफू र डाटा सेक्योरिटीलाई लिएर चिन्तित रहेको जनाएको छ ।
स्पीकर्स लगायतका अन्य विद्युतीय सामाग्री बनाउने कम्पनी Sonos ले पनि फेसबुक, इन्स्टाग्राम, गुगल तथा टि्वटरबाट एक हप्ताका लागि विज्ञापन फिर्ता लिने घोषणा गरेको छ ।
यद्यपि यी सबै कारवाहीहरु अस्थायी हुनसक्छन् । तथापि फेसबुकका लागि यो निकै ठूलो चिन्ताको विषय हो । पछिल्लो एक हप्तायता जुकरबर्गको संसारभर आलोचना भैरहेको छ । यस हप्ता फेसबुकको शेयर मूल्यमा १४ प्रतिशतले गिरावट आएको छ ।
Deletfacebook अभियान र दिग्गज कम्पनीहरुले फेसबुकसँग दूरी बनाउने घोषणा गरेसँगै लाग्दैछ फेसबुकका लागि अहिले दिन राम्रा छैनन् र तत्कालै अवस्था सुध्रने पनि देखिएको छैन ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4