Comments Add Comment

कन्ट्रोभर्सी क्विनः कलाको नाममा उत्ताउलो चर्तिकला

कोही खुल्लमखुला भन्छन्, ‘म पोर्नस्टार बन्छु ।’

कोही भन्छन्, ‘कि पूँजीले चल्छ, कि……ले ।’

कोही लुकाउने कुरा देखाएर महोत्सवहरूमा ‘हट केक’ बनिरहेका छन् । कोही सुन्नै नसिकने शब्द ओकलेर सोसल मिडियामा ‘भाइरल’ बनिरहेका छन् । यी तिनै पात्रहरूको कथा हो, जो भर्चुअल संसारमा बेपर्वाह तमासा मच्चाइरहेका छन् ।

ज्योति मगरः उत्ताउलो जवानी

गायिका ज्योति मगर र आस्था राउतवीच अहिले ‘भर्चुअल वार’ उत्कर्षमा छ । गायिका आस्थाले फेसबुकमार्फत गुनासोमिश्रित कटाक्ष गरिन्, ‘कति स्वरका धनी चेलीहरू घरमै बस्नुपर्‍या छ, अश्लील कुरा र नाङ्गो नाच गर्नेहरू महोत्सवमा बिकेका छन् ।’

अचेल महोत्सवको माहौल तताउने भनेकै ज्योति मगरले हो । ‘कुन मुलाको सिन्की’ गाएर भन्दा पनि उदाङ्गो वैंश पोखेर चर्चामा आएकी ज्योतिले यस्तो कटाक्ष नबुझ्ने कुरै भएन । उनले रक्षात्मक जवाफ फर्काइन् । त्यसपछि उनीहरू वाक्युद्धमा ओर्लिए । युट्युबमा एकअर्काप्रति धारे हात लगाउने र औंला ठड्याउने उपक्रम चलिरह्यो ।

ज्योतिको लागि यो एउटा ‘चटनी’ मात्र हो । उनले यस्ता विवादको पहाड छिचोलेकी छिन् । एकपटक गायक रामप्रसाद खनाल (हाल अमेरिका पलायन)सँग पनि ज्योतिको यस्तै दोहोरी चल्यो । खनालले ‘हिट हुनकै लागि गाएको हो भने निलो चलचित्र खेले हुन्छ’ भनिदिए । जवाफमा ज्योतिले पनि, ‘तपाई मेरो बुबा समानको मान्छे, आफ्नो छोरीलाई खेलाउनुहोस् । त्यसपछि म खेलौंला’ भनेर जवाफ दिइन् ।

ज्योति कतिसम्म विवादित गायिका हुन् भने, एक टेलिभिजनले उनको अन्र्तवार्तामा प्रतिबन्ध लगायो । नेपाल टेलिभिजनको ‘टि टाइम’ भन्ने कार्यक्रमका लागि उनले दिएको अन्तर्वार्ता प्रसारणमा रोक लगाइएको थियो ।

करियरको पूवार्द्धमा आफ्नो गला माझ्नेभन्दा अंग ‘एक्सपोज’ गर्नमै ज्योतिले निको ठानिन् । उनको आवाजको मार्धुयले होइन, उदाङ्गो जवानीले बढी ‘भाउ’ पायो । त्यही कारण त उनलाई, देशी-विदेशी स्टेजले ‘डिमान्ड’ गरे, गरिरहेका छन् ।

कस्तोसम्म मानसिकता छ भने, ज्योति मगरलाई नउफारेसम्म स्टेजको मात चढ्दैन । सम्भवतः स्टेजमा ज्योति मगर डिमान्ड गर्नेहरूलाई उनको गीतको हेक्का छैन तर भर्चुअल माध्यममा देखिने ‘बोल्ड’ फोटो/भिडियो/अन्तर्वार्ताहरू कण्ठै छ ।

सडकमा ओर्लिएर कुनै तमासा गर्नसाथ त्यो रातारात भाइरल बन्छ । भाइरल हुने त्यही घनचक्करमा परेर कोही छाडा कुरा ओकल्छन्, कोही पहिरन उतार्छन् । ज्योति, अर्चना या सरस्वतीको चर्तिकला त्यसकै उपज हो ।

औसतभन्दा होचो कदकी, मोटीघाटी, मंगोल वर्णकी, हँसमुख ज्योतिलाई जसरी स्टेजमा उतारिँदै छ, त्यसले उनको कलाभन्दा चर्तिकला -आस्थाले भनेजस्तै) बढी देखाउने चेष्टा गरिएको छ । भीडको यही मनोविज्ञान बुझेर ज्योति आफूलाई सक्दो उदाङ्गो बनाउँछिन् । न उनको चोलीले लाज ढाक्छ, न बोलीले । द्विअर्थी भाषा बोल्न उनलाई कुनै आइतबारले छेक्दैन । प्याच्च-प्याच्च द्विअर्थी कुरा बोलेर उनी विवादमा तानिन्छन् ।

स्टेजको कुरा छाडौं, म्युजिक भिडियोमा समेत उनको उत्ताउलो जवानी छताछुल्ल भएको छ । केही वर्षअघि ‘ढाडे बिरालो’ गीत गाएर विवादमा तानिइन् । कतिपय महोत्सवमा उनलाई ‘निषेध’ गरिएको र कलाकर्मीले ‘ज्योतिसँग स्टेज सेयर नगर्ने’ सम्मका खबरहरू बाहिर आउने गर्छन् । ज्योति अहिले बिम्ब भएकी छिन्, अभद्र/अशिष्ट/अश्लील महिलाको ।

अर्चना पनेरुः कला कि चर्तिकला ? 

जुन समाज ‘यौन’को कुरा गर्नासाथ लाजले खुम्चन्छ, त्यही समाजमा खुल्लमखुला ‘म पोर्नस्टार बन्न चाहन्छु’ भन्नु आश्चर्यलाग्दो हो । त्यो पनि विद्यालय तहमा पढाइ गरिरहेकी किशोरीले । उनले त भनिनन् मात्र, नग्न तस्वीर खिचाइन्, भिडियो रेकर्ड गराइन् ।

पनेरुको यो हर्कतलाई ‘निजी मामला’ ठान्ने वा ‘यौनजन्य कृत्य ?’ समाज अलमलियो । सुरुमा त प्रहरीले उनलाई पक्राउ गरे, ‘साइबर क्राइम’ गरेको भन्दै । पछि ‘साइबर क्राइम’ अन्तर्गतको मुद्दामा समेत नसमेटिने यो विषय सामसुम भयो ।

पात्रको नाम सबैलाई कण्ठै छ, अर्चना पनेरु । नेपाली समाजमा अर्चना यति दुर्लभ पात्र हुन्, जसले ‘पोर्न उद्योगमा करियर बनाउँछु’ भनेर सर्बत्र तहल्का पिटिन् । अझ उदेकलाग्दो कुरा के भने, अर्चनालाई यस्तो कृत्यमा उत्प्रेरित गर्ने उनकै आमा हुन् । संसारमै यस्ता आमा सायदै होलान्, जो छोरीको जवानीको सौदावाजी गर्छन् । ‘नग्न तस्विर’ र ‘पोर्न स्टार बन्ने’ उद्घोषले दूरदराजकी एउटी किशोरीलाई ह्वात्तै चर्चामा ल्यायो, जुन आफैंमा दुर्लभ थियो । गैर-अश्लील र गैर-आपराधिक कामबाट यत्ति ठूलो ‘नेम र फेम’ पाउनका लागि वर्षौं-वर्ष पसिना बगाउनुपर्छ ।

जतिबेला ‘म पोर्न स्टार बन्छु’ भन्दै अर्चनाले फोटो खिचाइरहेकी थिइन्, त्यसबेला उनी आफ्नो निवास कन्चनपुर, भाँसीमा थिइन् । त्यहीबाट उनले नग्न फोटो अपलोड गराइन् र सामाजिक सञ्जाललाई ठूलो झट्का दिइन् । त्यो तरंगले नेपाली समाजलाई नराम्ररी हल्लाइदियो ।

सामाजिक सद्भाव भाँडेको भन्दै पनेरु आमाछोरी विरुद्ध स्थानीय समाजले उजुरी गर्‍यो । प्रहरीले पक्राउ गरे । आमाछोरीमाथि केरकार गरियो । आमा सुनिताले प्रहरी सामु रुँदै ‘आइन्दा त्यस्तो नगर्ने’ बाचा गरिन् । तर, त्यहाँबाट उम्किएपछि उनले ‘छोराछोरीको भविष्यमाथि आमाको बढी जिम्मेवारी भएकाले छोरीको पोर्नस्टार बन्ने इच्छामा आफु तगारो नबन्ने’ तर्क गर्दै हिँडिन् । अनलाइनखबरसँगको कुराकानीमा पनि उनले दोहोर्‍याएकी थिइन्, ‘पोर्न स्टार भनेको छाडा कुरा होइन । कला हो । यसमा म छोरीलाई रोक्ने छैन । बरु सपोर्ट गर्छु ।’

सपोर्ट गर्ने मात्र होइन, किशोर उमेरकी छोरीलाई नाङ्गेझार बनाएर फोटो खिच्न आमाले नै उक्साइन् ।

छोरीलाई नङ्ग्याइरहेकी सुनिता पनेरुले कहिले पतिबाट असुरक्षित भएको भनिन्, कहिले समाजले बस्न नदिएको भन्दै आक्रोश पोखिन् । अन्ततः यस्तै फन्डा गरेर उनी छोरीलाई च्यापेर काठमाडौंमा डेरा जमाउन आइपुगिन् ।

चर्चा र विवादको उत्कर्षमा रहेकी अर्चना पनेरुलाई क्यास गर्न केही सर्ट मुभी बनाउनेहरू तम्सिए । उनीहरूले फिल्म बनाए । पोखरामा छायांकन गरिरहकै अवस्थामा सुटिङ युनिट समेत प्रहरीको फन्दामा पर्‍यो ।

यौनलाई ‘छाडा’ र ‘अपराध’ ठान्ने नेपाली समाजमा भित्रभित्रै यौन-कुण्ठा उम्लिरहेको छ । यही कारण युवतीको उदाङ्गो देहमा रमाउने जमात बढ्दै छ ।

तर, प्रहरीले पक्राउ गर्ने  फेरि उही धन्दा जारी राख्ने ‘टम एन्ड जेरी’ शैलीको खेल खेलिरहे यी आमाछोरीले । पछिल्लो समय उनीहरूले काठमाडौंमै डान्स बार सञ्चालन गरे । त्यसबीचमा उनीहरूले युट्युब, फेसबुकमार्फत अनेक हर्कत गर्न पनि भ्याइरहे । अचेल उनीहरूले ‘सुनिता-अर्चना च्यानल’ नामक युट्युब एकाउन्ट बनाएका छन् । विवाद र चर्चाकै गोलचक्करमा परिरहन रुचाउने पनेरु आमाछोरीको चर्तिकला जारी छ ।

सरस्वती लामाः छाडा बोली

स्वघोषित ‘रकस्टार’ हुन् उनी । उनले कुन गीत गाएकी छिन् भन्नुभन्दा उनले के-के काण्ड गरेकी छिन् भनेर सोधेमा त्यसको जवाफ मिल्नसक्छ किनभने सरस्वती लामा गीत गाएर भन्दा पनि लेख्नै नहुने शब्दावली ओकलेर ‘भाइरल’ भएकी हुन् ।

युट्युबमा उनको गीत होइन, हट अन्तर्वार्ता बढी फेला पर्छ । अन्तर्वार्ताकारले उनीसँग गीतसंगीतको कुरा गरेका छैनन्, ज्यान र जवानीको कुरा गरेका छन् । सम्भवत यस्तै उत्तेजक कुरा गर्नमा उनी माहिर छिन् ।

केही समयअघि सरस्वती लामाकै कारण एक महोत्सव भाँडिएछ । बाँकेको कोहलपुरमा औद्योगिक व्यापार तथा पर्यटन महत्सोवको ‘शोभा’ बढाइदिन पुगेकी उनले हंगामा मच्याइदिइछन् । स्टेजमा उक्लिएको केहि समय बित्न नपाउँदै उनी स्टेजबाट ओलर्नुपरेछ ।

सरस्वतीको प्रस्तुति हेर्न आतुर युवा जमात अनियन्त्रित भएपछि प्रहरी परिचालन भयो । कार्यक्रम बिथोलियो । ‘औद्योगिक महोत्सव’ पनि एउटै गायिकाको तमासाले फ्लप भयो ।

कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराइले अनलाइनखबरसँग भनेका थिए, ‘सरस्वती लामाजस्ता गायिकालाई नल्याउने आग्रह गर्दा आयोजकले मानेनन्, अहिले यस्तो भयो ।’

अचेल महोत्सवको रौनक बढाउन सरस्वती लामाहरू निम्त्याइँदा रहेछन् । तर, कतिपय उत्सव/महोत्सवमा उनीहरूको उपस्थिति नै अराजक हुने भएपछि उनीहरूलाई निषेध गरिएको रहेछ ।

यद्यपि देशी-विदेशी स्टेजले सरस्वती लामालाई डिमान्ड गर्न छाडेको छैन । उनी चर्को आवाज ओकलेर भन्दा पनि भएभरको लुगा खोलेर स्टेज तताउने गर्छिन् । युट्युबमा छ्यापछ्याप्ती भिडियो देख्न पाइन्छ, सरस्वतीको उत्तेजक प्रस्तुतिको । उनी स्टेजमा उफ्रिइरहँदा युवा दर्शकको उत्तेजना थाम्न मुस्किल पर्छ । सरस्वती स्टेजमा उक्लिएपछि भीड नियन्त्रणका लागि प्रहरी नै खटिनुपर्ने अवस्था छ ।

‘भाइरल’ बन्ने गोलचक्कर

एक अन्तर्वार्तामा अभिनेत्री निशा अधिकारीले भनेकी छिन्, ‘म कन्ट्रोभर्सी क्विन नै हुँ, सेलिब्रेटी भइसकेपछि विवाद तथा तारिफ आइ नै रहन्छ । पचाउन सक्नु महानता हो ।’

सेलिब्रेटीको हकमा एउटा भनाइ निकै चल्तीमा छ- ‘नाम होस्, बदनाम होस् । तर, गुमनाम नहोस् ।’ जसरी हुन्छ, सबैको अगाडि चिनिनु पर्‍यो । यसरी रातारात चिनिने -सेलिब्रेटी बन्ने) चक्करमा अहिले धेरैले सर्ट-कट बाटो रोजेका छन् ।

चर्चा पाउने अहिले अनेक माध्यम छन् । सडकमा ओर्लिएर कुनै तमासा गर्नसाथ त्यो रातारात भाइरल बन्छ । भाइरल हुने त्यही घनचक्करमा परेर कोहि छाडा कुरा ओकल्छन्, कोही पहिरन उतार्छन् । यसरी एक तहमा आफ्नो चिनारी दिइसकेपछि उनीहरू आफैंमा ‘बिकाउ कन्टेन्ट’ बन्छन् । अब फिल्म बनाउने या स्टेज शो गर्नेहरूले मौकामा चौका नहान्ने कुरै भएन । सरस्वती लामालाई स्टेजमा उफारेर हुन्छ कि, अर्चना पनेरुको भिडियो बनाएर, आफ्नो धन्दा चलाउनु जो छ । यस्ता विचौलियाहरूले अर्चना पनेरुहरू उत्पादनका लागि उर्बर वातावरण मिलाइरहेका छन् ।

आफ्नै नग्न अंगको ब्यापार गर्नु, उदाङ्गो रूप देखाएर स्टेजमा उपि|mनु, मुखमा आएजति छाडा कुरा ओकल्नु निश्चय नै, सम्बन्धित पात्रले गर्ने ‘उत्तेजक एवं भड्किलो’ कर्म होला । तर, हामी पनि त्यसका साझेदार हौं भन्नेमा अनुहार लुकाइरहनु पर्दैन ।

सरस्वती लामा स्टेजमा उफ्रिरहँदा उनको उत्तेजक नाच हेर्ने तम्सने र हेर्न नपाउँदा कुण्ठा पाल्नेहरू कम छैनन् । यौनलाई ‘छाडा’, ‘लाजमर्दो’ र ‘अपराध’ ठान्ने नेपाली समाजमा भित्रभित्रै यौन-कुण्ठा उम्लिरहेको छ । त्यसैले पनि युवतीको उदाङ्गो देहमा रमाउने जमात बढ्दै छ ।

कवि विनोद विक्रम केसीले ‘ज्योति मगरको तिघ्रा’ शीर्षकमा लेखेजस्तै,

‘कसुरै के छ र तिम्रो ?

रसरंगका जल्लादहरूले

फर्‍याकफुरुक गर्दै फूल-पात टेकी नाचिहिँड्ने

गाउँकी एउटी पुतलीलाई

बनाइदिए कठपुतली ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment